मन्त्री बनाइदिन्छु भनेर रास्वपाकाे ‘काेर टिम’ले तीन करोड माग्याे (भिडियाेसहित)

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद् ढाकाकुमार श्रेष्ठले ‘स्वास्थ्यमन्त्री बनाइदिने आश्वासन दिएर’ आफूसँग तीन करोड माग्ने केन्द्रीय सदस्य मोहनजंग थापा र सभापति रवि लामिछानेकाे ‘काेर–टिम’बारे नयाँ खुलासा गरेका छन्।

विवादित मेडिकल व्यापारीसँग ‘घुस’ मागेको अडियाे बाहिरिएपछि सांसद् पद गुमाएका ढाकाकुमारले ‘स्पेस फाेर–के टेलिभिजन’सँगको अन्तर्वार्ताका क्रममा आफूसँग पैसा माग्ने रास्वपा केन्द्रीय सदस्य थापा र उनको टिम भएको बताएका छन्।

रास्वपाका केन्द्रीय सदस्य थापाले आफूनिकट मान्छेलाई काठमाडाैँस्थित सामाखुशी पठाएकाे र त्यहाँ भेटेर पैसाको डिमाण्ड गरेको उनले नयाँ खुलासा गरेका हुन्।

‘तपाईं मन्त्री बन्ने कन्फर्म भइसकेको छ’ भन्दै सभापति लामिछानेकाे काेर टिमका सदस्यसमेत रहेका थापा र उनकाे समूहले तारन्तार फोन गरेपछि आफू रकम व्यवस्थापनमा लागेको प्रष्टीकरण दिएका छन्। ‘पैसाको कुरा चल्यो, त्यतिखेर मलाई पैसा चाहिएको थियो,’ उनले भने।

अडियोमा पूर्वसांसद् श्रेष्ठले स्वास्थ्यमन्त्री बन्नको लागि पार्टीको कोर टिमले तीन करोड मागेको पटकपटक स्पष्ट पारेका छन्। रास्वपाकाे कोर टिम र घुस प्रकरण सेलाउनैलाग्दा ढाकाकुमारले लामाे समय अमेरिका बसेर फर्किएका रास्वपा नेता थापाकाे समूहले पैसा मागेको बताएका छन्।

‘मलाई दौरा सुरुवाल लगाएर तयार हुनुहोस्, म्याडमलाई बोलाउनुहोस्, आफन्तहरूलाई बोलाउनुहोस्, भोलि मन्त्रीको शपथ हुनेवाला छ। रेडी हुनुहोस्, ढुक्क हुनुहोस्, तपाईं मन्त्री बनिसक्नुभयो। तर, त्यसका लागि हामीलाई तीन करोड चाहिन्छ, पार्टीलाई सहयोग चाहिन्छ भनेर उहाँ (माेहनजंग थापा)ले माग्नुभयो,’ श्रेष्ठले भने।

प्रकाशित मिति: : 2023-09-11 22:08:00

प्रतिकृया दिनुहोस्