सुमनाले स्टन्ट गरिन्ः सभामुखको सचिवालय

रास्वपा सांसद सुमना श्रेष्ठले संसदमा बोल्न नपाएपछि मिडियामा आएर दुःखेसो पोखेप्रति सभामुख देवराज घिमिरेको सचिवालयले आपत्ति जनाएको छ।

सोमबार प्रतिनिधिसभामा आकस्मिक समय माग गर्दा सभामुखले सुमनालाई समय दिएका थिएनन्। समय नदिएपछि उनले बैठक बहिष्कार गरेर मिडियामा सभामुखले बोल्न नदिएको आरोप लगाएकी थिइन्।

सुमनालाई बोल्न नदिएको विषयमा बुझ्न सभामुखको सचिवालयलाई सम्पर्क गर्दा सचिवालयले ‘कार्य व्यवस्थाको बैठकमा सुमनाको आकस्मिक समयको बारेमा कुरा नउठेको, जानकारी पनि नगराएको र नाम पनि नटिपाएको तर सदन चलेपछि एक्कासी नाटक मञ्चन गरेर भाइरल हुन खोजेको र संसद बहिष्कार गरेर अमर्यादित हर्कत गरेको’ आरोप लगाएको छ।

सचिवालयले संसद रत्नपार्क जस्तो जतिबेला मन लाग्यो त्यतिबेला तमासा देखाउने ठाउँ नभएको टिप्पणी गरेको छ। कार्यव्यवस्था समितिको निर्देशनअनुसार चल्ने संसदमा सुमनाले अमर्यादित हर्कत गरेको सभामुखको सचिवालयले जनाएको छ।

‘यो संसद हो रत्नपार्क होइन टेम्पोबाट ओर्लिएर नाराजुलुस गरिहाल्ने, जे मन लाग्यो त्यो बोलिहाल्ने। यहाँ कार्यव्यवस्था समिति हुन्छ। समितिको निर्देशनअनुसार चल्नुपर्छ। माननीय सुमनाजी यी सबै कुरा कुल्चिएर अमर्यादित हर्कतमा लाग्नुभयो। यसले संसदीय अभ्यासलाई झन फितलो हुन्छ। क्षणिक भाइरल त भइएला। सभामुखलाई आक्षेप पनि लगाइएला तर संसदको गरिमालाई कमजोर बनाउँछ,’ सचिवालयले भन्यो।

सभामुखको सचिवालयले भने झै यहाँ बुझ्नुपर्ने कुरा के छ भने संसदमा जेजति कुराहरू फिल्मी शैलीमा देखिन्छन् ती सबै कार्यव्यवस्था समितिको बैठक बस्छ र संसदमा उठान हुने विषय र माननीयहरूको नाम पनि टुंगो लगाइन्छ।

संसद बैठक बस्नुअघि सबै दलका सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेर आकस्मिक समयमा बोल्ने सांसद र विषय टुंगो लगाइन्छ। आकस्मिक समयपछि शून्य समयका लागि समय दिइन्छ र त्यसपछि सदनको बाँकी कामकारबाही सुरु हुन्छ।

यतिसम्म कि संसद अवरुद्ध नै गर्ने भएपनि कार्यव्यवस्था समितिको बैठकमा जानकारी गराउने प्रचलन छ।

सभामुखको सचिवालयले यो प्रचलन एउटा सुमना माननीय वा एउटा दलले चाहेर संसदको मर्यादा र परम्परा तोडन् नसक्ने बतायो।

सचिवालय भन्छ, ‘सभामुखले आकस्मिक समयमा बोल्न नदिने भन्ने कुरै होइन। संसद चल्दाचल्दै महत्वपूर्ण घटनाक्रमहरू भए बोल्न नपाउँने भन्ने नै छैन। उहाँले किन स्टन्ट गर्नुभयो उहाँले जान्ने कुरा भयो। कुरा यत्ति हो- सभामुखलाई कसरी बदनाम गर्न सकिन्छ भन्ने प्रचञ्च मात्र हो भन्ने हामीले बुझेका छौं।’

सोमबार भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली छात्राको मृत्यु प्रकरण सार्वजनिक भएपछि नेपालमा चासो व्यक्त भइरहेका छन्।

सोही विषयलाई आफूले संसदमा उठाउँन खोज्दा सभामुखले समय नदिएको सुमनाले आरोप लगाएकी थिइन्।

नेपाली छात्राको आत्महत्या शंकास्पद रहेको भन्दै नेपाली विद्यार्थीहरूले छानबिनको माग गरेपछि करिब २०० नेपाली विद्यार्थीहरूलाई कुटपिट गर्दै होस्टलबाट निकालिएको समाचारहरू सार्वजनिक भएका थिए।

केआईआईटी विश्वविद्यालयमा बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या शंकास्पद रहेको त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले बताएका छन्।

नेपाली छात्राको आत्महत्यापछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले घटनाको सत्यतथ्य छानबिन माग गरेपछि उनीहरूमाथि कुटपिट भएको छ। नेपाली विद्यार्थीहरूलाई होस्टल छाड्न निर्देशन दिएको छ। करिब २०० नेपाली विद्यार्थीहरू अलपत्र परेका छन्।

मृतक नेपाली विद्यार्थी प्रकृतिलाई सोही विश्वविद्यालयमा अध्ययनरत एक छात्राले बारम्बार मानसिक तनाव दिइरहेको खुलेको छ।

पूर्वप्रेमी अद्विक श्रीवास्तवले बारम्बार मानसिक तनाव दिएपछि उनले विश्वविद्यालय प्रशासनमा एक महिना अघि नै उजुरी दिएको उनका साथीहरूले बताएका छन्। प्रशासनले ती छात्रलाई कारबाहीको सट्टा नेपाली विद्यार्थीहरूमाथि विभिन्न आरोप लगाउँदै कलेज छाड्न दवाब दिएको खुलेको छ।

प्रकाशित मिति: : 2025-02-17 18:37:00

प्रतिकृया दिनुहोस्