मुगु आगलागी: बहिनीलाई बचाउन खोज्दा आफैँ जले विशाल

मुगुको खत्याड गाउँपालिका-२ गाँडेखोलामा आइतबार राति आफ्नै घरमा आगलागी हुँदा सुतिरहेकी बहिनीलाई बचाउन जाँदा आगोमै जलेर १२ वर्षीया बहिनी झरनासहित १४ वर्षीय विशाल सन्ज्यालले ज्यान गुमाएका छन्।

खत्याड गाउँपालिका-२ का वडाध्यक्ष हेमराज मल्लका अनुसार गाँडेखोलामा रहेको घरमा आमासँगै दाइ र बहिनी सुतेका थिए। राति २ बजे घरभित्र आगो दनदनी जलेको विशालले देखेका रहेछन्। विशालकी आमा सरस्वती र विशाल बाहिर निस्के विशालकी आमा छिमेकीलाई गुहार माग्न थालिन्। विशालले बहिनी भित्रै रहेको थाहा पाएर बहिनी बचाउन भित्र पस्दा बाहिर निस्कनै नपाई बहिनीसँगै आगोमा जलेर विशालको मृत्यु भएको हो।

गाँडेखोलाका लालु संञ्यालको घरमा आगलागी हुँदा उनका दुई छोराछोरीको मृत्यु भएको र सँगै जोडिएका उनका भाइ नरदिप र डिल्ली सन्ज्यालको घरसमेत पूर्णरुपले क्षति भएको छ।

घरमा आमा र दुई जना दाइबहिनी बस्दै आएका थिए। मृतक बालबालिकाका बाबु लालु सन्ज्याल मजदुरी गर्न भारत गएका छन्। विशाल कक्षा ७ मा र बहिनी कक्षा ४ मा जनजागरण मावि सेरीमा अध्ययन गर्दै आएका थिए।

अन्दाजी राति २ बजेतिर उनीहरु बस्दै आएको तीनतले काठ र ढुङ्गाबाट निर्मित घरमा उनीहरुले बालेको आगोबाटै आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक बिरेन्द्र थापाले बताएका छन्।

राति आमा सरस्वती सन्ज्याल १४ वर्षीय छोरा विशाल र १२ वार्षीया छोरी झरना सँगै सुतेका थिए।

मृतकका आफन्त विष्णुराज दाहालले दिएको जानकारीअनुसार घरमा तीन जना मात्र थिए। एक/दुई दिन अगाडि मृतककी आमा बाहिर सरी हिजो मात्र घरभित्र पसेर घर लिपपोत गरेर बेलुकीको खाना खाई सुतेका थिए।

राति अन्दाजी २ बजे मृतक विशालले घरभित्र आगो दन्केको देखेर आमालाई भनेपछि आम आत्तिँदै छिमेकीलाई गुहार माग्न पुगिन्। मृतक विशाल बहिनीलाई बचाउन घरभित्र छिरेका रहेछन्। बाहिर निस्किन खोज्दा दलिनमा आगो दन्केर बाहिर आउने सकेनछन्।

आफन्तका अनुसार आमासहित तीन जना छिमेकी तत्कालै पुगेका भएपनि उद्धार गर्न आएकाहरुले आगो राप बढेकाले उद्धार गर्न सकेनन्। झ्यालबाट विशाल बचाउनका लागि गुहार मागिरहेका रहेछन्।

दुबै दाइबहिनीलाई उद्धार गर्ने एउटै उपाय झ्याल फोडेर बाहिर निकाल्न सकिने रहेछ। सरिया तोड्नका लागि चाहिने औझारहरु तत्कालै नभेटिएकाले झ्यालमा राखेका फलामे सरिया तोड्न नसक्दा उनीहरुको ज्यान गएको स्थानीयले बताएका छन्।

मृतकका शव आगोले जलेर सनातखत हुन नसक्ने अवस्थामा शव भेटिएका छन्। आगलागी भएको घरमा तीन जना मात्र भएको र आगलागी हुँदा घरभित्र दुई दाइबहिनी मात्र भएकाले आगोमा जलेर मृत्यु हुनेमा विशाल झरना रहेको प्रहरीले बताएको छ।

शवको पोष्टमार्टम प्राथामिक स्वास्थ्य केन्द्र रातापानीबाट डाक्टर झिकाई घटनास्थलमै पोष्टमार्टम गरिने प्रहरीले बताएको छ।

प्रहरीका अनुसार उक्त आगलागीबाट चार गाईगोरु जलेका मरेका छन् भने सँगै जोडिएका नरदिप र डिल्ली सन्ज्यालका घर पूर्णरुपमा क्षति भएका छन्।

प्रकाशित मिति: : 2024-02-05 20:45:00

प्रतिकृया दिनुहोस्