सर्वेन्द्र खनालविरूद्ध फैलाइएका भ्रामक खबरहरूको खण्डन

नेपाली अनलाइन पोर्टलहरूमा प्रकाशित ‘कपोलकल्पित, पूर्वाग्रही र भ्रमपूर्ण’ समाचारप्रति पूर्वप्रहरी महनिरीक्षक तथा नेकपा (एमाले)का नेता सर्वेन्द्र खनालले आपत्ति जनाएका छन्।

‘६० केजी सुन तस्करी प्रकरणः पक्राउ पर्नै लाग्दा भागेर अमेरिका पुगे एमाले नेता खनाल!’ जस्ता भ्रामक शीर्षक राखेर छापिएका समाचारको उनले खण्डन गरेका छन्।

पूर्वप्रहरी महनिरीक्षक खनालले आफू नीजि कामको सिलसिलामा अमेरिकामा रहेको समयमा आफ्नो चरित्र हत्या गर्ने सुनियोजित उद्देश्यले उक्त समाचार प्रकाशित गरिएको बताएका छन्।

‘समाचार कपोलकल्पित, भ्रमपूर्ण र बेइमानीपूर्ण भएकोले त्यसको खण्डन गर्दै उक्त अनलाइनविरुद्ध कानुनी कारबाहीका लागि अघि बढेको मेरा सबै शुभचिन्तक र पार्टी पंक्तिमा जानकारी गराउन चाहन्छु,’ उनले बिएल नेपाली सेवासँग भने।

अमेरिकाबाटै प्रेस काउन्सिलमा पनि उजुरी दिने र आवश्यकता अनुसार उक्त अनलाइनलाई कानुनी दायरामा ल्याउन नेपाल फर्किनासाथ अघि बढ्ने बताउँदै खनालले भने, ‘मैले प्रहरी सेवामा प्रवेश गरेदेखि प्रहरी महानिरीक्षक बनेर काम गर्दासम्म कहिल्यै पनि नियम कानुन संविधानको बर्खिलाप हुनेगरी कुनै काम गर्दा पनि गरिनँ र गर्न पनि दिइनँ। त्यसै कारण गैरकानुनी काम गर्ने, ठगी धन्दा चलाउनेहरू मेरा विरुद्ध लागि नै रहे।’

सम्बन्धित अनलाइन पोर्टललाई झुटो समाचारको खण्डन प्रकाशित गरेर आफू र आफ्नो परिवारसहित शुभचिन्तकहरूलाई पर्न गएको मानसिक तनाबबाट अलिकति भएपनि राहत हुने काम गर्न र पत्रकारिताको आवरणमा मनपरी नगर्न चेतावनी दिँदै उनले भने, ‘यसमा सरोकारवालाहरूले पनि उक्त अनलाइन पोर्टललाई नैतिक दबाब दिन बिनम्र अनुरोध गर्दछु। प्रहरी सेवामा रहँदा मैले कुनै गैरकानुनी काम गरेको पनि छैन र यदि कहीकतैबाट त्यस्तो प्रमाणित हुन्छ भने म देशको प्रचलित नियम कानुन संविधान अनुसार कारबाही भोग्न तयार छु।’

प्रकाशित मिति: : 2023-08-29 07:07:00

प्रतिकृया दिनुहोस्