अधिवेशनले मलाई नै सर्वसम्मत निर्वाचित गर्छः हरि रिजाल (अन्तर्वार्ता)

हरि रिजाल राजनैतिक आन्दोलन र संघर्षबाट खारिएका कुशल संगठक र जुझारुका चिनिन्छन्। विस २०२२ सालमा प्युठानमा जन्मिएका रिजाल २०३७ सालमा अनेरास्ववियू प्युठानको अध्यक्ष बने। २०३८ सालमा प्युठानमा तत्कालीन नेकपा मालेको सम्पर्क व्यक्तिका रुपमा काम गरे। 

विद्यार्थी राजनीतिपछि गाउँ कमिटीको सचिव, इलाका कमिटी सचिव हुँदै जिल्ला नेतृत्वमा उनी पुगेका हुन्। २०६४ सालमा भएको जिल्ला अधिवेशनबाट उनी जिल्ला सचिव भए। त्यसपछि जिल्ला अध्यक्ष भएका उनी अहिले पार्टीको केन्द्रीय सदस्य हुन्। 

२०५४ सालमा जिल्ला विकास समिति प्युठानको उपसभापति निर्वाचित भएका रिजाल २०७४ सालमा भएको चुनावमा प्रदेशसभा सदस्यमा निर्वाचित भए। २०७८ सालमा लुम्बिनी प्रदेश सरकारको ग्रामीण तथा शहरी विकास मन्त्री भई काम गरेका उनलाई नजिकबाट चिन्नेहरू काममा खरो र खट्ने नेताका रुपमा चिन्छन्। 

प्यूठानमा पार्टीलाई ग्रासरूटमा पुर्याउन महत्त्वपूर्ण योगदान दिने रिजाल नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्षका आकांक्षी हुन। अर्का लुम्बिनीको अध्यक्षको आकाँक्षि राधाकृष्ण कँडेल छन्। कँडेल प्रकश कमिटी सदस्य हुन्। 

हामीले केन्द्रीय सदस्य छाडेर प्रदेशको नेतृत्वमा आउन लागेका रिजालसँग संक्षिप्त कुराकानी गरेका छौँ। 

नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा उम्मेदवारी दिँदै हुनुहुन्छ? यहाँको उम्मेदवारी किन? 

यतिबेला हामीहरू नेपाल कम्युष्टि पार्टी (एमाले)को लुम्बिनी प्रदेश अधिवेशनमा होमिएका छौं। पार्टी जीवनमा अत्यन्तै महत्त्वपूर्ण हुने गर्दछन् अधिवेशन। यही कुुरालाई आत्मसात गर्दै हामी अधिवेशनलाई भव्य बनाउन लागिपरेका छौं। 

सर्वप्रथम म अधिवेशनका लागि पाल्नुभएका पार्टीका आदरणीय नेता कमरेडहरू, जिल्ला–जिल्लाबाट पाल्नुभएका प्रतिनिधि कमरेडहरूलाई लुम्बिनी प्रदेशको सुन्दर नगरी बुटवलमा स्वागत गर्दछु। बुटवलमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मध्यान्न साढे १२ वजे हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुहुनेछ।

अधिवेशन भनेपछि नेतृत्व चयनको विषय आउनु स्वाभाविकै हो। प्रदेशभित्रका अग्रज नेता कमरेड र जिल्ला जिल्लाका प्रतिनिधि कमरेडहरूको आग्रह र शुभेच्छाले प्रदेश कमिटीको नेतृत्वमा होमिएको छु ।  

दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको व्यक्तिको रोजाइमा प्रदेश कमिटी किन? 

यहाँले सान्दर्भिक सन्दर्भ जोड्नुभयो। म दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको हुँ। हामी राजनीतिकर्मीहरूका लागि आफ्नो भन्दा पनि कार्यकर्ताको इच्छा र माग महत्त्वपूर्ण हुँदो रहेछ। पार्टी र कार्यकर्ताहरूले सुम्पिएको जिम्मेवारी बहन गर्नु नै हाम्रो कर्तव्य हो। 

यस पटक लुम्बिनीका पार्टी नेता र कार्यकर्ताहरूको चाहना प्रदेशको नेतृत्व हरि रिजालले गर्देओस् भन्ने रहेको पाएँ। म आफ्नो भन्दा पनि नेता कार्यकर्ताहरूको इच्छा, आकांक्षा र चाहनालाई आत्मसात गर्दै अगाडि बढेको व्यक्ति हुुँ। सोही अनुरुप प्रथम अधिवेशनमा मैले प्रदेश नेतृत्वका लागि आफूलाई तयार पारेको जानकारी गरराउँछु। 

अर्को कुरा हामी जुन कमिटीमा भए पनि जनता र कार्यकर्ताहरूको काम गर्ने हो। माथिल्लो र तल्लो कमिटीले त्यति महत्त्व राख्छ जस्तो लाग्दैन मलाई। लुम्बिनी प्रदेश कम्युनिष्ट आन्दोलनको उर्वर भूमि हो। यहाँ धेरै सम्भावना छन्। यो क्षेत्रले सवल र सक्षम नेतृत्व खोजी रहेको छ। 

मैले यहाँको अभाव पुरा गर्न सक्छु भन्ने दावीका साथ म नेतृत्व दावी गरिरहेको छु। मलाई विश्वास छ–आदरणीय नेता कमरेडहरू र प्रतिनिधि कमरेडहरूले यो विषयलाई गम्भीरताका साथ लिइदिनुहुनेछ। 

प्रदेशको नेतृत्वका लागि तपाईसँगै अर्का राधाकृष्ण कँडेल पनि आकाँक्षि हुनुहुन्छ।  सर्वसम्मत नेतृत्व चयनको सम्भावना कति छ?

अवश्य पनि। प्रदेशको आवश्यकताकै आधारमा मैले नेतृत्व दावी गरेको हो। माथिल्लो कमिटीका लागि हानथाप चलिरहँदा मेरो रोजाइमा तल्लो कमिटी पर्नुले पनि यो कुरा प्रमाणित गर्छ जस्तो लाग्छ। 

अब रह्यो नेतृत्व चयनको कुरा, मेरो नाममा सहमति हुन्छ भन्ने कुुरामा म विश्वस्त छु। प्रदेशका अग्रज आदरणीय नेता कमरेड र प्रतिनिधि कमरेडहरूले यो कुरालाई गम्भीरताका साथ लिनुहुन्छ भन्नेमा म विश्वस्त छु। 

तपाईंले सर्वसम्मतको दावी गरिरहँदा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी आइरहेका छन्। पक्ष–विपक्ष भएर यहाँहरू छरपष्ट हुनुभएको छ। यस्तो अवस्थामा नेतृत्वमा सर्वसम्मत होला त?

यहाँले भनेजस्तै मैले पनि सञ्चार माध्यम र सामाजिक सञ्जाल हेरिरहेको छु। अध्ययन गरिरहेको छु। अधिवेशनको मुखमा नेतृत्वका लागि आकांक्षा बढ्नु स्वाभाविकै पनि हो। 

एमाले जस्तो जिवन्त पार्टीको नेतृत्वमा आउन खोज्नु स्वागतयोग्य विषय पनि हो। नेतृृत्व चयन गर्ने बन्दशत्रले हो। बन्दशत्रबाट मलाई प्रदेश नेतृत्वमा आम प्रतिनिधिहरूले चयन गर्नुहुनेमा म विश्वस्त छु। 

यहाँको उम्मेदवारी दावी बार्गेनिङका लागि हो भन्ने पनि सुनिन्छ नि?

यो एमदमै गलत कुरा हो। मैले पार्टीमा कहिले पनि पदको बार्गेनिङ गरिनँ। त्यस्तो कतै भेटाउनुभयो भने म जस्तोसुकै कारबाही पनि भोग्न तयार छु। प्यूठानमा पार्टी कामममा सक्रिय भइरहँदा पार्टी नेतृत्वले २०४१ सालमा मलाई डोल्पा पठायो। 

नेतृत्वको निर्देशनलाई स्वीकार गर्दै विस २०४१ सालमा डोल्पा पुगेँ। पार्टीको संगठन शून्य रहेको डोल्पामा। दुई वर्ष बसेर तत्कालीन माले विजारोपण गरेर फर्किएको हुँ। त्यसयता थुप्रै पटक पार्टी नेतृत्वले सुम्पिएको जिम्मेवारी बहन गर्दै यहाँसम्म आइपुगेको छु। 

पार्टीलाई वैचारिक र सांगठानिक ढंगले आक्रामक रुपमा अघि बढाउन म प्रदेश अध्यक्ष हुन लागेको हुँ। पार्टीलाई नयाँ शिराबाट अघि बढाउँदा मात्रै पार्टी संगठन चलायमान हुन्छ। चलायमान संगठनले मात्रै पार्टी अघि बढ्न सक्छ भन्ने मेरोे मान्यता रहेको छ। 

कम्युनिष्ट पार्टीको अधिवेशनमा नीति कम गुटबन्दी बढी भयो भनिन्छ। के यो साँचो हो?

अवश्य पनि यहाँले भनेको कुरामा म सहमत छु। कम्युनिष्ट आन्दोलनकको अगुुवा पार्टी नेकपा एमालेमा नीतिमा बहस हुनुपर्छ। नीतिमा बहस गर्ने थलो केन्द्रीय महाधिवेशन हो। हामीले दशौं महाधिवेशनमा नीतिमा बहस गर्यौ। 

अझ नेपाली राजनीतिमै नौलो अभ्यास गर्दै महाधिवेशनपूर्व नै विधान अधिवेशन गर्यो। दशौं महाधिवेशनको नीति र स्पिट अनुसार नै हामी अगाडि बढेका छौं। यो प्रदेश अधिवेशन भएकाले यहाँ नेतृत्वले प्राथमिकता पाउनु स्वाभाविकै हो।

प्रकाशित मिति: : 2023-09-02 10:45:00

प्रतिकृया दिनुहोस्