विश्वभर छरिएर रहेका गोरखालीहरूको साझा संस्था ग्लोबल गोरखा समाजको सातौँ वार्षिक साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने भएका छन्।
१६ अक्टोबरमा हुन लागेको वार्षिक साधारण सभामा प्रधानमन्त्रीलाई प्रमुख अतिथिका रुपमा बोलाइएको समाजका अध्यक्ष गोर्कण प्रसाद ढकालले जानकारी दिए।
कार्यक्रम काठमाडौँको कान्तिपथस्थित यलो प्यागोडा होटलमा हुँदैछ। प्रधानमन्त्रीलाई निम्तो दिन ढकालसहितको टोली प्रधानमन्त्री कार्यालयमा पुगेको थियो।
साधारण सभामा विभिन्न देशमा बस्ने गोरखालीहरू सहभागी हुनेछन्।
यस्तै गैरआवासी नेपाली संघ (एनआरएनए)को महाधिवेशनका लागि काठमाडौँ आएका प्रतिनिधिलाई पनि कार्यक्रम निम्तो दिइएको छ।
त्यसैगरी विशेष अतिथिहरूमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, राष्ट्रियसभा सदस्य कमला पन्त, सासंद राजेन्द्र बजगाईलगायतलाई बोलाउने तयारी समाजको छ।
सोही अवसरमा समाजको आधिकारिक वेभसाइट सञ्चालनमा ल्याइँदैछ। यस्तै ५ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्न कार्यविधिसमेत तयार पारिँदैछ।
२०१६ मा स्थापना भएको यो समाजका विश्वका विभिन्न २ दर्जनभन्दा बढी मुलुकमा शाखा छन्।