मन्त्री भुसाल र अर्जेन्टिनाका गैरआवसीय राजदूतबीच शिष्टचार भेटघाट

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र अर्जेन्टिनाका गैरआवसीय राजदूत हृयुरो जेभियर गोबीबीच शिष्टचार भेटघाट भएको छ।

मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत गोबीबीच भेटघाट भएको हो।

भेटमा मन्त्री भुसालले नेपाल र अर्जेन्टिना बीचको सम्बन्ध सद्भाव, मित्रता र आपसी समझदारीमा आधारित रहेको स्मरण गरे।

'आजको भेटले दुई देशबीचको द्धिपक्षीय सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउने ठूलो अवसर रहेको छ', मन्त्री भुसालले भेटमा भने।

मन्त्री भुसालले नेपालमा विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको सम्भावना भएको हुनाले अर्जेन्टिनाको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्वपूर्ण हुनेमा चर्चा गरेका छन्।

नेपालको बाजुरामा जैतुन खेती रहेको बताउँदै यसमा सहकार्य गर्न सकिनेमा उनले जोड दिएका थिए।

भेटमा गैरआवसीय राजदूत गोबीले कृषिमा दुवै देशको परिवेश मिल्ने बताउँदै व्यवसायिक रुपमा सहकार्य गर्न सकिनेमा जोड दिएका छन्।

 विशेष गरी नेपालको डेरी क्षेत्र, खाद्य सुरक्षा क्षेत्र, जैतुन उत्पादन र प्रशोधनमा सहयोग गर्न सकिनेमा उनले विश्वास दिलाए। साथै आगामी दिनमा आपसी समन्वयबाट अरु थप कार्य अगाडि बढाउन सकिनेमा जोड दिएका थिए।
 

प्रकाशित मिति: : 2023-10-17 19:58:00

प्रतिकृया दिनुहोस्