चीनको धम्की: अमेरिकासँग व्यापार सम्झौता गर्ने देशले गम्भीर ‘परिणाम’ भोग्नुपर्नेछ

Break n Links
Break n Links

चीनले अमेरिकासँग ब्यापारिक सम्झौता गर्ने देशहरूलाई कडा चेतावनी दिएको छ। चीनको ब्यापारलाई ‘सिमित’ गर्ने स्वार्थअनुसार अमेरिकासँग कुनै पनि देशले ब्यापारिक सम्झौताले गरे उसले नराम्रो ‘नियति’ भोग्नुपर्ने चेतावनी चीनले दिएको हो।

हालैमात्र अमेरिकाले चीनको ब्यापार सिमित गर्नका लागि अन्य कैयौ देशसँग ब्यापारिक सम्झौता गर्न चाहेको रिपोर्टहरू सार्वजनिक भएका थिए। सिधै अमेरिकासँग ब्यापारिक सम्झौता गरेमा त्यसवाफत अमेरिकाले ‘भन्सार’ करमा छुट दिनसक्ने ह्वाइट हाउसका गोप्य दस्तावेजहरूका आधारमा चीनले यस्तो धम्की दिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको सुरुवातदेखि नै उनले भन्सार नियममा कडा नीति लिइरहेका छन्। 

अमेरिका निर्यात हुने चिनियाँ सामानहरूमाथि उनले एकपछि अर्को गर्दै २४५ प्रतिशतसम्म भन्सार कर पुर्‍याइदिएका छन्।

चीनले पनि अमेरिकी सामग्रीहरूमा १२५ प्रतिशतसम्म कर लगाउने घोषणा गरेको छ। खासगरी चीनसँगको यो कर युद्धका कारण अहिले विश्व आपूर्ति चक्र नै खलबलिएको छ। अरु देशका लागि अमेरिकाले केही समयका लागि कर स्थगित गरे पनि चीनमाथि भने कर बढाउँदै त्यसलाई कायमै राखेका छन्।

‘यदि चीनलाई बर्वाद गर्ने वा चीनको ब्यापारलाई सिमित गर्ने स्वार्थका साथ अमेरिकासँग ब्यापार सम्झौता गर्छ भने उसले नराम्रो नियति भोग्नुपर्नेछ। चीन त्यसको कडा सामना गर्न तयार छ’ चिनियाँ वाणिज्य मन्त्रालयले भनेको छ ‘केबल तुष्टिकरणले मात्रै विश्वमा शान्ति स्थापना हुँदैन। बरु अमेरिकाले सुरु गरेको कर युद्ध र उसको एकपक्षीय ब्यापार नीतिविरुद्ध सबैसँग मिलेर काम गर्न चीनले सधैं ढोका खुला राखेको छ।’

चिनियाँ वस्तुका लागि अमेरिका विश्वको सबैभन्दा ठूलो बजार हो। तर चीन-अमेरिका ब्यापारमा चीन नै अगाडि छ। अमेरिकी बजारमा लगभग १ हजारभन्दा बढी प्रकारका सामानहरू पुग्छन्। तर चिनियाँ बजारमा अमेरिकी सामग्री भने निकै न्यून छ। यसमा ब्यापार घाटा अमेरिकालाई नै छ। गत वर्षमात्रै यी दुई शक्ति राष्ट्रबीच लगभग ५८५ अर्ब डलर बराबरको ब्यापार भएको थियो। त्यसमा चीनले लगभग ४४० अर्बको चिनियाँ बस्तु र सामग्रीहरू अमेरिका पठाउँदा अमेरिकाबाट चीनले भने लगभग १४५ अर्बजतिमात्रै आयात गर्‍यो। यसबाट अमेरिकालाई लगभग २९५ अर्ब डलर ब्यापार घाटा छ।
 

प्रकाशित मिति: : 2025-04-21 10:11:00

प्रतिकृया दिनुहोस्