क्षति भएका सडक र पुल निर्माणमा २५ अर्ब रुपैयाँ लाग्ने अनुमान

Break n Links
Break n Links

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–मुग्लिङ सडक र वीपी राजमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताएका छन्।

बिहीबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले काठमाडौँलाई जोड्ने दुईवटा सडक महत्वपूर्ण भएको भन्दै यसलाई प्राथमिकता दिएर नै अगाडि बढेको बताए।

उनले भने, ‘नागढुङ्गा–मुग्लिङ सडक जुन छ त्यो पूर्वपश्चिम जोड्ने प्रमुख सडक भएको हुनाले त्यसलाई अलि बढी प्राथमिकता दिएका छौँ। वीपी राजमार्ग यति धेरै क्षति हुने कुरा कल्पना पनि गरेका थिएनौँ। काठमाडौँलाई जोड्ने दुईवटा सडकहरु जुन छन् यीनिहरुलाई प्राथमिकता दिएर नै अगाडि बढेका छौँ।’

यस्तै, उनले विपद्को बेला सबै मिलेर साझा तरिकाले समाधान गर्नुपर्ने भन्दै यसको लागि सडक विभाग र मन्त्रालय लागि रहेको बताए।

उनले भने, ‘देशभरका बाटोहरुलाई सहज बनाउन र यात्रुहरुलाई सुविधा दिनका लागि हाम्रो मूल उद्देश्य हो। यसको लागि साझा तरिकाले यसको समाधान गर्नुपर्ने र सामना गर्नुपर्ने छ। सडक विभाग अथवा मन्त्रालय यसमा क्रियाशील छ।’

साथै, यातायातमा नियमित भाडाभन्दा बढी लिएको खण्डमा अनुगमन संयन्त्र पनि बनाएको भन्दै यसमा नेपाल प्रहरी, यातायात व्यवस्था विभागले समन्वय गरेर काम गरिरहेको पनि उनको भनाई छ।

उनले भने, ‘जनतालाई मार पर्नेगरी शुल्क बढेको कुरा पनि आएको छ। यातायातको कुरामा अलिकति बढी भयो भने त्यसलाई छोड्न सकिन्छ तर धेरै नै भयो भने अनुगमन गर्नुपर्छ। तर नियमित भाडाभन्दा धेरै भयो भने त्यसको अनुगमनको लागि अनुगमन संयन्त्र पनि बनाएका छौँ। यसमा नेपाल प्रहरी, यातायात व्यवस्था विभागले समन्वय गरेर काम गरिरहेको अवस्था छ।’

यस्तै, मन्त्रालयका सचिव केशव कुमार शर्माले क्षतिको विवरण तथा हालको अवस्थाबारे जानकारी दिँदै गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गहरुका ८०५ स्थानमा पहिरो गइ सडक अवरुद्ध भएकोमा ७७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र, उपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरेको जानकारी दिएका छन्।

अझैसम्म पाँचवटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्न अनवरत प्रयास जारी रहेको र यसका लागि कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै हयुम् पाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेको पनि उनको भनाइ छ।

उनले हालसम्मको प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे दुईदेखि तीन अर्ब रुपैयाँ लाग्ने देखिएको र क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए।

यातायात सुचारु गर्न अझै बाँकी रहेका मुख्य राजमार्ग खण्डहरुमा अरनिको राजमार्गको लार्चा कोदारी पाँच किमि, बिपी राजमार्ग चौकीडाँडा कालढुंगा १८ किमि, पुष्पलाल (मध्यपहाडी) राजमार्ग दोलालघाट राकथुम ८० किमि, कान्ति राजपथ घपेली–बगुवा १३ किमि र मेघी राजमार्ग रमिते फिदिम ८ किमि रहेको छ।

यस्तै, उनले सबै राजमार्ग खण्डमा असोज १२ गतेदेखि सडक विभागमार्फत प्राविधिक, जनशक्ति र उपकरण परिचालन गरी जतिसक्दो छिटो सडक खुलाउने प्रयास भईरहेको जानकारी दिए।

यसको साथै, क्षति भएका पुल मध्ये लिपिड्, लार्चा बेलिब्रिज, सुनकोशी खैरेनीटार, सुनकोशी खुर्कोट, सुनकोशी फोक्सिङ्टार, हेंवा खोला पुल, बागमती पुल, रातेखोला पुल रहेको छ। 

प्रकाशित मिति: : 2024-10-03 17:17:00

प्रतिकृया दिनुहोस्