‘बाँझो जग्गाको उपयोग गरी कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्छ’

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले सिँचाइसम्बन्धी पूर्वाधार, मलको व्यवस्थापनमा ध्यान दिन नसक्दा मुलुक कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्न नसकेको बताएका छन्। 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले कृषिजन्य उत्पादन बढाउन बाँझो जग्गाको उपयोग गरी आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिएका हुन्। साथै उनले कृषि क्षेत्रलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाउन आवश्यकता रहेको बताएका छन्।

'अन्य क्षेत्रतिर ठूला–ठूला गौरवका आयोजना छन् तर कृषिको आधुनिकीकरणका लागि आवश्यक पूर्वाधार निर्माण र अत्यावश्यक कुराको विकासका लागि ध्यान दिन सकिएको छैन। अब त्यसैका लागि प्रयत्न गर्न जरुरी छ। वर्तमान सरकार कृषिमा दीर्घकालीन महत्वका योजना निर्माण गर्ने गरी अगाडि बढेको छ', भुसालले भने।

उनले सरकारले वितरण गर्ने कृषि अनुदानको रकम दुरुपयोग हुन नदिन आफू सचेत रहेको पनि बताएका छन्। वास्तविक किसानसमक्ष अनुदान पुग्न नसकेको विषयमा कुनै सत्यता नभएको तर प्रमाण भेटिए त्यसमा संलग्न कर्मचारी एवं बिचौलियालाई कारबाही गर्न आफू तयार रहेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2023-10-14 20:56:00

प्रतिकृया दिनुहोस्