मुगुमा खत्याड गाउँपालिका-२ गाडेखोलामा अगालागी हुँदा एक जनाको मृत्यु भएको छ।
स्थानीय लालु सन्ज्यालको घरमा आगलागी हुँदा एक जनाको शव फेला परेको छ भने अर्का एक जना बेपत्ता भएका छन्।
लालुका दुई छोराछोरीमध्ये कसको शव हो भन्ने एकिन हुन सकेको छैन। उनकोसहित तीन घर पूर्णरुपले क्षति भएको छ।
उनका भाइ नरवि र दिप सन्ज्यालको घरसमेत पूर्णरुपले क्षति भएको खत्याड गाउँपालिका-२ का वडाध्यक्ष हेमराज मल्लले जानकारी दिए।
घरमा आमा र दुई जना दाइबहिनी बस्दै आएका थिए। मृतक बालबालिका बाबु मजदुरी गर्न भारत गएका छन्।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले दिएको जानकारीअनुसार राति बालबच्चासहित आमा सरस्वती सन्ज्याल, १४ वर्षीय छोरा विशाल सन्ज्याल र १२ वर्षीया छोरी झरना सन्ज्याल घरको गोठमा सुतेका थिए।
गोठमा बालेको आगो लाग्दा आमा बाहिर निस्कन सफल भएको र पहिचान हुन नसकेको एक जनाको जलेको अवस्थामा शव भेटिएको छ। थप एक जनाको खोजी भइरहेको छ। उक्त घरको आगलागीबाट चार गाईगोरु जलेर मरेका छन्।
घटनालगतै प्रहरी चौकी श्रीकोटबाट प्रहरी घटनास्थलमा पुगी प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रण ल्याउन खोजिएको थियो।
बिहानसम्म पनि २ बच्चा नभेटिएको र आमाले बच्चा बाहिर ननिस्किएको भनी विलौना गरिरहेकाले जलिसकेको हुनसक्ने प्रहरी नायव उपरीक्षक थापाले बताए।