‘रिगललाई फेरि जेल पठाउने अदालतको निर्णय स्वागतयोग्य छ’

सर्वोच्च अदालतले ‘व्यक्ति हत्याका दोषी रिगल भनिने योगराज ढकालकाे कैद माफी बदर’ गर्न परमादेश दिएपछि कांग्रेसका महामन्त्री गगन थापाले कानुनलाई एकीकृत गर्न र कानुनी छिद्रहरू टाल्न आग्रह गरेका छन्। 

राष्ट्रपतिबाट आममाफी पाएका ‘रिगल’लाई फेरि थुनामा पठाउने सर्वोच्चको निर्णय स्वागतयोग्य भएको बताउँलै थापाले सामाजिक सञ्जालमार्फत मुद्दाको अन्तिम किनारा, पीडितको हक लगायतका विषयमा अदालतले फेरि बोलेको टिप्पणी गरेका छन्। 

उनले भनेका छन्, ‘आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य छ। मुद्दाको अन्तिम किनारा, पीडितको हक लगायतका विषयमा अदालतले फेरि बोलेको छ।’

गगन थापाकाे टिप्पणी—

आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य छ। मुद्दाको अन्तिम किनारा, पीडितको हक लगायतका विषयमा अदालतले फेरि बोलेको छ।

यस्तो अवस्था आएको पहिलो पटक होइन। कानुनको छिद्र प्रयोग गरेर पटक पटक यस खालका घटनाहरू दोहोरिने गरेका छन्। आम माफीका घटना आउँदा त्यसको विरोध गर्ने, घटना सेलाउँदै गए पछि बिर्सिने प्रवृत्तिलाई अब फेरि दोहोरिन दिनु हुँदैन। यस सम्बन्धमा जे-जसरी आम माफी दिने गरिएको छ त्यसले यो प्रणालीमै प्रश्न उठ्ने गरेको छ। यसमा मुद्दाको अन्तिम किनारा गर्नुमा न्यायपालिकाको भूमिका र पीडितको न्यायको विषयको आधारमा यो प्रणालीमै पुनर्विचार गर्नुपर्नेछ।

अब हामी अलमलिने वा यो विषयलाई नजरअन्दाज गर्ने भन्ने नै हुँदैन, आम माफीसँग सम्बन्धित सम्पूर्ण कानुनलाई एकीकृत गरेर व्याख्या गरौँ र कानुनी छिद्रहरू टालौँ।

प्रकाशित मिति: : 2023-11-02 20:07:00

प्रतिकृया दिनुहोस्