नेपालीहरूको पहिचान भनेकै यहाँको कला र संस्कृति हो: अध्यक्ष बिजुक्छें

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेंले युवालाई आफ्नै देशको सेवा गर्ने भावनाबाट अभिप्रेरित गर्नुपर्ने बताएका छन्।

भक्तपुर नगरपालिकाले आज भक्तपुर दरबार स्क्वायरमा आयोजना गरेको संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संस्कृतिकर्मीलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, 'युवालाई आफ्नो देशको माया र देशप्रेमको भावना जगाउनु आवश्यक छ, युवालाई देश प्रेमको भावना जोगाउनसके देशप्रति उनीहरू जिम्मेवार हुन्छन्, देशको रक्षाका लागि लाग्छन्।'

सहकारी संस्थाले उत्पादनमूलक क्षेत्रमा लगानी नगर्दा जनताको पैसा डुबाइरहेको बताउँदै उनले सहकारीलाई समाज निर्माण एवं कारखाना खोलेर युवालाई रोजगारी दिनेतर्फ केन्द्रित गराउन सरकार लाग्नुपर्ने औँल्याएका छन्। 

नेपालीको पहिचान भनेकै यहाँको कला र संस्कृति हो भन्दै बिजुक्छेंले स्थानीय तहले जनताको हितमा राम्रो काम गरे देशकै हित हुने र विदेशीको भरमा विकास निर्माण गर्छु भन्ने भावनाबाट जनप्रतिनिधि टाढा रहनुपर्नेमा जोड दिएका छन्।

अध्यक्ष बिजुक्छेंले अशक्त र असहाय नागरिकलाई अब समाजले नै हेर्नुपर्ने अवस्था सिर्जना भइरहेको बताउँदै स्थानीय तहले यसका लागि आश्रम स्थापना गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले काठमाडौँमा जारी शिक्षक आन्दोलन स्थानीय तहको अधिकार कटौती गरी सङ्घ सरकारमा पुर्याउने आन्दोलन गलत भएको बताउँदै जिल्ला शिक्षा कार्यालय पुनःस्थापना गर्नु भनेको पञ्चायतकालीन व्यवस्थाको पुनःस्थापना गर्नुसरह भएको बताउका छन्। 

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको पुरानो सहर आफैँमा एउटा सम्पदा सहर भएको बताएका छन्। उनले विसं २०७२ को भूकम्पबाट भत्केका कैयौँ सम्पदा भक्तपुर नपाले विदेशीको सहयोगविना नै स्थानीय जनताको साथ र सहयोगमा पुनःनिर्माण गरेको बताएका छन्। 

प्रकाशित मिति: : 2023-09-27 22:23:00

प्रतिकृया दिनुहोस्