विश्वकर्मा र राईले आफ्नाे विवाह खर्च कटाएर गरे विद्यालयमा अक्षयकोष स्थापना

दाङमा एक जोडीले विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्।

बंगलाचुली गाउँपालिका–१ स्युजाका गणेश विश्वकर्मा र ओखढुंगाकी पवित्रा राईले विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन्। 

आफूले एसएलसी पास गरेको महेन्द्र माध्यमिक विद्यालय स्युजामा रु ५० हजार राशीको अक्षयकोष स्थापना गरेको विश्वकर्माले बताए।

‘विवाह देखावटी बन्दै गएको छ। तामझामको नाममा खर्च गर्ने प्रवृत्ति बढ्दो छ’, जनप्रतिनिधिसमेत रहेका विश्वकर्माले भने, ‘समाजमा हामीले राम्रो नगरे कसले गर्ने? त्यसैले खर्च कटाएर अक्षयकोष स्थापना गरेका हौँ।’

उक्त अक्षयकोष वार्षिक परीक्षामा सर्वोत्कृष्ट हुने एक–एक जना छात्र, छात्रालाई प्रत्येक वर्ष जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने गरिने छ।

विश्वकर्मा र राईले विवाह कुनै सामाजिक परम्पराअनुसार भन्दा पनि कानुन रुपमा गरेका छन्। जिल्ला अदालत दाङबाट उनीहरुले अदालती विवाह गरेका हुन्। अन्तरजातीय विवाह भएपनि दुबै जनाको परिवारकै सहमतिमा विवाह भएको हो।

विश्वकर्मा हाल बंगलाचुली गाउँपालिकाको गाउँकार्यपालिका सदस्य र स्थानीय तहको न्यायिक समितिका सदस्य समेत हुन्। उनी दलित अधिकारकर्मी र नेपाली कांग्रेस दाङको युवा नेता पनि हुन्।

प्रकाशित मिति: : 2023-09-22 11:49:00

प्रतिकृया दिनुहोस्