पाेर्चुगल भन्दै रसियन सेनामा पठाउने धन्दा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताकाे समेत संलग्नता

Breaknlinks
Breaknlinks

काठमाडाैँकाे एक कन्सल्टेन्सीले केही युवालाई राेजगारीका लागि पाेर्चुगल पठाउने भन्दै रसियन सेनामा पठाउने प्रयास गरेकाे पाइएकाे छ।

माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पाेलिटव्युराे सदस्य एवम् सचिवालय सदस्य भूपेन्द्र न्याैपानेलगायतकाे संलग्नतामा युवालाई झुक्याएर रसियन सेनामा पठाउने प्रयास भइरहेकाे पीडितहरुले बताएका छन्। पीडितहरुले बिहीबार काठमाडाैँमा पत्रकार सम्मेलन गरेर घटनाबारे सार्वजनिक गरेका हुन्।

पीडितहरुकाअनुसार न्याैपाने आबद्ध रहेकाे सामाखुशीस्थित ‘बि’एक्वायर एजुकेसन कन्सल्टेन्सीले युवाहरुलाई पाेर्चुगल पठाउने भनेर रसियन सेनामा पठाउन खाेजेकाे हाे।

कन्सल्टेन्सीले कृष्णप्रसाद धमला, नवीनकुमार न्यौपाने, गोपीराम धमला, ध्रुवराज न्यौपाने, नेत्रप्रसाद न्यौपाने, टंक जैशी र निरज धमलालाई गत जेठ ३१ गते पाेर्चुगलका लागि भन्दै काठमाडाैँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अजरबैजान पुर्‍याएका थिए।

अजरबैजान पुगेपछि कन्सल्टेन्सीका मानिस युवाहरुलाई त्यही अलपत्र छाडेर भागेका थिए। कन्सल्टेन्सीका एजेन्ट भागेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे थियाे।

त्यसपछि एजेन्टहरुले हिरासतबाट छुटाएर दुबई फिर्ता गरेका थिए। दुबई फर्किएपछि बल्ल आफूहरुई पाेर्चुगल भन्दै रसियन सेनामा पठाउन खाेजिएकाे थाहा पाएकाे पीडितले जनाएका छन्। उनीहरु दुबईबाट आफैँ पैसाकाे जाेहाे गरेर गत मंसिरमा नेपाल फर्किएका थिए।

नेपाल फर्किएपछि उनीहरु कन्सल्टेन्सी पुगेका थिए। तर, कन्सल्टेन्सी पुग्दा उल्टाे धम्काइएकाे पीडितहरुले बताएका छन्। ‘हामी नेपाल फर्किएपछि कन्सल्टेन्सी गएका थियाैँ तर त्यहाँ पुग्दा गुण्डा परिचालन गरेर हामीमाथि आक्रमणकाे प्रयास गरियाे’, पीडित ध्रुव न्याैपानेले भने।

उनका अनुसार कन्सल्टेन्सी अहिले बन्द छ। भने, त्यसका संचालकहरु फरार छन्। कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राेजीन न्याैपाने हुन्। भने, कन्सल्टेन्सीमा बुद्ध पाँचकाेटी, वसन्त पुडासैनी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका न्याैपानेलगायत आबद्ध छन्।

कन्सल्टेन्सीबाट हर्जनासहित रकम फिर्ता हुनुपर्ने पीडितहरुकाे माग छ। साथै कन्सल्टेन्सीले वैदेशिक राेजगारीका नाममा मानव तस्करी गरेकाेले कानुनी कारबाहीसमेत हुनुपर्ने उनीहरुकाे भनाइ छ।

यद्यपि, उनीहरु अहिलेसम्म कानूनी कारबाहीका लागि प्रहरीसम्म पुगेका छैनन्।

प्रकाशित मिति: : 2024-02-01 21:40:00

प्रतिकृया दिनुहोस्