फलाेअप

अन्तरजातीय विवाह गर्ने केटीका दाइले आगाे लाए ‘दलित केटाकाे घर’

असार १२ गते तातोपानी–४ गिडीखोलाका २१ वर्षीय मुकेन्द्र नेपाली र त्यही गाउँकी किशाेरीले भागेर विवाह गरे। असार १३ गते केटी पट्टीकाले ‘दलित केटा’ मुकेन्द्रले आफ्नी छाेरी बेपत्ता बनाएकाे भन्दै प्रहरीमा रिपोर्टसमेत लेखाए। 

दुई तीन दिन साम्य भएकाे घटना एकाएक भयानक भएर आयाे। १६ गते साँझ किशाेरीका दाइ हिक्मत गिरी काठमाडौंबाट गाउँ पुगे। साेही साँझ उनले आफ्नाे घरमा आगाे लगाइदिएकाे मुकेन्द्रका दाइ भरत नेपालीले बताएका छन्। 

'मैले केटी पक्षका दाइकाे नाममा किटानी दिएकाे छु। मुद्दा आज १० बजे दर्ता हुन्छ,' उनले भने, 'मैले गरेकाे रिपाेर्टकाे आधारमा प्रहरीले केटीका दाइलाई पक्राउ गरेको छ।' 

स्थानीयका गाैकली सार्कीका अनुसार दुबै जनाले २ वर्षको प्रेमपछि अन्तरजातीय विवाह गरेका थिए। 'बिहे गरेकाे चित्त बुझेकाे छैन भने छाेरी फिर्ता लिन सकिन्छ। छुटाउन सकिन्छ,' उनले भनिन्, 'यसरी घर नै जलाइदिन मिल्छ कि नाई? याे त सरसर अपराध हाे।'

किशाेरीका दाइ हिक्मतले बिहान ४ बजेतिर घरमा आगाे लगाइदिएकाे भरतले बताएका छन्। उनका अनुसार घर पूरै जलेर नष्ट भएकाे छ। सामान पूरै नष्ट छन्। उनले भने, 'गिडीखोला गाउँकाे गिडीचाैर बस्तीकाे बीचमा रहेको घरमा धूवाँको मुस्लो देखिएपछि गाउँलेहरूले निभाउने काेसिस गरेका थिए। त्यतिन्जेल घर जलेर नष्ट भइसकेकाे रहेछ।'

आगलागीको खबरपछि हाँकु चौकीबाट असई राजेन्द्र गिरी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो। उनले आफूहरू पुग्दा घर पूरै क्षतिग्रस्त भइसकेको बताएका छन्। 'संयोगले उक्त घरमा आगलागी भएको दिन कोही थिएनन्,' उनले भने, 'मुकेन्द्रका दाइ गैरसरकारी संस्थामा काम गर्ने भएकाले बजारमै बस्नुहुने रहेछ।'

पाँच वर्षअघि मात्रै बनाएको नयाँ घरमा आगो लागाइदिएपछि आफू अब घरबारविहीन हुनुपरेको भरतले बताएका छन्। उनका अनुसार मुकेन्द्र पनि परिवारका कसैको सम्पर्कमा छैन। 

'भाइ मुकुन्द सम्पर्कमा छैन। घर जलाएर नष्ट बनाइसकियाे,' भरतले भने, 'पछिल्लो समय विकसित घटनाक्रमको पहिचान नहुँदै कुशित मनसायले गरिएका हर प्रपन्च, योजना र उक्साहटको बदला तथा अपराध मलाई स्वीकार्य छैन।'

उनले थपे, 'मानवीय तथा भौतिक अपराधको साइनोसँग मितेरी लगाउने जो सुकै अनुसन्धानको प्रक्रियामा आउने छन्।'

जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार किशोरीका दाइले आवेगमा आएर घरमा आगो लगाएको बयान दिएका छन्। उनले भने, 'पहिले पनि यही विषयमा विवाद भएको रहेछ। बहिनी भगाएको रिस थाम्न नसकेर घर जलाइदिएको खुलेको छ।'

गिडीखोलाको उक्त बस्तीमा २८ घरधुरी दलित समुदाय छन्। गाउँलेहरू दुबै जनालाई खोजेर ल्याएपछि छलफल गर्ने तयारीमा थिए। यसमा आफू पनि सकारात्मक वातावरण बनाउन तयार रहेकाे भरतले बताएका छन्।

गैरदलित समुदायकी किशोरी विवाह गरेकै कारण घर जलाइदिनु ठूलाे अपराध भएकाे स्थानीय धनश्री सार्कीले बताएका छन्। 'भागेका दुई जनालाई खोजेर छलफलमा राखे समाधान निस्किहाल्थ्यो। यसरी घर जलाइदिनु अपराध भएन र?,' उनले भने ।

भरतले बिहानै घर जलाएको आरोपमा किशोरीका बुबा, काका र दाजुको नाममा प्रहरी चौकी हाँकुमा निवेदन दिएका थिए। निवेदनका आधारमा किशाेरीका दाइ हिम्मतलाई तारा एयरको जहाज चढेर नेपालगन्ज उड्ने तयारीमा रहेका बेला सदरमुकाम खलंगाको कालेखोलीदेखि प्रहरीले नियन्त्रणमा लिएको हाे। 

आगलागीबाट ६५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। पीडित भरतले क्षतिपूर्तिकाे माग सहित किटानी दिएकाे बताएका छन्।

मुकुन्द र किशाेरीको घरकाे दुरी एक किलोमिटर बराबर छ। सदरमुकाममा बसेर पढ्दै आएका मुकुन्द जाडाेमा लाेक सेवा आयाेगकाे तयारी गर्न नेपालगन्ज गएका थिए। 

स्थानीयका अनुसार ती किशोरी गाउँकै स्कुलमा पढ्थिन्। भागेर गएकाे केही समयपछि बसन्तीले आफूले बिहे गरेर गएकाे र आफ्नाे खाेजी नगर्न भनेकाे स्थानीयले बताएका छन्। 

केटाकेटीकाे खाेजीकाे लागि कर्णाली प्रदेशभरिका प्रहरी इकाइलाई खबर गरिएको प्रहरी निरिक्षक जोशीले बताएका छन्।


अन्तरजातीय विवाह गरेकाे चार दिनपछि ‘केटाकाे घरमा दन्कियाे आगाे’


दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ

प्रकाशित मिति: : 2023-07-03 08:50:00

प्रतिकृया दिनुहोस्