‘...तर यो समाजले उनीहरूलाई ‘पागल’को पगरी भिराइदियो’

BreaknLinks
BreaknLinks

चारैतिर अग्लो पर्खालले घेरिएको ठाउँ। पर्खालभित्र एउटा तीनतले भवन छ। प्रदेश सरकारको सहयोगमा अर्को दुईतले भवन बन्दैछ। एकान्तको शान्त परिवेश। घरपुग्न अबेर भएको बटुवाले हतारका पाइला चालेझैँ देखिन्थ्यो आकासको सूर्य पनि। तराईको हपहपि गर्मीका कारण कोही रुखको छाया ओढिरहेका थिए भने कोही कम्पाउन्ड वरिपरि फन्को मारिरहेका देखिन्थे।

छेवैमा निर्माणाधीन नयाँ भवनका लागि थुपारिएका झ्यालका फ्रेममाथि बसिरहेकी थिइन्, एक अधबैँसे महिला। मैले फोटो खिच्न क्यामेरा तेर्स्याउँदै गर्दा उनले दुई हात जोडेर मुस्कुराउँदै नमस्ते गरिन्। म नमस्ते फर्काएर उनी सामु पुगेँ। उनले हाल खबर मात्र सोधिनन्, एकोहोरो भनिरहिन्, ‘दाइ मेरो घर महेन्द्र नगर हो। तमी महेन्द्रनगर जान्छौँ त? मेरो घरका मान्सलाई सोध्या छ भनिदिया है!’ आदि। उनका कुरा सुनिरहेको थिएँ, चन्द्रा नानीले भित्र बोलाएर कार्यालयभित्रै बस्न आग्रह गरिन्।

क्षणभरमै देखापरिन् दृष्टिकी सञ्चालिका कल्पना भट्ट। उनले त्यहाँको वस्तुस्थितिका बारेमा बताइरहँदा लाग्थ्यो, जिन्दगी के रहेछ। यहाँ कतिखेर के हुन्छ कसैलाई थाहा छैन। मान्छेको जिन्दगी आफैँमा रहस्यका पत्रहरुले भरिएको छ। कसैले भगवानको लिला भनेर चित्त बुझाउँछ त कोही भाग्यलाई दोष दिएर आफैंलाई सरापिरहेको हुन्छ। तर दृष्टि फाउण्डेसनमा बसिरहेका एक हुल महिलाहरु न भगवानलाई नै दोष दिन्छन्, न त भाग्यलाई। मानसिक सन्तुलन नै बिग्रिदिएपछि मान्छेलाई थाहा हुँदैन, म के बोल्दै छु भन्ने कुरा। दु:ख के हो? जीवन के हो? म कहाँ छु? कहाँबाट आएँ? के नै थाहा हुँदो हो र त्यो अवस्थामा पुगेपछि।

दृष्टि फाउण्डेसन पुग्दासम्म मैले बाटोमा भेटिएका थुप्रै मान्छेलाई सोधेँ त्यो संस्थाका बारेमा, सुरुमा सबैले थाहा छैन भने। अनि मानसिक सन्तुलन गुमाएका महिलाहरु बस्ने घर छ रे नि त यतातिर, कहाँ हो? भन्दा सजिलै भनिदिए, ‘ए, त्यो पागलखाना! त्यो त अलि पर छ।’ उक्त संस्थामा पुगेपछि मैले त्यहाँ कुनै ‘पागल’लाई देखिनँ। त्यहाँ केही छोरीचेलीहरु थिए।

केही साना नानीबाबुहरु थिए। भाउजु, आमाहरु थिए। सबै शान्त मुद्रामा थिए। सबैलाई नयाँ मान्छे आउँदा नमस्कार गर्न सिकाइएको थियो। मलाई देख्दा सबैले दुई हात जोडेर नमस्कार गरे। नानीबाबुहरु मामा भन्दै झुम्मिए। बडो माया लाग्दो परिवेश थियो। भावुक बनाइरहने तिनीहरुको निर्दोष हेराइ थियो। त्यहाँ स्नेह थियो। ममता थियो। रगतको नाताभन्दा पनि पवित्र नाताको आभास दिलाइरहने सुन्दर परिवेश थियो।

कक्षा ५ मा पढ्ने रमा चौधरीलाई एकोहोरो हेरिरहेँ। जसको मुहारमा म मेरो छोरीको झल्को पाइरहेको थिएँ। रमाकी आमा खीमालाई बोक्सीको आरोप लगाई ७ वर्षसम्म बाख्राको गोठमा बाँधेर राखेको समाचार पढेपछि उद्धार गरिएकाे कथा सुनाइरहेकी थिइन्, कल्पनाले। अहिले आमाछोरी दुबै त्यतै बसिरहेका छन्। रमा त्यतैबाट जान्छिन् जनता राष्टिय माविमा पढ्नलाई। अहिले उक्त संस्थामा १० जना विद्यालय पढ्ने बालबालिका छन्। २ जना छात्रा कलेज पढिरहेका छन् भने एक जनाले एसईई दिएर बसेकी छन्।

हिजोआज कतिपय मनकारी मान्छे आफ्नो जन्मदिनको अवसरमा उक्त संस्थालाई केही सहयोग गर्न आउँछन्। कसैले बेलाबखत केही न केही सहयोग गरिरहेकै हुन्छन्। कल्पना भन्छिन्, ‘यहाँ बस्नेहरुमध्ये ४० जनालाई नियमितरुपमा औषधि खुवाउनुपर्छ। दाताहरुले औषधि उपलब्ध गराइ राख्नुभएको छ। यतिखेर स्टोरमा एक महिनालाई पुग्ने औषधि त छ। त्यसपछिको लागि के गर्ने भन्ने चिन्ता लाग्न थालिसक्यो।’

हामीबीच कुराकानीकै क्रममा आइपुगिन्, डोटी घर भएकी ६० वसन्त पारगरिसकेक मीना विष्ट। विष्टको भने मानसिक सन्तुलन बिग्रेको छैन। उनका २ छोरा भारतमा छन्। उनी सडक छेउमा मागेर गुजारा चलाइरहेकी थिइन्। केही समयअघि उनलाई पनि कल्पनाले आफ्नैमा ल्याएकी हुन्। कल्पना बेलाबखत मीनालाई भनिरहन्छिन्, ‘चिन्ता नगर्नु आमा, तपाईंको काजकिरिया म नै गरुँला। राम्रै किसिमले सतगति गरिदिनेछु। म छँदै छु त।’ यति सुनेपछि एकछिन ढुक्क हुन्छिन् उनी। लगत्तै निकै भावुक पनि बनिदिन्छिन्।

एकछिनको बसाइपछि फर्किने बेलामा आफ्नो नाम घरि कस्तु विष्ट त घरि राधिका विष्ट बताइरहने एकजना बहिनीले मतिर हेरेर भन्न थालिन्, ‘मेरो घर काठमाडौं हो। मलाई काठामाडौं पुर्याइदिनुहुन्छ?’ ‘झोला तयार गरिराख्नू। तपाईंलाई काठमाडौं पुर्याइदिन्छु। तर, आज हैन, भोलि आउँछु लिनलाई है’ भनेर मैले भनिरहँदा तिनको मुहारमा छुट्टै मुस्कान देखियो। विचरा तिनले आफ्नो घर कहाँ हो भन्ने कुरा नै बिर्सिसकेकी छन्। मात्र नाबालकको जस्तो बेलाबखत झुल्किदिन्छ मुहारमा मुस्कान। पुतलीझैँ फुरुङ्ग बनिदिन्छ मन अन्जानमै।

दृष्टि फाउण्डेसनभित्र बसोबास गरिरहेका सबै महिलाहरुको निर्दोष र पवित्र हेराइ छ। जसले जे बोले पनि त्यो बोलीमा यो देशमा सम्राटहरुको जस्तो कुटिलता छैन। तिनले भ्रष्टाचारको खोल ओढेका छैनन्। कुनै पार्टीको झोला बोकेका छैनन्। न चाकडी छ, न कसैको इर्ष्या छ। न त केही लोभ लालच नै। न त भविष्यको चिन्ता छ, न त छ वर्तमानकै कुनै पर्वाह। जीवनको बारेमा सोच्ने र योजना बनाउने मस्तिष्क नै खलबलिएपछि छरपस्ट भइदिन्छन् मनभरिका सपनाहरु। बच्दैनन् कुनै कल्पनाका धर्साहरु। घरि खित्का छोडेर हाँस्यो, घरि डाको छोडेर रोयो। घरि एक्लैएक्लै के-के बोलिरह्यो। यस्तैमा बितिरहेका छन् तिनका दिनहरु।

त्यहाँ सुस्त मनस्थितिका र पूर्ण रुपले दिमागको सन्तुलन गुमाएकाहरु सम्भवतः कोही पनि छैनन्। सहारा नहुँदा घर छोडेर हिँडेकाहरु छन्। जसको जीवनप्रतिको निराशालगयत विभिन्न कारणले एकाएक मनस्थिति बिग्रिन गयो। केही सडक छेउमा माग्दै गुजरा गर्ने क्रममा बत्लात्कारको शिकार भएर मनस्तिस्थिति बिग्रिन गयो।

हप्तादिन बितेको छैन, एउटा महिलालाई सडकबाट उद्धार गरेको। कल्पना उनको मान्छेको खोजीमा छिन्। उनले बारम्बार भनिरहेकी हुन्छिन्, ‘पाँच/छ जना आएर मलाई सुत्न नै दिएनन्।’ कल्पना भन्छिन्, ‘डाक्टरकोमा लगेर यिनको स्वास्थ्य परीक्षण गर्दा सामूहिक बलात्कारमा परेको कुरा खुल्न आएको छ। सायद त्यही भएर होला यिनले बेलाबखत यस्तो भनिराखेकी छन्।’

यी सबै कुरालाई मनन गर्दा समाजले नै उनीहरुलाई यो हालतमा ल्याइपुर्यायो। मान्छे नै तिनको मानसिकताको हत्यारा बन्यो। आज त्यही समाज तिनलाई पागल भनेर हेयका दृष्टिले हेरिदिन्छ। बेलाबखत तिनलाई त्यस ठाउँबाट हटाउन प्रयत्न गरिरहन्छ। दरिद्र मान्छेले सोच्दैन, ‘भोलि म नै त्यो अवस्थामा आउँदिन भन्ने के ग्यारेन्टी छ र’ भन्ने कुरा।

धैर्यताविहीन मान्छेरुपि प्राणी रहस्यका लहराले बेरिएको छ। दम्भ र अहंकारका जरा गडिरहेको छ। पाप र अपराधको कुटुरो बोकेर हिँडिरहेको छ। केवल द्रव्य पिपाशु बनिरहेको छ। मनमा बोक्न जान्दैन दया, माया, करुणा र सहयोगको भावना। यही मान्छेको जातभित्र देखापर्छन् कल्पना जस्ता केही पात्रहरु। जो आफ्नो लागि नभएर नितान्त अरुका लागि बाँच्न चाहन्छन्। मनमा दया, माया, स्नेह र उपकारको कलश बोकिरहन्छन्।

यहाँ विद्यालय, विश्वविद्यालयबाट आर्जन गरेका प्रमाणपत्रहरु र कुनै पोष्टको दम्भमा बाँचिरहेकाहरु फेल भैदिन्छन् कैयौं कल्पनाहरुका नजरमा। यसै सन्दर्भमा नाम उल्लेख नगर्ने सर्तमा उनी सुनाउँछिन्, ‘नेपाल सरकारको ठुलै पदमा बसेको मान्छेको छोरी, बुहारी पनि छन् हामी कहाँ।’ मैले ती उच्च ओहोदाका भनिएका मान्छेलाई भेटेर सबै कुरो गर्दा उनले सीधै भनिदिए, ‘बरु त्यसलाई कतै चौबाटोमा लगेर गोली ठोकी मारिदेऊ। मेरो नाम लिएर फलानाको मान्छे भनेर प्रचार गर्यौ भने तिमीलाई राम्रो हुनेवाला छैन।’

यसरी लगेर पालिदिएकी छौ नानी, धन्यवाद भन्नु त कता हो कता उल्टै संवेदनाविहीन बनेर धम्कीपूर्ण भाषा प्रयोग गरेको देख्दा ती रुग्ण सम्राट उच्च ओहोदाका हुन सकेनन् कल्पनाको नजरमा। अनि उनले मनमनै सोचिछिन्, ‘पढेलेखेको हुँदैमा मान्छे भन्न कहाँ मिल्दोरहेछ र सबैलाई। जोभित्र अलिकति पनि संवेदना छैन, ती मनुवाभन्दा त कयौं गुणा माथिका छन् हाम्रो आश्रमभित्र बसिरहेका नारीहरु।’

आफन्तको सहारा टुटेर दृष्टि फाउण्डेसन पुगेका ती कतिपय महिलाहरु रातमा आकाशका जुनतारासँग बात मार्छन्। प्रफुल्ल मुद्रामा हाँस्छन्। गहिरो भाव प्रकट गरेर रोइदिन्छन्। तिनको हाँसो र रोदनमा भगवानको मुस्कान र रोदन दुबै मिसिएको हुनुपर्छ। प्राय मदहोसी जस्ता देखिने ती महिलाहरु वास्तवमा मानव जीवनको ठूलो पाठशाला हुन्। जहाँ पढिरहेका छन् कल्पना, चन्द्राजस्ता केही स्वयमसेवक बहिनीहरु। ती बहिनीहरु बुझ्नेहरुका लागि समाजको उच्च ओहोदामा पुगेका नारी हुन्।

कतै मनको त कतै दिलको तार टुटेर मानसिकता गुमाएकाहरु हुन् वा सहाराविहीन अनाथहरु हुन् वा हुन् सामूहिक बलात्कारमा परेर गर्भवती बनेका निर्दोष आमाहरु ती सबैको अभिभावक बनेको छ, दृष्टि फाउण्डेसन। तर, यो समाजले त्यहाँ बस्ने जतिलाई ‘पागल’को पगरी भिराइदिएको छ। यो समाजका कतिपय विवेकहिन मान्छेहरु तिनलाई ‘पागल’ भनेर जिस्क्याउन खोज्छन्। गिद्धे नजरले हेरिदिन्छन्। एकान्तमा कतै मौका मिलिहाल्यो भने बलात्कार गर्न समेत पछि पर्दैनन्। 

प्रकाशित मिति: : 2024-11-28 10:35:00

प्रतिकृया दिनुहोस्