सैनिक नेतृत्वमा चलखेल नगर्न प्रचण्डलाई कोइरालाको चेतावनी

नेपाली काँग्रेसका नेता डा.शेखर काेइरालाले सैनिक नेतृत्वमा चलखेल नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिएका छन्।

सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै नेता कोइरालाले पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने बताएका हुन्।

‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन,’ काेइरालाले सामाजिक सञ्जालमा लेखेका छन्।

सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो नगर्न उनले सुझाव दिएका छन्।

यही असोज १ गतेदेखि अनिवार्य अवकाश पाउनैपर्ने एकजना माओवादी निकट सैनिक अधिकारीको जवर्जस्ती म्याद थमौती गरेपछि नेपाली सेना अहिले विवादमा छ। 
त्यो थमौती प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो निर्देशनमा भएको सैनिक स्रोत बताउँछ। 
माओवादीको ‘जनमुक्ति’ सेनाबाट नेपाली सेनामा समायोजन भएर सबैभन्दा माथिल्लो पदमा पुगेका एकमात्रै सैन्य अधिकारी थिए यमबहादुर अधिकारी। 
तीन वर्षअघि नै अवकास पाउनुपर्ने अधिकारीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सेनामा हुँदै नभएको पद सिर्जना गरेर ‘सहायक रथी’मा बढुवा गरी थमौती गरिदिएका थिए। त्यो माओवादी र एमाले मिलेर नेकपा भएको थियो र त्यसका एउटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै थिए। 
त्यो थपिएको म्याद असोज १ गते सकिदैं थियो। तर अहिले प्रचण्ड नै प्रधानमन्त्री भएका बेला फेरि अधिकारीलाई त्यही पदमा थमौती गर्ने निर्णय भएपछि अहिले सैनिक संगठनभित्र असन्तुष्टी त बढिरहेको छ। त्यो निर्णयको नागरिकस्तरमा पनि व्यापक आलोचना भइरहेको छ। उनै अधिकारीले उपरथी प्रेम शाहीको मुद्दामा ढिलाई गराउन कल्याणकारी कोष मार्फत विशेष भुमिका खेलेका थिए। हतियार खरिदको विषय नमान्दा र उपरथी शाहीको मुद्दामा लाग्ने भनिएको खर्च कोष मार्फत गर्न नमान्दा सहायक रथी हिक्मत बिष्टलाई २४ घन्टा भित्रै लखेटिएका थिए।
उनलाई स्थापित गर्नका लागि त्यो बेला सैनिक संगठनभित्र वन तथा पर्यावरण निर्देशनालयसमेत बनाइएको थियो। त्यसअघि यो निर्देशनालय नै सेनाभित्र थिएन।पूर्व सेनापतिका भनाई अनुसार सेनामा विशेष पद भन्ने नै हुदैन। यो भष्ट्राचाजन्य कार्य हो।

प्रकाशित मिति: : 2023-10-15 08:17:00

प्रतिकृया दिनुहोस्