साहित्यमा लेखिएको एउटा युगान्तकारी त्यही नाम थियो बिपी, जो नेपाली राजनीतिक इतिहासका पानाहरूमा उत्तिकै अजर अनि अमर छ। आधुनिक नेपालको नेतृत्वकर्ता अर्थात् उनै राजनेता बिपी यो धर्तीमा जन्मिएको दिन भदौ २४। नेपाली राजनीतिको त्यो एउटा यस्तो दीयो थियो, जो निभेर पनि त्यसको उज्यालो सधैं नै उत्तिकै चम्किलो रहिरहनेछ। एक जुगमा एकचोटीमात्रै जन्मिन्छन् यस्ता ‘महामानव’हरू जो इतिहासका हरेक पानाहरूका परिपूरक भइरहन्छन्, बिपी नेपाली समाजको एउटा त्यस्तै बिम्ब हो जो कहिल्यै मेटिदैंन।
प्रजातन्त्रका लागि फुट्दै गरेका आवाजहरू थुन्नका लागि तत्कालीन राणा शासकहरूले ‘देशद्रोह’को बिल्ला भिराएर त्यो बेला धेरै योद्धाहरूलाई देश निकाला गरेका थिए। तीमध्ये एक थियो कृष्णप्रसाद कोइरालाको परिवार। माता दीब्या कोइरालाको त्यही ‘प्रवासी’ कोखमा विसं १९७१ साल भदौ २४ गते जन्मिएको एउटा जीवन थियो- नेपालको समाजवादी आन्दोलनको एउटा अजर वृक्ष अर्थात् विशेश्वरप्रसाद(बिपी) कोइराला।
ब्रिटिस शासनको पिंजडाभित्र थुनिएको भारत स्वतन्त्र हुनका लागि आन्दोलनको पखेटा फिंजाइरहेको थियो। त्यो समयमा भारतीय भूमिमै जन्मिएका बिपीको लालनपालन र शिक्षादिक्षा भारतमै भयो। त्यो भनेको विश्वव्यापीरुपमा प्रजातान्त्रिक आन्दोलनको लहर चलेको युग थियो। यसकारण बिपी आफैंमा त्यो युगको हुरीमा जन्मिएका पात्र हुनुहुनुथ्यो। कलिलै उमेरमा राजनीति र प्रजातन्त्रसँग पौठेजोरी कसेका बिपीले नेपालमा पनि समाजवादको एउटा यस्तो मार्गचित्र कोरेका छन् जो अहिलेको राजनीतिक बाटो पनि बनेको छ। यस हिसाबले बिपी एक युगको मात्रै होइन, युगौंयुगद्रष्टा पनि हुन् जसको त्यो समयको राजनीतिक दृष्टी आजको बाटो बनेको छ।
२०४ वर्षे राणा शासनको अन्त्यपछि पहिलोपटक २०१५ सालमा निर्वाचन भयो। राजनीतिक इतिहासमा नेपालमा भएको यो पहिलो आमचुनाव थियो। यही चुनावमा बहुमत ल्याएर बिपी देशकै पहिलो जननिर्वाचित प्रधानमन्त्री भए। तर सत्तामा हर्ताकर्ता हुन नपाएको दरबारका आँखा लागे र २ वर्ष पनि नपुग्दै जननिर्वाचित सरकार अदस्त गरेर दरबार आफै कार्यकारी हुनपुग्यो।
देश बनाउने बिपीको हुटहुटी र त्यो सपनामाथि राजा महेन्द्रले तुषारापात गरिदिए। पहिलोपटक जननिर्वाचित प्रधानमन्त्रीले आफैले लडेर ल्याएको प्रजातान्त्रको पूर्णअभ्यास गर्नै पाएनन्। २०४ वर्षे राणा शासन अन्त्यका लागि बलिदान दिएका जनताका अधिकारमाथि फेरि राजा महेन्द्रले लोभीपापी आँखा लगाए। २०१७ साल पुस १ गते महेन्द्रले जनताका सारा मौलिक अधिकार खोसेर आफै कार्यकारी भएर देशको शासनसत्ता चलाउन थाले। जनताले निर्वाचित गरेका विपीहरूलाई धमाधम जेल हाल्न थाले।
राजनीतिक जीवनका करिब १५ वर्षहरू विपीले जेलमै बिताए। त्यसबीचका करिब ८ वर्षजति उनको जीवन निर्वासित रह्यो। जेल होस् या निर्वासन विपीले हरपल राजनीतिक जीवन नै बाँचे। राजनीतिकै लागि लड्नुभयो। जनताका अधिकारका लागि शासकसँग जीवनभरि लडिरहे। १८ महिने उनको प्रधानमन्त्रित्वकाल एउटा प्रजातन्त्रका लागि स्वर्णकाल पनि थियो। देशको आधुनिकरण अनि विकासको एउटा प्रस्थानबिन्दुमात्रै थिएन बरु त्यो प्रस्ट दृष्टीकोण र दूरदृष्टीपूर्ण राजनीतिको एउटा सुरुवात पनि थियो। जहाँ समाजवादको मौलिकीकरण अनि सिद्धान्तको राजनीतिको गर्भरचना थियो। त्यो नै बिपी चिनाउने एउटा बिम्ब बनेको छ नेपाली राजनीतिमा।
आफूले बाँचेको जीवनका ६८ वर्षमध्ये बिपीले १३ वर्ष नेपालका जेलमै बिताएका थिए। ४ वर्ष भारतका जेलमा कोचिनुपर्यो। देशनिकाला भएको कोइराला परिवार प्रवासमै रहँदा जन्मिएका बिपी कोइरालाले २००७ सालदेखि २०१७ सालसम्म १० वर्ष र २०३३ देखि २०३९ साल सम्मको ६ वर्ष गरी जम्मा १६ वर्षमात्रै देशभित्र खुल्ला जीवन बिताउन पाए। देशको कार्यकारी नेतृत्वकर्ता भएर उनले नेतृत्व गरेको करिब १८ महिनामै पनि देशको एउटा भविष्यरेखा कोरिएको थियो। बिपीले छोडेका तिनै पदचापहरूको बिजारोपण हो- नेपाली काँग्रेस।
२००७ सालको क्रान्तिपछि नेपाली काँग्रेसलले अभ्यास गरेको यो छोटो सत्ताभ्यास थियो। त्यो बेला नेपाली काँग्रेसले अख्तियार गरेका धेरै नीतिहरू काँग्रेसको गर्भसिद्धान्त अर्थात् समाजवादी दर्शनकै बिम्बहरू थिए। त्यसअघि बीरगञ्जमा सम्पन्न नेपाली काँग्रेसको छैठौं महाधिवेशनले प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई पार्टीको मूल सिद्धान्तका रुपमा प्राणप्रतिष्ठा गरेको थियो। यही महाधिवेशनमा बिपीले प्रस्तुत गरेको समाजवादी समाज निर्माणका लागि राष्ट्रिय योजना समिति निर्माण गर्नेलगायत विभिन्न १८ वटा प्रस्तावहरू पारित गरेको थियो। बिपीले त्यो महाधिवेशनमा प्रस्तुत गरेको ‘समाजवादी’ घोषणापत्र पढेपछि तत्कालीन सभापति शुवर्णसमशेरले ‘हामीले समाजवादी व्यवस्था मात्र नेपालको बाटो हुनसक्दछ भनी आफ्नो लक्ष्य बनाएका छौं। समाजवादी व्यवस्था प्रजातन्त्रात्मक साधन र उपायबाट प्राप्त गर्न संकल्प गरेका छौं’ भनेर कार्यकर्ताहरूलाई सुनाएका थिए। जसको जगमा अहिले पनि नेपाली काँग्रेस बाँचिरहेको छ। बिपीलाई आधारभूत मानवीय मूल्य भनेको समानतामा आधारित सिद्धान्त हो र यो प्रजातान्त्रिक पद्धति र समाजवादबाट हासिल हुन्छ भन्ने दृढ विश्वास थियो। बिपीको यही दृढता आज नेपाली राजनीतिको एउटा मार्गसिद्धान्त बनेको छ।
कुनै बेला कम्युनिस्टहरूको विश्वव्यापीरुपमै जगजगी थियो। कम्युनिष्टहरूले जन्माएको गर्भनारा ‘साम्यवाद’को अभीष्टले एकप्रकारले भन्ने हो भने विश्वभरि नै उथलपुथल थियो। कहिल्यै पुग्ननसकिने गन्तव्य तय गरेका कम्युनिष्ट आन्दोलनले नेपाललाई पनि नछोएको होइन तर बिपीको ‘मेलमिलाप’को सिद्धान्तले ती सबलाई एउटै मालामा गोलबद्ध गरिदियो। त्यसबाट नेपालको कम्युनिष्ट आन्दोलन पनि जडशूत्रवादी अर्थात् रुढीवादी हुन पाएन। बिपीको त्यही दर्शन हो आजका कम्युनिष्टले अपनाएको ‘समाजवादी’ बाटो।
तर समाजवादको त्यही गर्भसिद्धान्तबाट जन्मिएको नेपाली काँग्रेसले आज हिँडिरहेको बाटोले कहाँ पुर्याउने हो स्वंय आजका नेतृत्वकर्ता काँग्रेसीलाई पनि कुनै भेउ छैन। त्यतिबेला बिपीले भन्नुभएजस्तै आजको नेपाली समाजलाई समृद्धिको लक्ष्यसम्म पुर्याउनका लागि नेपाली काँग्रेसले नै ‘समाजवादी’ आन्दोलनको नेतृत्व गर्नैपर्छ। तर त्यसका लागि काँग्रेसको नेतृत्व आफैमा कस्तो छ भन्ने प्रश्न रहन्छ। बिपीका नारा र समाजवादको मन्त्र पढेर अनि कोरा अक्षरहरूमा बिपीको नाम पुकारेर उहाँले देख्नुभएको सपना र उहाँले हाम्रो काँधमाथि छोडेर जानुभएको लक्ष्यको भारीलाई हामीले गन्तव्यसम्म कहिल्यै पुर्याउन सक्दैनौं।
हरेक मान्छे आफैमा पूर्ण हुनसक्दैन। त्यो कतै न कतै अपूर्ण रहन्छ। सबै सपनाहरू पूरा पनि हुँदैनन्। सबै लक्ष्यहरू पछ्याएर पनि गन्तव्यमा पुगि नै हालिन्छ भन्ने होइन तर हामीले पछ्याएका लक्ष्यहरू ढगमगाउनुहुँदैन। हामीले चालेका पाइलाहरू लरखराउनुहुँदैन। बिपी व्यक्तिभन्दा बढी बिचार हो। बिचारभन्दा पनि अग्लो उनको समाजवादी आन्दोलन र सपना हो। हाम्रा पदचापहरूले अब ती आन्दोलन र सपनाका पाइलाहरू पछ्याउनुपर्छ। उनको बिचारवरिपरि हामीले जुन राजनीति गरिरहेका छौं। जस्तो बाटो रोजिरहेका छौं वा जस्तो संसार र समाजको परिकल्पना गरिरहेका छौं मात्रै उनले छोडेका केही पदचापमात्रै नछोड्ने हो भने हामी त्यो लक्ष्यमा पुग्नसक्छौं। त्यसका लागि बाटो देखाउने कर्ताचाहिँ गतिलो हुनैपर्छ। मात्रै बर्षका दुई दिन बिपीका तस्बीरहरू फूलमालाले ढाक्दैमा वा अवीर खन्याउँदैमा बिपीका सच्चा अनुयायी बनिरहन सकिदैंन।
आज हामी बिपीलाई नानाथरि उपमाहरू दिएर सम्झिरहेका छौं। उनलाई गाली पनि गरिरहेका हुन्छौं। तर सच्चा दिल र दिमागबाट बिपीलाई कहिल्यै हटाउन सक्दैनौं खासगरी उहाँको लक्ष्यलाई पछ्याउने र उहाँको आदर्शलाई अनुशरण गर्ने कम्तीमा एउटा राजनीतिज्ञले। उहाँलाई हामी ‘महामानव’ पनि भन्छौं। कतिले त उहाँलाई भगवानै मान्छन्। बिपी एक मानव नै हुन्। मानवजातिलाई आफ्नो जीवनको मार्गदर्शन गर्ने एक महामानव। उहाँ एक मानव हो तर अनेक प्रतिभा र क्षमता भएको। जसका प्रतिभा र क्षमतालाई आजको एउटा सामान्य मान्छेले कहिल्यै भेट्न र मेट्न पनि सक्दैन।
बिपीले बाँचेको एउटा युग बितिसकेको छ। तर उनले त्यो युगमा देख्नुभएको त्यही एउटा राजनीतिक सपना आज पनि युगीन सपना बनेको छ। भोलि पनि बनिरहनेछ। मात्रै हामीले हामी हिँडिरहेका पाइलाहरू लरखराएनौं भने। बिपीले यो धरती छोड्नुभएको आज ४२ वर्ष पुगिसकेको छ। तथापि हामीलाई उनले छोडिगएका कतिपय नीति, सिद्धान्त र आदर्शहरू युगौंयुगसम्म पनि हामीसँगै रहनेछन्।
१११ औं जन्मजयन्तीमा महामानव बिपीप्रति हार्दिक श्रद्धासुमन…।