एमाले गण्डकीको अध्यक्षमा ‘विष्णु–पृथ्वीसुब्बा’ समूहका शर्मा विजयी

एमाले गण्डकी प्रदेशकाे अध्यक्षमा ‘उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह’का नवराज शर्मा विजयी भएका छन्।

अध्यक्षका अर्का उम्मेदवार ‘महासचिव शंकर पाेखरेल र नेता खगराज अधिकारी समूह’का मायानाथ अधिकारीलाई पराजित गर्दै नवराज अध्यक्षमा निर्वाचित भएका हुन्।

नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गरे। उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन्।

गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे। सचिवमा लमजुङका धनज्वय दवाडीले ५ सय २० मत लिएर विजयी भएका छन्। सचिवका उम्मेदवार रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे।

उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याए। उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याइन्।

काे हुन् नवराज शर्मा ?

पश्चिम म्याग्दीको मालिकामा जन्मिएका उनी गण्डकीकाे राजनीतिमा परिचित छन्।

सरल जीवनशैली र प्रष्ट विचार राख्न सक्ने नेताका रुपमा चिनिएका नवराजलाई कार्यकर्ताहरूले रुचाउँछन्।

उनी २०७० को संविधानसभा निर्वाचनमा म्याग्दीबाट प्रत्यक्षतर्फ चुनाव भएका थिए। २०४१ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका नवराज २०४२ देखि २०५४ सालसम्म अनेरास्ववियुको जिल्ला अध्यक्ष, धौलागिरी अञ्चल सदस्य र कोषाध्यक्ष रहे।

२०५४ सालमा जिविस म्याग्दी सभापति भइसकेका नवराज एमाले गण्डकी प्रदेशकाे अध्यक्ष निर्वाचित हुनुअघि अध्यक्ष नै थिए।

प्रकाशित मिति: : 2023-10-05 23:26:00

प्रतिकृया दिनुहोस्