केदारनाथ महाेत्सवमा आउन सिंजाकाे निम्ताे

जुम्लाको सिंजा गाउँपालिकामा रहेकाे केदारनाथमा महाेत्सवको आयाेजना हुने भएकाे छ।

सिंजा गाउँपालिका-४ मा अवस्थित केदारनाथ असली हुँदाहुँदै प्रचार नहुँदा भक्तजनहरु भारतमा जानाले विभिन्न खाले दुर्घटना बेहोर्नुपर्ने परेकाे भन्दै महाेत्सवकाे तयारी थालिएकाे हाे।

महाेत्सवकाे उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्ने सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण धितालले बताएका छन्।

उनका अनुसार हरेक वर्ष भदौ १० गतेका दिन लाग्ने उक्त मेलालाई यस वर्ष देशव्यापी बनाउन लागिएकाे छ। उनले भने, 'महोत्सव सफल पार्न पवित्रस्थल केदारनाथ बुदबुदीमा सिंजा गाउँ कार्यपालिकाको बैठक सम्पन्न भई तयारी थालिएकाे छ।'

ऐतिहासिक तर लुकेको केदारनाथ धार्मिक क्षेत्रलाई विश्वभर प्रचारप्रसार गर्न तथा राज्यलाई साँचाे केदारनाथ कर्णालीकाे सिंजा गाउँपालिकामा छ भनेर देखाउन ऐतिहासिक महोत्सव गर्न लागिएको हो।

महोत्सव स्थलमा मन्त्री किरातीसहित भूमि व्यवस्था‚ कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा, जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु, राजनीतिक दलका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, धार्मिक अगुवाहरु, तीर्थायात्रीहरुको सहभागिता हुने मंगलबार सिंजा गाउँपालिकामा एक पत्रकार समम्मेलनकाे आयाेजना गरेर जानकारी दिइएकाे छ।

प्रकाशित मिति: : 2023-08-22 15:21:00

प्रतिकृया दिनुहोस्