‘पृथ्वी र बिपी राजमार्ग दसैंअघि खोल्न सकिन्न’

तस्विर सभार- गाेरखापत्र
तस्विर सभार- गाेरखापत्र

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले केही राजमार्गहरू दसैंअघि सञ्चालनमा ल्याउनै नसकिनेगरी क्षतिग्रस्त भएको बताएको छ। 

गृहमन्त्रालयका अनुसार गत असोज ११ र १२ गते भएको अविरल वर्षका कारण देशका सबैजसो मुख्य र सहायक राजमार्गहरू अवरुद्ध भएका छन्। अहिलेसम्म ती राजमार्गका विभिन्न खण्डहरू कतै एकतर्फी र कतै दुईतर्फीरुपमै सवारी रोकिनेगरी क्षतिग्रस्त भएका छन्। मन्त्रालयका अनुसार बिहीबारसम्म ११ राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध छन्। सात सहायक मार्गहरू एकतर्फी सञ्चालनमा आएका छन्। 

दसैंअघि नै सबै राजमार्गमा यातायात सञ्चालन गर्नेगरी मर्मत गरिसक्ने सरकारले प्रतिवद्धता गरे पनि बिपी राजमार्ग र पृथ्वी राजमार्गलाई दसैंअघि पूर्ण सञ्चालनमा ल्याउन नसकिने भौतिक मन्त्रालयले जनाएको छ। 

मन्त्रालय र नेपाली सैनिकको टोलीले हालैमात्र राजमार्गहरूको हवाई निरीक्षण गरेको थियो। भौतिक मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री देवेन्द्र दाहालले यी दुई राजमार्गमा कल्पनै नगरिएको क्षति भएको बताए। पोखरा आसपासका क्षेत्र पृथ्वी राजमार्गले पूर्वपश्चिम राजमार्ग हुँदै काठमाडौं र बिपी राजमार्गले सिन्धुली हुँदै पूर्वलाई राजधानीसँग जोड्छ। 

‘केही बैकल्पिक सडकहरूमा यातायात सञ्चालन भइरहेको छ। यस्तो अवस्थामा बढी भाडा असुलिएका गुनासाहरू पनि आएका छन्। यस्तो अवस्थामा पनि आँखा चिम्लिनुपरेको छ’ मन्त्री पौडेलले भने ‘विपत्तीसँग जुधेर भन्दा पनि सम्झौता गरेर अघि बढ्नुपर्ने रहेछ।’ 
 

प्रकाशित मिति: : 2024-10-03 15:42:00

प्रतिकृया दिनुहोस्