पर्यटक लोभ्याउँदै लोपोन्मुख झाँक्री नाच

बागलुङ ढोरपाटनका दलित समुदायमा परम्परादेखि चल्दै आएको झाँक्री नाच कुनै समय बिरामी निको पार्ने माध्यम थियो। तर अहिले त्यो समय छैन। मानिसहरु बिरामी हुँदा स्वास्थ्य चौकी र अस्पताल जान थालेपछि झाँक्री नाचको माग कम हुन थाल्यो। यसैको आम्दानीबाट जीविकोपार्जन गर्नेलाई समस्या हुन थाल्यो। 

अहिले पनि मानिसहरु बिरामी हुँदा झाँक्रीकहाँ नआउने होइन तर त्यो सङ्ख्या निकै कम छ। यद्यपि आफूकहाँ आउने बिरामीहरुलाई झारफूक गर्ने भन्दा पनि अस्पतालमै जान सुझाव दिने गरेको उनीहरुको भनाइ छ। उनीहरु भने यो नाचलाई परिमार्जन गर्दै लगेका छन्। लोपोन्मुख झाँक्री नाचलाई जोगाउन र आम्दानीसमेत गर्ने उद्देश्यले यहाँका झाँक्रीहरू यतिबेला झाँक्री नाचलाई विभिन्न चाडपर्व, मेला–महोत्सव तथा पर्यटकको स्वागतमा प्रदर्शन गर्न थालेका छन्।
ढोरपाटन नगरपालिका–९ ढोरका सुन्दर विक आफूहरु यतिबेला झाँक्री नाच पर्यटकलाई देखाएर आम्दानी गर्न थालेको बताउँछन्। बाजे र जिजुबाजेले दिएका गरगहनामा सजिएर र पशुपक्षीका छाला ओढेर डम्फु र ढोल बजाउँदै नाच्ने झाँक्री नाच अन्यत्रभन्दा फरक भएकाले ढोरपाटन घुम्न आउने पाहुना पनि यसैमा झुम्न थालेको उनको भनाइ छ।

‘यो बिरामी निको पार्ने नाच हो, पछिल्लो समय हामीले यसलाई मेला तथा महोत्सवमा देखाउँदै आएका छौँ, कहिलेकाँही ढोरपाटनमा आउने पाहुनाको स्वागतमा पनि देखाउँछौँ’, उनले भने।

झाँक्री मोतीलाल विकले आफू कहाँ आउने बिरामीलाई सामान्य झारफुक गरे पनि अस्पताल जान नै सुझाव दिने गरेको बताएका छन्। ‘ढोरपाटनमा आउने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ, उनीहरूको स्वागतका लागि यहाँका होटल तथा सामुदायिक घरबासले हामीलाई बोलाउँछन्’, उनले भने, ‘त्यसबाहेक ढोरपाटनमा लाग्ने मेला तथा महोत्सव पनि आयस्रोतको माध्यम बनेको छ।’

झाँक्री भुपिल विकले आफूले सामान्य आयुर्वेद उपचार गरे पनि बिरामीलाई भने अस्पताल जान सुझाव दिने गरेको सुनाए। ‘अस्पताल गएर थाकेर फर्केकालाई पनि उपचार गर्छौँ तर सिकिस्त बिरामीलाई भने पहिले अस्पताल जान भन्छौँ’, उनले भने। 

ढोरपाटन सामुदायिक घरबासका सञ्चालक रामबहादुर घर्तीले घरबासमा आउने पाहुनाको मनोरञ्जनका लागि झाँक्री नाच देखाउने गरेको बताएका छन्। झाँक्रीले देखाउने नाचबाट पाहुना प्रभावित हुन थालेपछि झाँक्रीको माग बढ्न थालेको उनको भनाइ छ। 

बागलुङको पश्चिम क्षेत्रको निसी, बोबाङ, अधिकारीचौर र ढोरपाटन उपत्यका क्षेत्रमा प्रचलित झाँक्री नाचको अहिले अन्यत्र पनि प्रचार–प्रसारसमेत हुन थालेको छ।  झाँक्री नाच देखाउनकै लागि बुर्तिवाङबाट बागलुङ बजारसम्म आउने गरेका छन्।

प्रकाशित मिति: : 2023-10-14 22:04:00

प्रतिकृया दिनुहोस्