कोरिया जान आएका जाे बालकुमारीमा बिलाए

मृतक सुजन रावत
मृतक सुजन रावत

यसै पनि हतारमा हुने एम्बुलेन्स शुक्रबार अझ हतारमा देखिन्थ्यो। त्यही हतारको एम्बुलेन्स हर्न बजाउँदै पाटन अस्पताल आइपुग्यो र सिधै इमेर्जेन्सी कक्ष अगाडि पुगेर  रोकियो।

एम्बुलेन्सको रफ्तार मात्र हाेइन, एम्बुलेन्स चालक पनि हतारमै थिए। हतारमै ढोका खोले र एम्बुलेन्सबाटै झरे। उनी हतारमै एम्बुलेन्सको पछाडि पुगे। ढोका खोले र निकाले बिरामी।

जब बिरामीलाई एम्बुलेन्सबाट निकालियो बिरामीको अवस्था हेर्न सकिने थिएन। कम्मरबाट रगत बगिरहेको थियो। लगाएको सर्ट बाहिरै देखिने गरी। हातखुट्टा चल्दैनथ्यो। अर्थात उनी अचेत थिए। 

अचेत भएका व्यक्ति हुन्– अछामको चौरपाटी गाउँपालिका १ सिउडीका २२ वर्षीय वीरेन्द्र शाह। उनी बन्दुकको गोलीले ललितपुरको बालकुमारीमा ढलेपछि हतारमा एम्बुलेन्सले पाटन अस्पताल ल्याएको थियो। ‘बिरामीलाई यहाँ लिदा रगतै–रगत थियो। उनी अचेत थिए,’ अस्पतालमा सबै दृष्य देखेका काभ्रेका भंगलाल मुक्तानले भने।

वीरेन्द्र शुक्रबार बिहानै ७ बजेतिर कोठाबाट निस्किएका थिए। साथीले रोजगारी अनुमति प्रणाली (इपिएस) शाखामा प्रदर्शन गर्न बोलाएपछि उनी कोठाबाट निस्किएर प्रदर्शनमा पुगेका थिए। 

प्रदर्शन गर्दै गर्दा बन्दुकको गोली चल्यो। गोलीले उनी इपिएस शाखा अगाडि ढले। बालकुमारी सडकमा ढलेका उनलाई प्रहरीले पाटन अस्पताल ल्यायो। उपचार गर्दै गर्दा उनलाई केही समयमै डाक्टरले मृत घोषणा गरिदिए। 

मृत्यु भएपछि अस्पताल नै शोकमग्न छ। ‘स्वदेशमा रोजगार दिन पनि नसक्ने। विदेश जान पाउँ भन्दा पनि गोली हान्ने कस्तो सरकार?’ अस्पताल अगाडि उभिएका एक सेवाग्राहीले आक्रोश पोखे। 

अस्पतालका सेवाग्राही आक्रोशित देखिएको अवस्थामा वीरेन्द्रका आफन्त रिस थाम्न सक्ने अवस्थामा छैनन्। वीरेन्द्रका भाई निरज शाही भन्छन्– ‘प्रहरीलाई गोली हान्ने अधिकार कसले दियो?’ वीरेन्द्रको कम्मरमा गोली लागेको छ। 

वीरेन्द्र कोरिया जाने सपना लिएर एक वर्षदेखि ललितपुरको जडिबुटीमा कोठा भाडा लिएर काेरियन भाषा पढिरहेका थिए। उनले पानी जहाँज निर्माणका लागि कोरिया जान परीक्षा दिएका पनि थिए। 

उक्त परीक्षामा उनी अनुत्तीर्ण भए। उनीसहित अनुत्तीर्ण भएका २५ हजार बढी परीक्षार्थी छन्। ३२ हजारले भाषा परीक्षा दिएकोमा १३ प्रतिशत मात्र उत्तीर्ण भएका थिए।  

यी अनुत्तीर्ण परीक्षार्थीलाई इपिएस शाखाले उत्पादन क्षेत्रमा भाषा परीक्षा दिन नपाउने निर्णय गरेको थियो। त्यसकाविरुद्ध १८ जना परीक्षार्थी उच्च अदालतमा गए। अदालतले उनीहरूलाई बिहीबार परीक्षा दिन अन्तरीम आदेश दियो। 

अदालतले १८ जनालाई मात्र परीक्षामा सामेल हुने आदेश गरेपछि बाँकी परीक्षार्थी आक्रोशित भए। आक्रोशित परीक्षार्थीले शुक्रबार इपिएस शाखामा प्रदर्शन गरे। प्रदर्शन उग्र भएपछि प्रहरीले अश्रुग्यास प्रहार गर्‍याे। 

प्रहरीले गोली प्रहार गरेको अहिलेसम्म स्वीकारेको छैन। तर प्रदर्शनमा गएका वीरेन्द्रलाई कम्मरमा गोली लगेको उनका भाई निरजले बिएल नेपाली सेवासँग बताए। ‘दाईलाई गोली लागेको छ। कम्मरको अगाडिको भागबाट लागेको गोलीले पछाडि पनि छेडेको छ।’  

यो समाचार तयार पर्दासम्म पाटन अस्पतालले पनि गाेली लागेकाे छ वा छैन औपाचारिक जानकारी गराएको छैन। 

मृत्यु हुनेमा प्रदर्शनमा गएका वीरेन्द्र मात्र होइनन्, दैलेखका २३ वर्षीय सुजन रावत पनि हुन्। उनको प्रहरीको कुटपिटले मृत्यु भएको छ। सुजनको किस्ट मेडिकल कलेजमा मृत्यु भएको हो। उनको छातीमा प्रहरीले कुटपिट गरेको गहिरो चोट छ। उनी पनि कोरिया जान पाउनु पर्छ भन्दै प्रदर्शनमा गएका थिए।

तीन सदस्यीय छानबिन समिति गठन
ललितपुरको बालकुमारीमा वीरेन्द्र र सुरजको मृत्यु प्रकरणको छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति बनाएको छ। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिमा आचार्यसहित ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल रहेका छन्।

गृहले समितिलाई सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन भनेको छ। घटनाको अवस्थाबारे मानव अधिकार आयोगले पनि अनुगमन गरेको छ। 

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले घटनास्थल, अस्पताल क्षेत्रमा पुगेर अनुगन गरिएको बताए। 

अदालतले भन्यो– परीक्षामा सबैलाई समावेश गराउनूँ

चच्च अदालतले पाटनले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तरगत कोरियाको उत्पादनमुलक (कृषि) क्षेत्रमा हुन लागेको भाषा परीक्षामा पानी जहाँज निर्माणका लागि परीक्षा दिएकाहरूलाई पनि समावेश गर्न आदेश दिएको छ। 

गणेश राईलगायतले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै उच्च अदालतले ‘सीप बिल्डिङ’ परीक्षामा फेल भएका सबैलाई उत्पादनमुलक क्षेत्रको भाषा परीक्षामा समावेश गराउन आदेश दिएको हो।

यसअघि इपिएस शाखाले सीप बिल्डिङमा फेल भएकालाई उत्पादनमुलक क्षेत्रको परीक्षामा समावेश नगर्ने बताएको थियो। त्यसकाविरुद्ध १८ जनाले उच्चमा दायर गरेको रिटमा १८ जनलाई समावेश गर्न अदालतले अन्तरिम आदेश दिएको थियो।

१८ जनालाई मात्र परीक्षामा सामेल गराउने निर्णयले अन्य परीक्षार्थी आन्दोललित हुँदा शुक्रबार दुई जनाको मृत्यु भयो। दुई जनाको मृत्युपछि उच्च अदालतले फेरि अर्को रिटमाथि आदेश गर्दै सबैलाई समावेश गर्न आदेश दिएको छ। 

याे पनि

अदालतले भन्याे- ‘सीप बिल्डिङ’मा फेल भएका सबैलाई परीक्षामा समावेश गराउनू

मृत्यु हुनुअघि यसरी ढलेका थिए सुजन...(भिडियाे)

 

प्रकाशित मिति: : 2023-12-29 20:56:00

प्रतिकृया दिनुहोस्