कहिले राेकिएला झरी?

Break n Links
Break n Links

वर्षाको मनसुनी प्रणाली बाहिरिने समय भइसकेको भए पनि वर्षे झरी भने जारी रहेको छ। नेपालमा मनसुनी प्रणाली सरदर जुन १३ देखि अक्टोबर २ तारिखसम्म करिब ३ महिना रहने गर्दछ।

आज (बिहीबार) अक्टोबर ३ तारिखका भइसकेको छ। अझै केही दिन मनसुनी प्रणाली सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

उनकाअनुसार यस वर्ष मनसुनी प्रणाली बाहिरिन हप्ता दिन ढिला गरेको छ। ‘सरदर अक्टोबर २ तारिखमा मनसुन बाहिरिने भनिए पनि यसको हप्ता दिन छिटो वा ढिलो हुने गर्छ’, उनले भनिन्, ‘नेपालमा यस वर्ष हप्ता दिन ढिलो अक्टोबर ७ तारिखबाट मनसुन बाहिरिने छ।’

मनसुन बाहिरिन ढिला भएपछि अझै केही दिन गण्डकीदेखि पूर्वका बागमती, मधेश र कोशी प्रदेशमा भने वर्षाको सम्भावना रहेको छ।

‘लगभग अब लुम्बिनीदेखि पश्चिम कर्णाली र सुदूरपश्चिममा छिटफुटबाहेक वर्षा छैन’, उनले भनिन्, ‘गण्डकीदेखि पूर्वका चार प्रदेशमा भने वर्षाको सम्भावना छ।’

मौसमविद् मानन्धरकाअनुसार यो वर्षा हप्तादिन अघिको जस्तो निरन्तर दिनभर भने हुने छैन। तर केही–केही ठाउँमा भने भारी वर्षा हुने सम्भावना रहेको छ। जसले यात्रा गर्दा बाढी तथा पहिरोबाट जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक रहेको उनले बताइन्।

मनसुन सकिएपछि के पानी पर्दैन?

मनसुनी प्रणाली बाहिरिएपछि तत्काल पानी पर्ने सम्भावना नदेखिएको मानन्धरले बताइन्। वर्षे मनसुनी प्रणाली बाहिरिएपछि नेपालमा पश्चिमी वायुको प्रभाव रहने गर्छ।

जसले वर्षा सकिएपछि झरी गराउने गर्छ। धेरै लामो मौसमी प्रणालीको पूर्वानुमान नभए पनि मनसुन सकिएसँगै पश्चिमीको वायुको प्रभाव कम रहने उनले बताइन्।

‘मनसुनी प्रणाली बाहिरिएपछि पानी नै नपर्ने भन्ने हुँदैन। त्यसपछि फेरि पश्चिमी वायुको प्रभाव हरन्छ’, उनले भनिन्, ‘तर यो वायुले तत्काल पानी पारिहाल्ने अवस्था देखिँदैन।’

मनसुन बाहिरिँदै गर्दा ठुलो क्षति

नेपालबाट मनसुन बाहिरिनु दुई हप्ताअघिको निरन्तरको झरीले निकै ठुलो जनधनको क्षति गरेको छ। तीन दिन (असोज ११ देखि १३ गते)सम्म भएको अविरल वर्षाले २३३ जना नागरिकको ज्यान लिएको छ। यो संख्या अझै बढ्ने अनुमान छ।

यही झरीमा आएको बाढी–पहिरोमा अझै २२ जना बेपत्ता भएको नेपाल प्रहरीले जानकारी गराएको छ। यस झरीमा १६९ जना घाइते भए भने विपद्मा परेका १७ हजार १२० जनाको उद्धार गरिएको छ।

सबैजसो राजमार्ग अहिले पनि अवरुद्ध रहेका छन्। काठमाडौँ उपत्यकासहित विशेष गरेर पूर्वी नेपालमा वर्षाले क्षति गर्दा सयौँ नागरिक घरबारविहीन भएका छन्। उनीहरू अहिले पनि राहत तथा उद्धारको पर्खाइमा छन्।

यो पनि...

विपत्तिको घडीमा लापत्ता ‘सिंहदरबार’

प्रकाशित मिति: : 2024-10-03 18:32:00

प्रतिकृया दिनुहोस्