युक्रेनी राष्ट्रपतिमाथि अमेरिकाले गरेको अपमानजक व्यवहारपछि लण्डनमा जुटेका युरोपेली राष्ट्रका नेताहरुले शान्तिका लागि एउटा ‘बलियो गठबन्धन’को आह्वान गरेका छन्। त्यसमा सामेल हुन उनीहरूले अमेरिका र रुसलाई पनि आह्वान गरेका छन्।
एउटा खनिज सम्झौतामा हस्ताक्षर गर्न बोलाएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्सले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई निकै अपमानजना व्यवहार गरेर फर्काएका थिए। त्यसलगत्तै जेलेन्स्की बेलायत पुगेका थिए।
बेलायती प्रधानमन्त्री कियर स्टार्मरले जेलेन्स्कीसँग भेटवार्ता गरेपछि सबै युरोपेली नेताहरूको बैठक बोलाएका थिए। त्यसक्रमा सिङ्गो युरोप युक्रेनको साथमा रहेको भन्दै अब क्षेत्रीय शान्तिका लागि युरोपले नै अगुवाइ गर्ने आश्वासन पनि स्टार्मरले दिएका थिए।
त्यसैअनुसार आइतबार नै लण्डनमा युरोपेली राष्ट्रका नेताहरूको एउटा महत्वपूर्ण बैठक सम्पन्न भएको छ। युरोपेली राष्ट्रका १८ जना नेताहरूको यो बैठकलाई ‘सुरक्षित भविष्यका लागि लण्डन समिट’ नाम दिइएको थियो।
बैठकलाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री स्टार्मरले ‘युक्रेनका लागि शान्ति सम्झौता सिङ्गो महादेशका सबै राष्ट्रहरूको सुरक्षाका निम्ति निकै महत्वपूर्ण कदम हुने’ बताएका थिए।
‘आज हामी इतिहासको निकै गम्भिर मोडमा छौं। रुस-युक्रेन युद्ध रोक्नका लागि हामी सबै मिलेर काम गर्नुपर्नेछ र गरिरहेका छौं। यो बैठकपछि अब हामी अमेरिकासँग पनि वार्तालाप गर्नेछौं’ उनले भनेका छन् ‘रुसले पनि शान्तिका कुरा गरिरहेको छ तर अर्कोतिर युक्रेनमाथि आक्रमण पनि गरिरहेको छ। हामी सबै मिलेर अब यो युद्ध रोक्नु छ र युरोपमा शान्ति ल्याउनका लागि साथै मिलेर काम गर्नुपर्नेछ।’
यो बैठकमा ती महत्वपूर्ण अजेण्डामाथि नेताहरू सहमत भएका छन्।
पहिलो, सबै युरोपेली राष्ट्रहरूले युक्रेनलाई सहायता प्रदान गर्नका लागि अझ धेरै योगदान दिनुपर्नेछ। दोस्रो, रुस र युक्रेनमात्रै होइन अहिले पूरै विश्वलाई शान्ति चाहिएको छ र त्यो शान्ति स्थापनाका लागि युरोपले नै अगुवाइ गर्नुपर्नेछ। तेस्रो नेटोलाई अझ बलियो बनाइराख्नुपर्नेछ। त्यसका लागि युरोपले आफ्नो रक्षा बजेटमा अझ वृद्धि गर्नुपर्नेछ।
त्यस्तै बेलायती प्रधानमन्त्री स्टार्मरले युरोपमा दीर्घकालीन शान्तिका लागि तीन कुरा ज्यादै महत्वपूर्ण भएको पनि औंल्याएका छन्।
उनका अनुसार पहिलो त आवश्यक परेमा युक्रेन अझ बलियो तरिकाले लड्न सकोस्। र वार्तालापका लागि पनि आफूलाई मजवुत बनाओस्।
दोस्रो त्यसमा युरोपको योगदान र सुरक्षा ग्यारेन्टी हुनुपर्नेछ।
तेस्रो अमेरिकालाई पनि त्यसमा सामेल गराउनुपर्नेछ।
‘त्यस्तो सम्झौता जो केही दिनमै भंग होस्। हामीले त्यस्तो सम्झौता चाहेका छैनौं’ उनले भनेका छन् ‘अहिले युक्रेनको डर पनि त्यही हो कि सम्झौता दीर्घकालीन भएन भने के होला? अर्थात् युक्रेनको सुरक्षा ग्यारेन्टी कसले दिने? युक्रेनको यो भय र संशय स्वभाविक हो।’