व्यवसायी अरुण चौधरी पक्राउबारे नेपाली कांग्रेसभित्र छलफल भएको छ।
शुक्रबार बसेको कांग्रेसको संसदीय दलको बैठकमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ परेको विषयमा छलफल भएको हो।
कांग्रेस सांसदसमेत रहेका सीजी ग्रुपका प्रमुख विनोद चौधरीले आफ्नो भाइ अरुण चौधरीको पक्राउबारे बैठकमा ब्रिफिङ गरेका छन्। सो क्रममा उनले आफ्नो परिवारमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै गुनासो गरे।
बाँसबारी छालाजुत्ताको जग्गा सीजी होल्डिङले अनाधिकृत रुपमा कब्जा नगरेको बताउँदै उनले आफ्नो परिवारमाथि राजनीतिक प्रतिशोध साँधिएको विषयमा पार्टी र पार्टीका नेतासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले बोल्नुपर्ने बताए।
साथै आफूले गलत भए कारबाही गर्न भन्दै उनले अन्यथा बिनाकसुर आफ्नो परिवारको बदनाम गर्न नपाइने बताए।
बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी प्रमुख अजितनारायणसिंह थापालाई पक्राउ गरेको थियो।