रूसको एक निजी सैन्य कम्पनी 'वागनर' समूहका प्रमुख येवगेनी प्रिगोजिन एक विमान दुर्घटनामा मारिएको समाचार बाहिरिएको छ ।
रूसको राजधानी मस्कोबाट सेन्ट पिटर्सबर्ग गइरहेको जहाज बुधबार राति दुर्घटनाग्रस्त भएको थियो । जहाजमा प्रिगोजिन पनि रहेको रूसी नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै सीएनएनले जनाएको छ।
लामो समयदेखि रूसका लागि युक्रेनविरूद्ध लडिरहेको 'वागनर' समूहले गत असारमा रूसकै विरूद्ध हतियार उठाएर रोस्तोव र भरोनेजमा रहेको सैन्य क्षेत्र नियन्त्रणमा लिएको थियो ।
पछि उनले रूसी राष्ट्रपति पुटिनका मित्रसमेत रहेका बेलारूसका राष्ट्रपति लुकाशेन्कोसँग वार्ता गरेर विद्रोह रोकेका थिए । त्यसपछि बेलारूसमा शरण लिएका उनी रूसी राष्ट्रपति पुटिनको आँखाको कसिङ्गर बनेका थिए । र, कुनै पनि बेला मारिनसक्ने सम्भावित सूचीमा थिए ।
प्रिगोजिन चढेको जहाज दुर्घटनाग्रस्त हुनुमा पनि पुटिनको हात हुन सक्ने आशंका गरिएको छ । तर, त्यसको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
पुटिन जन्मिएको सहर सेन्ट पिटर्सबर्गकै प्रिगोजिनले ‘हट डग’ बेचेर व्यवसायमा हात हालेका थिए । महंगा रेष्टुरेन्ट हुँदै केटरिङ कम्पनी खोलेर राष्ट्रपति भवनमा खाना सप्लाई गर्ने प्रिगोजिनलाई धेरैले पुटिनको सेफ पनि भन्ने गर्छन् ।