निर्वाचन क्षेत्रको स्थलगत अनुगमनमा सभामुख घिमिरे

सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले झापा– २ मा भइरहेका अधिकांश विकास निर्माणका कार्यको आज अनुगमन गरेका छन्।

उनले शनिश्चरे–जयपुर सडक, शनिश्चरे–खुदनाबारी जोड्ने विरिङ नदीको भत्किएको पुल, विर्तामोड–शनिश्चरे सडकलगायत दर्जनौँ योजनाको स्थलगत अनुगमन गरेका हुन्।

सभामुख घिमिरेसँग अर्जुनधारा नगरपालिकाको समग्र विकास निर्माणका बारेमा आजै छलफल भएको छ। उनले सरकार दिगो ढङ्गले चल्न नसकिरहेको अवस्थामा बजेट अभावले विकास निर्माणका काम तीव्र रुपमा हुन नसकेको बताएका छन्। उनले भने, ‘जति पनि ठेक्का सम्झौता भइसकेका सडक, पुल छन्। ती निर्माणका लागि सरकार लागि परेको छ।’

सङ्घीय सरकार र प्रदेश सरकारबाट योजनामा परेका बजेटलाई कार्यान्वयनमा लैजान आग्रह गर्दै उनले सहज रुपमा काम गर्ने वातावरण बनाउन स्थानीयलाई आग्रह गरे। उनकै पलमा चालु आव २०८०/८१ मा करिब रु ३५ करोड बढीका ५६ वटा योजना अर्जुनधारा क्षेत्रमा परेका छन्। 

सभामुख घिमिरेले विर्तामोड–शनिश्चरे–खुदुनाबारी सडकखण्डमा पर्ने बिरिङ नदीको बाढीले भत्किएको पुलको पनि स्थलगत अवलोकन गरेका छन्। अवलोकनका क्रममा उनले सो स्थानमा नयाँ पुलका निर्माणका लागि पहल सुरु भइसकेको बताएका छन्।

साउन महिनामा आएको बाढीले विरिङ खोलाको पुल भाँचिएको थियो। उक्त पुल भारतीय राजदूतावासको सहयोगमा विसं २०६४ मा निर्माण भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले जानकारी दिएका छन्। 

प्रकाशित मिति: : 2023-09-26 22:29:00

प्रतिकृया दिनुहोस्