न्यूरोड सडकमै बालेनलाई पछारेका ‘चिनीकाजी’

Break n Links
Break n Links

जब महानगरको ‘पिता’ बनेर बालेन साहले काठमाडौंको ‘न्यूरोड’मा आँखा चम्काउन थालेका थिए, विवादको सुरुवात त्यहिँबाट भयो। ‘रैथाने’हरूले भरिएको ‘न्यूरोड’ आफैमा काठमाडौंको संस्कार र सभ्यतासँग जोडिएको सहर पनि हो। सडक पनि हो। यसका आफ्नै रुपरंगहरू छन्। 

बालेनले न्यूरोडका पसल किनारामै खचाखच हुने पार्किङ हटाए। अलि वरै सवारी राखेर न्यूरोड छिर्नुपर्ने भयो। ब्यापार घट्न थाल्यो भन्दै बालेनविरुद्ध भित्रभित्रै आक्रोशित भएका न्यूरोडवासी अनि त्यहाँका ब्यापारीहरूले बालेनविरुद्ध जनमत तयार गर्दै थिए। 

जब महानगरले न्यूरोडका सडकपेटीहरूलाई फराकिलो बनाउन थाल्यो अनि त्यो विवाद आक्रोश बनेर न्यूरोडका सडकमै पोखियो। महानगरका प्रहरीहरू लखेटिए। त्यही विवादले महानगरको नगरसभा पनि बिथोलियो।

त्यसका नेतृत्वकर्ता भने त्यहीँका २२ नं.का वडाअध्यक्ष चिनीकाजी महर्जन हुन्। नेकपा एमालेबाट वडाअध्यक्ष भएका चिनीकाजीले बालेनलाई यसअघि पनि हरेक प्रस्ताव र निर्णयहरूमा ‘च्यालेन्ज’ गर्दै आएका थिए। 

हुँदाहुँदा उनले सडकमै त्रिपाल टाँगेर वडाका कामहरू त्यहीँबाट गर्न थाले। त्यो भनेको न्यूरोडका त्यही सडक अनि सडकपेटीहरूमा बालेनलाई खुल्ला निम्तो थियो।  

काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले आइतबार सडकमै वडा कार्यालय चलाए। वर्षायाममा त्रिपाल टाँगेर सडकबाट वडा कार्यालय चलाउने अवस्थामा चिनीकाजी पुग्नुमा महानगरका मेयर बालेन्द्र साह (बालेन) कारक थिए।

किनकी बालेनले चिनीकाजीको २२ नम्बर वडाको न्यूरोड (जुद्ध शालिकदेखि इन्द्रचोकसम्म करिब ४०० मिटर)मा साँघुरो फुटपाथलाई फराकिलो बनाउन थालेका छन्। पैदलयात्रुलाई सहज यात्राका लागि १ मिटरको फुटपाथलाई ३ मिटर बनाउँदैछन्। 

फुटपाथ ठुलो बनाउन थालिएपछि त्यसको विरोधमा वडाध्यक्ष चिनीकाजी न्यूरोडमै टेन्ट टाँगेर वडाको काम गर्ने अवस्थामा पुगेका हुन्। फुटपाथ ठुलो बनाउने योजनाबाट बालेन पछि नहटेसम्म सडकमै वडा कार्यालय चलाउने चिनीकाजीले बताएका थिए। 

यद्यपि सोमबार महानगरसँग वडाको समहमति भएको छ। सहमतिमा हाललाई जुद्ध शालिकदेखि इन्द्रचोकसम्म फुटपाथ बनाइने र बाँकी ठाउँमा अध्ययन टोलि बनाएर अध्ययन गरेपछि मात्र फुटपाथ बनाइने सहमति भएको छ।

यसअघि स्थानीयको सहमतिबिना फुटपाथ फराकिलो बनाउन नपाइने वडाध्यक्ष चिनीकाजीको अडान थियो। उनको यो अडान आइतबारको मात्र होइन। फुटपाथ बनाउने योजना पनि ताजा होइन। 

गएको जेठ १२ गते महानगरले फुटपाथ बनाउन सडक खनेको थियो। त्यसैदिनदेखि महानगर र वडा कार्यालयको विवाद उत्कर्षमा पुगेको हो। 

योबीचमा सडक विभागले आफ्नो क्षेत्राअधिकारभित्र रहेको सडक अनुमतिबेगर नभत्काउन भनेको थियो। महानगरले भत्काएको सडक पनि विभागले पुरेर सडक नै बनाएको थियो। साथै सडक विभागले पाटन उच्च अदालतमा फुटपाथ बनाउन रोक्न भन्दै मुद्धा दायर गरेको थियो। 

त्यसको विपक्षमा फैसला गर्दै पाटन उच्च अदालतले यही असार ३० गते फुटपाथ बनाउन आदेश दियो। अदालतको आदेशसँगै असार २ गते पुन: महानगरले फुटपाथ बनाउन थालनी गर्‍यो। 

त्यसको अर्को दिनदेखि वडाअध्यक्ष चिनीकाजी विरोधमा उत्रिएका हुन्। उनले केही स्थानीय, व्यापारीलाई साथमा लिएर सडकमा प्रदर्शनसमेत गरे। शुक्रबार फुटपाथ बनाउन सडक भत्काउँदै गर्दा स्थानीयले सडकमा विरोध गरे। बालेनको पुत्ला दोहन गरे। 

स्थानीयको विरोधपछि फुटपाथ बढाउने काम रोकेर मेयर बालेन सहमति खोज्न लागे। वडाध्यक्षकै नेतृत्वमा स्थानीय सडकमै आएपछि भने बालेन सहमति गर्न बाध्य भए। यो सहमतिपछि स्थानीयले वडाध्यक्षलाई फूलमाला लगाएदिए। अनि ‘बालेनलाई जित्यौं’ भन्दै र्‍यालीसमेत निकाले।

फुटपाथ चाहिएको छ तर विरोध किन?
संघीय राजधानी काठमाडौँ उपत्यकाका अधिकांश सडकहरू फुटपाथविनै बनेका छन्। फुटपाथ भएका सडक पनि साँघुरा हुँदा पैदल यात्रुलाई हिड्न समस्या छ। अझ काठमाडौँको न्युरोड पैदल यात्रुको निकै चाप हुने क्षेत्र हो। 

यही न्युरोड क्षेत्रमा फुटपाथ साँघुरो हुँदा पैदल यात्रु एकअर्कामा ठोक्किने, ठोक्किँदा झगडा हुनेदेखि भीडभाडले हिड्दाहिड्दै पनि चोरी हुने समस्या छ। यसअर्थमा पनि अहिलेको न्युरोडको १ मिटरको फुटपाथ ३ मिटरको बनाइँदै छ।

सडक सुरक्षाविज्ञ भगवती सेडाईं प्रतिघण्टा २५ सयदेखि ३५ सयसम्म पैदलयात्रुको चहलपहल हुन्छ भने त्यो सडकमा फुटपाथ ३ मिटर हुनुपर्ने बताउँछिन्। न्यूरोडमा प्रतिघण्टा पैदलयात्रु २५ सयभन्दा बढी नै हिड्ने अनुमान छ।

जसले गर्दा पनि यहाँ फुटपाथ बढाउन थालिएको हो। फुटपाथ बढाउने योजना महानरले हचुवाको भरमा गरेको होइन। सडकविज्ञसँग भएको छलफलपछि फुटपाथ बढाउने योजना बनेको हो। 

तर किन विरोध भइरहेको छ? वडाअध्यक्षको तर्क छ– महानगरले वडासँग कुनै छलफल नै गरेन। स्थानीय बासिन्दा भन्दै आएका छन्– सडक साँघुरो हुन्छ। सडक साँघुरो भएपछि पसलअघि पार्किङ हुँदैन र पार्किङ नहुँदा ग्राहक आउँदैनन्। 

केही स्थानीय व्यापारी अहिले पनि सडकमा पार्किङको व्यवस्था हुनुपर्ने माग गरिरहेका छन्। यद्यपि पार्किङ यसअघि नै महानरले हटाइसकेको छ। न्युरोडमा पार्किङ हटाएपछि रिसाएका व्यापारी अहिले फुटपाथ बढाएर सडकलाई दुईलेनमा मात्र सिमित गर्न थालिएपछि विरोधमा छन्। 

महानगरले पहिले पार्किङ हुनेजति पनि फुटपाथ नबढ्ने भन्दै फुटपाथ बनाउने भनेको छ। फुटपाथ बढाउने विवाद स्थानीय व्यापारी वा वडा कार्यालय र महानरका मेयर बालेनबीच देखिन्छ। 

तर यो विवादको जड यतिमात्र होइन। यो सिधा सिंहदरबारसँग जोडिएको विवाद हो। २२ का वडाध्यक्ष चिनीकाजी एमालेबाट निर्वाचित अध्यक्ष हुन्। मेयर बालेन स्वतन्त्रबाट निर्वाचित हुन्। 

फुटपाथ बढाउने योजनामा एमाले र बालेन लडाइजस्तो भइरहेको छ। न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्म करिब ४०० मिटरको दायाँबायाँ सडक यही जेठ १२ गते खनिएपछि बालेनसँग पहिलो पैठेजोरी खेल्न गइपुग्यो सडक विभाग। 

अनुमति नलिएको भन्दै सडक विभागले त्यहाँ अवरोध गरेको थियो। तर सडक डिभिजनसँग झण्डै एक वर्षअघि ४ असोज २०८० मा महानगरले अनुमति लिएको थियो। 

अनुमति लिएर पनि फुटपाथ बनाउन नदिएको भन्दै मेयर बालेन आगो भए। सडक विभागमा त्यहीँको धुलो उठाएर फालिदिए। त्यसपछि यो विवाद एमाले पार्टीसँग जोडिन पुग्यो। त्यो पनि सिधा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग। (विवादकाबेला ओली प्रधानमन्त्री थिएनन्)

सडक डिभिजनले फुटपाथ बनाउन अवरोध गरेपछि बालेलनले आक्रोस पोख्दै भनेका थिए, ‘झापाको १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू। यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन थाल्नु भएछ।’

उनले केपी ओलीलाई जोड्नुका पछाडि तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयमा एमालेका रघुबीर महासेठ मन्त्री थिए। उनको निर्देशन वा केपी ओलीको निर्देशनविना न्यूरोडमा अवरोध हुन नसक्ने बालेनको बुझाइ थियो। 

त्यसपछि बालेनले ओली लक्षित पटक–पटक सामाजिक सञ्जालबाटै अभिब्यक्ति दिइरहेका छन्। अदालतले आदेश दिँदा पनि अहिले एमालेबाट निर्वाचित वडाध्यक्ष चिनीकाजीले अवरोध गर्नु त्यसकै उपज त होइन? जानकार शंका गर्छन्। 

–तस्बिर: रविन भण्डारी/बिएल नेपाली सेवा

प्रकाशित मिति: : 2024-07-23 20:03:00

प्रतिकृया दिनुहोस्