नागरिकलाई कुरा गरेर होइन, काम गरेर परिणाम दिनुपर्छ- कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुराले भन्दा पनि कामले नागरिकलाई सेवा दिनुपर्ने बताएका छन्।

विश्व मुटु दिवसका अवसरमा लायन्स क्लब अफ काठमाडौँ लर्डबुद्धद्वारा शनिबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नंं. ८ मा आयोजित ‘बृहत् निःशुल्क स्वास्थ्य शिविर’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपन्न जनताको स्वास्थ्य अवस्था सुधारका लागि सरकारले उच्च प्राथमिकता दिएको छ बताए।

भुम्लु गाउँपालिकामा धेरै वर्षदेखि भूमिहीन रहेको नागरिकलाई लालपुर्जा वितरण गर्ने र छिमेकी जिल्लासँगको सीमा विवादको समस्यालाई समाधान गर्ने विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उनले यसका लागि आवश्यक समन्वयको काम गर्ने बताएका छन्।

भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले ग्रामीण क्षेत्रमा बसोबास गरेका नागरिकको मुटु परीक्षण गरी सेवा प्रदान गर्न सहयोग गरेकामा खुसी व्यक्त गर्दै आयोजकलाई सहकार्यमा निरन्तता दिन आग्रह गरे। मुटुको उपचार पहुँचवालाले मात्रै गर्ने हो, गरिबले गर्न सक्दैन भन्ने चिन्तामा रहेको नागरिकलाई सहयोग गर्न र परीक्षण गरी स्वस्थ रहनुपर्छ भनेर शिविर आयोजना सही सन्देश दिन सफल भएको उनले बताए।

प्रकाशित मिति: : 2023-10-01 07:42:00

प्रतिकृया दिनुहोस्