गुठीगाउँमा बिहान साडे तीन बजे ब्युँझिएँ। माेबाइलकाे अलराम अफ गरेकाे थिएँ, तैपनि त्यतिबेला नै ब्युँझिदा लाग्याे बानी परिसकेकाे रहेछ। पढाउन जानुपर्ने थिएन। त्यत्तिकै बसिरहुँ कसरी ? गुठीचाैर गाउँपालिका एक र दुईमा प्रचलित सामूहिक कामकाे संस्कृतिबारे एउटा समाचार लेखें। दिउँसाे नेट चलेकाे ठाउँबाट पठाउने साेचेर।
सामूहिक काममा संलग्न हुनेहरुलाई हाैस्याउन पाका मान्छेले गर्ने आह्वानकाे अनुप्रास गज्जबकाे रहेछ। जुन यस्ताे छ:
हस्ते, हस्ते,
हुम भुन विराै, विरै विराै।
बल गर विराै, बलिका छाेराै।
अघिल्ला विराै, पछिल्ला सुराैं।
बल गर्या चल्छ, सल्लाकाे भाट्टाे।
चलाया चल्छ, सल्लाकाे भाट्टाे।
हस्ते, बल गर विराैं।
तरुनी आइछन्, दहीचिउरा ल्याइछुन्।
गच्काउला गच्काउला।
पियाला जाँग्डा, पैतेला फर्काइछुन्।
याे अनुप्रासकाे समाचार बनाउन्जेल सात बजेछ। त्यतिबेलासम्म सबै जना उठिसकेका थियौं। चिया खाएपछि निस्किन लाग्दा दिउँसो खसी काटेर खानुपर्छ भन्ने सल्लाह भयाे। टिममा कसैले ल्याएकाे प्रस्ताव सिधैं लत्याइदिने काेही थिएन। याेजना सफल पार्न हामीले पैसा थप्याैं। खसी ल्याउने र काट्ने अनि खुवाउनेसम्मकाे काम टीकाजी र रतनजीबाट हुने भयाे।
अघिल्लो दिन उस्ताे भूमिकामा नदेखिएका टीकाजी अब एकाएक सक्रिय देखिनुभयाे। अघिल्लो भागमा आक्कलझक्कल चित्रित उहाँ अग्लाे कदकाे हुनुहुन्छ। गाेराे अनुहार, तिखा आँखा, चाैडा निधार, लाम्चाे नाक, फरासिलाे स्वभाव, खुल्ला दिल, हन्तर्हृदयबाट काम गर्ने बानीले उहाँलाई चित्रित गर्दा सुहाउँछ। याे भागमा उहाँ तुलनात्मक रुपमा बढी देखिनुहुनेछ।
राति काेदाेकाे लाेकल रक्सीले छ्याङकाेलकाे याेजना बनाउन सहयोग गरेकाे थियाे। छ्याङकाेलकाे यादले हाेला जिब्रो रसिलाे थियोे। रातभरमा हाम्रा दुईवटा साइकलकाे हावा फुस्किएछ। बनाउनुपर्ने आफैंले थियाे। आ-आफ्नाे सीप प्रयाेग गर्यौं। कसैका सीपले झन् बिग्रियाे त कसैका सीपले सप्रियाे। रामसिंह दाइकाे मेहनतले काम गर्यो।
तेजेन्द्रजी बिग्रिएकाे साइकलकाे टायरमा पनि नयाँ पाेज खाेज्दै हुनुहुन्थ्यो। शून्य आकारकाे टायर र रिङबाट चम्किलो सूर्यसँग लुकामारी गर्दै पाेज दिनुभयाे। डाहा लाग्याे, ‘साला हाम्रो दिमागमा यस्ताे आइडिया किन आउँदैन ?’
सिंगै भेडाे ढालेर मासुसँगै खाना खाने याेजना थियाे। साथीहरु जुटिसक्नुभएकाे थियाे। रतनजीकाे स्वयंसेवा सक्रियतापूर्वक विस्तार हुँदै थियाे। चिनेका साथी भेटिदा मात्रै हाेइन, उहाँ जसलाई पनि मन लगाएरै सहयोग गर्नुहुन्छ।
साइकल बनाउन अलि बढी टाइम लाग्याे। छ्याङकाेल छुट्ला जस्ताे भयाे। मनिसाँघु जाने कि नजाने दाेधार थियाे। जिब्रोले थुक निलेर घुटुक्क गरी छुकछुकायाे, छ्याङकाेल ‘छुट्ने भयाे’ भनि। टीकाजीले, ‘हामी अरु तयारी गरुन्जेल तपाईंहरु माथिबाट ठिक्क आउनुहुन्छ’ भनेपछि जिब्रो फेरि रसायाे।
मैले गाेठीचाैर गाउँपालिका वडा नम्बर एकका अध्यक्ष अर्जुनकुमार महतारालाई फाेन गरेर ‘छ्याङकाेल बनाउन लगाइदिनु पर्ला’ भनें। उहाँले, ‘बिहानै छ्याङकाेल ? लाग्ला त !’ भन्दै आश्चर्यभावमा साेध्नुभयाे। मैले ‘हामी पाँच जनाकाे साइकल टाेली छ बनाउन लगाइदिनु न खाने हाे,’ भनें।
फाेन राख्दै गर्दा एक मनले साेच्याे उहाँले हामीलाई नमाेद जँड्या पाे साेच्नुभयाे कि! अर्को मन साेचिरहेथ्याे जँड्याभन्दा पनि दुर्लभ चिजकाे स्वाद आफूले दाेहाेर्याएर लिने र साथीहरुलाई दिलाउने लाेभ पाे हाे त ! जस आफ्ना थाप्लामा आउने काम काे नगर्ला ? मुखभित्र भरिएकाे जिब्राेकाे रस घाँटी हुँदै पेटसम्म पुग्न उँधाे लाग्याे, हाम्रा साइकल उभाे लागे।
याेजना मुताविक झण्डै पाैने घण्टामा हामी मनिसाँघु पुग्यौं। यस बिचमा वडा अध्यक्षले दुई चाेटी फाेन गर्नुभयाे, ‘छ्याङकाेल तयार भयाे’ भनेर। डाेल्पा र जुम्लाको सीमाना पर्ने मनिसाँघुमा हिमाली भेगकाे रहनसहन र खानपिनकाे स्वाद चाख्न पाइन्छ।
त्यही खानपिनकाे एक उत्कृष्ट पेय पदार्थ थियाे, छ्याङकाेल। चिसा वियर, बहुराष्ट्रिय कम्पनीका विश्वचर्चित पेय पदार्थ छ्याङकाेलका अगाडि फिक्का लाग्छन्। हिमाली भेगले आफ्ना लागि तयार पाेरेकाे छ्याङकाेल हल्का पेय पदार्थकाे ब्रान्ड बन्न सक्नेमा दुईमत छैन। साइकल चडेर छ्याङकाेल खान मात्रै जाँदा एकदिन बास बस्नुपर्ने रहेछ। अरु सवारी साधन प्रयाेग गर्यो भने एकैदिनमा खाएर फर्किन पनि सकिन्छ।
याे बिचमा हामीले थुप्रै ठाउँकाे फाेटाे र भिडियो लियाैं। कृष्णजीले त काव्यात्मक शैलीमा भिडियाे बनाइसक्नुभयाे। यति सशक्त आँसु रचनाले युट्युब भरिसकेपछि लेखेर बेकारकाे गफलती के गरिरहनु नलागेकाे हाेइन। नमिल्दा र नमिठा शब्दको फुई कति लाउन ? सहकर्मीले यति उत्कृष्ट काम गरिसकेपछि कतै आफ्नाे लेखाइ फिक्का भइदिने पाे हाे कि ! भन्ने नलागेकाे पनि हाेइन। फेरि लाग्याे उहाँका दर्शक, मेरा पाठक। पाठक दर्शक र दर्शक पाठक पाे भइहाल्ने हुन कि! एक भाग लेखिसकेपछिकाे यात्रा अधुराे छाेड्नु पनि भएन।
फरफर फुरेकाे छुर्पी, त्यसैमा टाँसिएकाे अण्डा, जाँडकाे बसनासँग मह घुलिएपछि नयाँ बासना आइरहेकाे थियाे। पाँचवटा गिलास भरिए। हतारमा चियर्स नगरी खाएँ। साथीहरुले जिस्काउनुभयाे। सरिसरि भन्दै गिलास टाँसे, सिसाका गिलास जुधेपछिकाे कम्पन उत्पन्न भयाे। शरीरमा पुगेकाे छ्याङकाेलले बबाल ट्रिप दियाे। मनिसाँघुकाे हाेटेल सम्पूर्ण एण्ड रेष्टुरेन्टकी साहुनी ललिता महताराकाे सीपले हामी सन्तुष्ट भयाैं।
मन खुसी थियो, सगरमाथा चढेपछि हुने आराेहीकाे जस्ताे। छुट्टिने बेला वडा अध्यक्ष अर्जुनजीले साइकल चढ्नुभयाे। उहाँले पर्यटन प्रवर्धनमा सहयोग गरेकाेमा धन्यवाद दिनुभयाे। निकट भविष्यमा छ्याङकाेल, चाैरीकाे सुकुटी, यार्सागुम्बा खान पाइने चाेत्र हाेमस्टे संचालनमा आउन थालेकाे जानकारी दिनुभयाे। यसले गुठीचाैरमा पुग्ने पर्यटक चाेत्रसम्म जाने माहाेल सिर्जना हुनेछ। पालिकाकाे आफ्नाे आम्दानी हुनेछ। यसका निम्ति उहाँले चाेत्र हाेमस्टेकाे कार्यविधिसमेत बनाइसक्नुभएकाे छ।
फर्किने बेला तीन चार जनाले हाम्रो फाेटाे लिनुभयाे। त्यसमध्ये एक पुरानाे वडा अध्यक्ष गणेश ऐडी पनि हुनुहुन्थ्यो। उहाँले आफ्नाे क्षेत्रमा पहिलाेचाेटी काेही साइकल लिएर आउँदा निकै खुसी लागेकाे भन्नुभयो र धन्यवाद दिनुभयाे। अर्जुनजी र उहाँकाे रमाइलाे किस्सा छ, मनिसाँघुमा। जतिबेला उहाँ वडाअध्यक्ष हुनुहुन्थ्याे त्यतिबेला खड्गदेवी माध्यमिक विद्यालय मनिसाँघुकाे अध्यक्ष अर्जुनजी हुनुहुन्थ्यो। अहिले अर्जुनजी वडा अध्यक्ष हुनुहुन्छ उहाँ विद्यालय व्यवस्थापन समिति अध्यक्ष।
खड्ग महतारा जिम्मुवाल थिए भने देवी महतारा टिब्रिकाेट जिल्लाकाे सभापति। खड्ग र देवी दुई भाइकाे सक्रियताले बनेकाे स्कुल तथा उनीहरुकाे जन्मथलाेमा अहिले गणेश र अर्जुन स्वच्छ प्रतिस्पर्धा गर्दै व्यवस्थापन गर्न लागेका छन्। जडिबुटीले आत्मनिर्भर बनाएकाे उच्च हिमाली भेग विस्तारै विकासका पूर्वाधारसँग साक्षात्कार गर्दैछ। त्यसैले हाम्रा साइकल अधिकांश समय राजमार्गमा गुडे। राजमार्गमा गुडिरहेका साइकल गुठीचाैर पुग्न आँटेका थिए।
माधव दाइकाे अधिकांश समय फाेटाे र भिडियोमा बितिरहेकाे थियाे। त्यहीबेला उहाँले फाेनमा कसैसँग कुरा गर्नुभयो। निमन्त्रणा गर्नुभयो। फाेन राख्दा उज्यालिएकाे अनुहारले उत्साहकाे संचार प्रवाह गरिरहेकाे थियाे। राति गुठीचाैरमा महफिल सुरु हुँदै थियाे। बजारबाट हाम्राे टाेलीलाई ऊर्जा दिन गाडी लिएर टाेली आउने भयाे।
माधव दाइकाे फाेन अघिल्लो दिन मिठा चकलेट र बिस्कुट, अकबरे खुर्सानीकाे पिराे अचार दिएर हामीलाई बिदा गर्ने भानु अंकलसँग भएकाे रहेछ। भानु अंकल भएकाे ठाउँ उसै पनि रमाइलो हुन्छ। हामी भएकाे ठाउँ उहाँ आइदिने भएपछि खुसीको सीमा नाग्याे। घाम लागेकाे गुठीचाैरकाे मस्त वातावरणमा मन घमाइलाे भयाे। साइकल टलक्क टल्के। सिरसिर चलेकाे बतासले मन चंगा बनायाे। लाग्याे, चरीजस्तै उडेर गुठीचाैर नियालिरहेछु।
हामी अनेक नखरा देखाउँदै गुठीचाैर अवालाेकन गरिरहेका थियौं। तेजेन्द्रजीका पाेज झन् नाैला हुँदै थिए। रामसिंह दाइ देउडा गीत गाउँदै हुनुहुन्थ्यो।
आम पाक्यापै पुर्याइजा, स्याउ पाक्या खाइजाया।
उमाल लाग्या भेटिजाया, सउँराडी मेटिजाया।।
गीत एक, अर्थ अनेक। तराईका आँप पुर्याउन आउनु र स्याउ खानु उत्पादन सम्बन्ध र अर्थतन्त्रसँग जाेडिने कुरा हाे। उमाल र सउँराडी असिम प्यारसँग जाेडिन्छ। यति उत्कृष्ट भाव बाेक्ने देउडा साहित्यले कर्णाली भरिपूर्ण छ। त्यसैले त कृष्णजीकाे मनमा देउडा फुर्छ हाेला!
गुठीचाैरकाे पूर्वि किनारमा अहिले पनि एउटा गाउँ छ। बिहान देखिने फाँटिलाे भू–भाग, कलकल बग्ने नदी, सिरानमा टल्किरहने हिमाल देख्ने त्याहाँका मान्छे प्रकृतिले वरदान दिएकाे ठाउँमा बस्न पाएका छन्। उनीहरु अर्काे वर्षकाे लागि अन्न जुटाउन गहुँ छरिरहका थिए, कुदाे काेदालाे गरिरहेका थिए। प्रायः जसो मान्छेहरु बारीमा थिए।
अघिल्लो साँझ रतनजीले सुनाएअनुसार एकदिन त्यहाँका मान्छेले पालेका कुखुराहरु चर्दै हालका गुठीगाउँ पुगेछन्। त्यहाँ कुनै बस्ती बसिसकेको थिएन। जग्गा जमिन बनिसकेका थिएनन्। तर, कुकुरा त्यहाँ बस्न रुचाउन थालेछन्। कारण गुठीचाैरभन्दा त्यहाँ ताताे रहेछ। तातो लाग्ने ठाउँमा कुखुरा बसेकाे देखेर आधा मान्छेहरु त्यतै सरेछन्। गुठीचाैरका मान्छे सरेर बनेकाे गाउँकाे नाम गुठीगाउँ रहन गएछ। रतनजी त्यहीँकाे बासिन्दा हुनुहुन्छ। उहाँकाे मुखबाट तीन पुस्ता अगाडिकाे कुरा सुन्दा जुम्लाको बस्ती विकासबारेका राेचक किस्सामा एक याे गाउँकाे कथा थपिन सक्छ भन्ने लाग्याे।
पूर्वी किनारमा गाउँका मान्छेहरु बाली लगाउँदै थिए भने पश्चिम किनारकाे एक कुनामा हाम्राे साथी टीकाजी र रतनजीकाे टिमले खसी ढालेर हाम्राे लागि मिठाे भाेजन तयार पार्दै थियाे। बिस्तारै पुगेका हामीले साइकलमा कसरी त्यहाँसम्म पुगायाैं भनी आफ्नाे बयान आफैं गर्यौं। टीकाजीले खसी बाेकेर त्यहाँसम्म पुगेकाे कुरा राेचक ढंगले सुनाउनुभयाे। त्यसबेला लाग्याे हामी सब बहादुर हाैं।
पेटमा छ्याङकाेल मात्रै थियो। घडीमा तीन बज्न आँटिसकेकाे थियाे। पाेलेकाे मासु, भात र दही तयार भइसकेकाे रहेछ। मासु पाक्ने तरखर गर्दै थियो। यति मज्जाकाे खाना व्यवस्थापन गरेकाे टीकाजी र रतनजीकाे प्रशंसामा खर्चिने सबै शब्दहरु फिक्का लागे। मनमनै असिम भक्तिभाव देखाएर सलाम गर्नुकाे विकल्प थिएन।
दिउँसाे हामीले खान सक्ने जति मासु खयाैं। त्याे टिममा सबैभन्दा बढी मासु खाने म थिएँ। घरिघरि मासु पुग्दैन कि क्या हाे भनिरहेकाे थिएँ। सबैले तिमी अघाउँछाै चिन्ता नगर भने। मै अघाएपछि बाँकी काे रहयाे हाेला त!
गुठीचाैरतिर सामुहिक भाेज भतेर हुने ठाउँमा खसी काट्याे भने टाउकाे सबैभन्दा जेष्ठ सदस्यले पाउने चलन रहेछ। साेहीअनुसार हाम्राे टाेलीकाे जेष्ठ सदस्यले टाउकाे पाउने रतनजीकाे निर्णय सर्वसहमतिमा पारित गर्याे। माधव दाइले खसीकाे टाउकाे पाउने हुनुभयो। मासुकाे पारखी मराे मनमा ईर्ष्या थियाे हाेला, सायद। त्यसैले मन–मनै साेचें, ‘एक दिन सबैभन्दा जाेठाे भएर आउँदा यही ठाउँमा अर्काे खसी ढाल्नुपर्छ।’
हाम्राे बास गुठीचाैरमै हुने भयाे। दिउँसाे बसेकाे ठाउँ छाेड्नुपर्ने भयाे। सबै सामान प्याक गरेर चाैरकाे मध्यभागमा पुग्यौं। वर्षा गाेठालाले बनाएकाे ठुलाे आँटी थियाे। त्यही अगाडि आगाे बाल्याैं। आँटीभित्र सर सामान राख्याैं। दिउँसाे मेसिन लिएर काठ चिर्न आएका दुई जना भाइहरुले हामीलाई चाहिने जति दाउरा मेसिनले नै चिरिदिए।
बासकाे सबै प्रबन्ध मिलिसकेपछि हामी महफिल जमाउन लाग्यौं। खाना पाक्दै थियाे। मासुका भेराइटी तयार हुँदै थिए। चाेताे नांगिदै थियाे, अचार बन्नलाई। चुलामा आलु पाेलिदै थिए। नाचगान, हाँस ठट्टा चल्दै थियाे। हामी भानु अंकलकाे टिमलाई कुरिरह्याैं.......।
त्रीदिवसीय साइकल यात्रा भाग -१
अदभूत यात्रा। कर्णाली र पर्यटन एकअर्काको परिपुरक यात्रा जारी रहोस्। युवाहरु/लेखकहरु जाग्ने हो भने स्थानीय सरकार र सम्बन्धित सबै निकाय/राजनीतिक दल कर्णाली एक सुन्दर कर्णाली बन्न कुनै आइतबार कुर्न पर्दैन। जय होस् महेश जी र सबै यात्रीहरू 🥰🙏