कार्तिक पाँच गते बिहान सात बजे मेराे क्लास सकियाे। लाम्राबाट माधव चाैलागाईं दाइ आउँदै हुनुहुन्थ्यो। तेजेन्द्र रावल महत गाउँबाट। कृष्ण शाही बजारकाे डेरामा हुनुहुन्थ्यो। रामसिंह रावल दाइ आफ्नै भव्य निवासमा।
उहाँहरुकाे परिचय एकछिन पछि गराैंला। पहिला आफ्नै कुराबाट सुरुवात गरुँ। देवराज मिष्ठान भण्डारमा जेरी र पुरी खाने याेजना थियाे। सँगै चना पनि। भेट हुँदाहुँदै मैले क्लास सकाएर आएकाे भने। उहाँहरु सबैले भन्नुभयो, 'क्या मेहनती यार तपाईं!'
आफ्नाे प्रशंसा कसलाई पाे मन नपर्ला र! मेराे नाक ठूलो भयाे। डाेकाे जत्राे। यहाँ ठूलो नाक हुनेलाई डाेकाे भन्छन्। अरुले बिगारेकाे नाममा आफूले आनन्द लिनुकाे मजा बग्लै। मैले ठूला नाक भएका र डाेका नाम राखिपाएकाहरुलाई सम्झिएँ। मनभित्रै मुस्कुराएँ। यसरी मुस्कुराउँदा आउने आनन्दकाे बयान कसरी गरुँ! कन्फ्युज्ड भएँ।
चना, जेरी र पुरी आयाे। हामीले मिठाे गरी खायाैं। सबैजनाले दुई जाेर जति कपडा झाेलामा राखेका थियाैं। महेन्द्र हमाल दाइले आफ्नाे साइकल ल्याइदिनुभयाे। त्याे साइकल तेजेन्द्रले चढ्ने हुनुभयाे।
अघिल्लो दिन एलपी देवकोटा र म नन्द तिमिल्सिनाकाे घर गएका थियाैं। एक वर्ष अगाडिदेखि उहाँले साइकल घरमै डाेरीले बाँधेर राख्नुभएकाे रहेछ। साइकल फुकालेपछि काठमाडौंमा रहनुभएका तिमिल्सिनालाई फाेनमा ठट्टा गरे। उहाँ हाँस्नुभयाे। पछिल्लो टायरकाे हावा फुस्किएकाे थियाे। मैले साइकल काँधमा राखेँ, एलपी जीले स्कुटर चलाउनुभयाे। विस्तारै विस्तारै ग्यारेसम्म पुगेपछि हावा भर्यौं।
माधव दाइ साइकल लिन आउनुभयो। त्याे साइकल आफू चढ्ने हुनुभयो।
कृष्ण शाही डब्लूएफपीमा काम गर्नुहुन्छ। कालिकाेट गेलाकाे उहाँका कयाैं मिजासिला गुणहरु छन्। मेरा लेखहरु नियमित पढ्नुहुन्छ भन्ने थाहा पाएपछि हामी साथी भयाैं। सिनियर र अनुभवी उहाँ साथी हुन मन पराउनुहुन्छ। पछि मात्रै थाहा भयाे उहाँसँग साइकल पनि छ भन्ने कुरा। त्यसले झन् नजिक बनायाे।
रामसिंह दाइ किसानसँगै लेखक र विश्लेषक पनि हाे। उहाँकाे विश्लेषण अक्सर मिल्छ। समग्र राजनीतिलाई मसिनाे गरी केलाउन सक्ने उहाँले लेख्न छाेड्नुभएकाे छ। देश सञ्चारका सम्पादक युवराज घिमिरे कहिलेकाहीँ उहाँलाई कमल र कापी पठाइदिउँ भनेर जिस्काउनु हुन्छ रे! दाइ हाँसेर लाज पचाइदिनु हुन्छ।
जे हाेस् हामी नजिक छाैं। हामीले सल्लाह गरेरै तीनवटा साइकल एकैसाथ किनेका थियौं। तेजेन्द्र जी प्रदेशकाे उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयकाे अधिकृत हुनुहुन्छ। तर उहाँकाे परिचय त्याेभन्दा व्यापक छ। त्याे उहाँको घुम्ने बानी हाे। घुमेर आफू आनन्द लिने मात्रै हाेइन, आफ्नाे अनुभूतिलाई शब्दचित्रमार्फत व्याख्या गर्नुहुन्छ। उहाँकाे डाेल्पा यात्रा र हुम्ला यात्राले हामीलाई डाेल्पा र हुम्ला घुमाएका छन्। तर यतिबेला भने हामी सँगै घुम्ने जाने तयारि गरिरहेका छाैं।
माधव दाइ काम गर्ने आइएनजीओकाे नाम अहिलेसम्म पनि थाहा छैन। स्वास्थ्य क्षेत्रमा काम गर्ने उहाँ सामाजिक, सांस्कृतिक र ऐतिहासिक पक्षकाे राम्राे जानकार हाे। लेख्ने, घुम्ने उहाँ सार्वजनिक सराेकारका विषयमा आफ्ना धारणा स्पष्ट राख्नुहुन्छ। सँगै साइकलका फ्यान पनि।
साइकल पाँचवटा तयार भए। यात्राका लागि छ जना तयार छाैं। डा. तुफानसिंह कठायत काठमाडौं जानुभएकाे रहेछ। उहाँकाे घरमा ताला लगाएकाे हुनाले साइकल भएन। इन्जिनियर नविन महतकाे साइकल बिग्रिएकाे रहेछ। अन्तर्राष्ट्रिय धावक हरि राेकायाकाे साइकल पनि बिग्रेछ। केही गरी अर्काे साइकलकाे जुगाड नभएपछि पुरानाे साइकल चढेर टिकराज न्याैपाने आइपुग्नुभयाे। उहाँ तातोपानी गाउँपालिका चार नम्बर वडाकाे सचिव हुनुहुन्छ।
याे कुनै प्रतियाेगिता नभएर साेखका निम्ति गर्न लागिएकाे साइकल यात्रा थियाे र पनि हाम्रा शुभचिन्तक देखिनु भयाे। हामीलाई बिदाइ गर्न र आत्मियता प्रकट गर्न गणेश राेकाया दाइ र भानु देवकोटा अंकल आउनुभयाे। अंकलले हामीलाई पिराे अकबरे खुर्सानीकाे अचार, चकलेट र बिस्कुट किनेर दिनुभयाे। केही साथीहरुले यात्रा प्रारम्भ गर्नै लाग्दा हामीसँग फाेटाे खिचाउनुभयाे। च्यारिटी रमाइलाे भइरहेकाे थियाे।
पूर्वतिर फहराइरहेका चन्दननाथ र भैरवनाथका नेजाबाट छिर्दै धर्तीमा पुगेकाे घाम घमाइलाे हुँदै थियाे। मलाई सानाेमा हामीले गाउने गरेकाे गीत याद आयाे।
च च चन्दाननाथ चारै लिङ्गा,
पूर्वतिर ढल्यै हजुर।
चन्दननाथ, भैरवनाथ मन्दिरलाई दायाँ पारेर एक फन्काे लगाएपछि हामी कृष्ण मन्दिरलाई दाहिने पार्दै कालेखाेलीकाे बाटाे हुँदै एयरपोर्ट तिर लाग्यौं।
एयरपोर्टमा रमिता थियाे। यसपालिको वर्षातले कर्णाली राजमार्ग खुलेकाे थिएन। बाहिर जानेका लागि हवाई यातायातबाहेक अर्काे विकल्प थिएन। सर्वसाधारणलाई टिकट नदिने र टिकट दिलाउन मुखिया लाग्नेकाे मन दुख्ने गरी लेखेपछि हामी उनीहरुका आँखाका कसिङ्गर भएका थियौं।
चुनावी सगर्मी बढिरहेको थियाे। नेताहरु जनताकाे घर जाने क्रम तीव्र हुँदै थियाे। एयरपोर्टबाट उर्थु चाैतारातिरकाे बाटाे थाेरै उकालाे हुनाले हाम्राे गति धिमा हुँदै थियाे। ठिन्के, राेजिकाेट, उर्थु चाैतारा, लाेर्प हुँदै लासीकाे साेनाम हाेटलमा गएर खाना खाने याेजना थियाे।
साइकल चलाउँदै उकालाे चढ्दा हामी चाैधबीसकाे प्रवेशद्वार उर्थु चाैतारा गयाैं। कुनैबेलाकाे गुल्जार उर्थु चाैतारा बजारको काराेबार घट्दाे छ। कारण त्यहाँ पुरै चाैधबीस जाेड्ने पक्की पुल निर्माण भयाे। त्यसले बजारलाई छाेएन। हिजाे हिँडेर उर्थु चाैतारा पुगि बिदा मनाउनेहरु आज बाइक वा गाडीमा सजिलै लासी, पेरे पुगेर फर्किन सक्छन्।
बाटाे फेरिएपछि उपभोक्ताकाे मन फेरियाे। नाम चलेकी असहिनीकाे हाेटेल आजभोलि बन्द छ। उनी कुम्ला कुटिरा बाेकेर सुर्खेत बसाइ सरि सकिन्। साना खुद्रा व्यापारी मात्रै छन्। जसले आसपासका केही गाउँका आवश्यकता धानेका छन्।
त्यही नजिक मिनरल वाटरकाे फ्याक्ट्री खुलेकाे थियाे। राम्ररी बजार नलिँदै फ्यक्ट्री बन्द भइसकेछ। औद्याेगिकरणकाे सुरुवात गर्ला भनेकाे उद्याेग यति चाँडै बन्द हुनुका कयाैं कारण छन्। त्यसमध्ये पहिलाे हाे, बिजुली अभाव। बिजुली गतिलाे नभइ उद्योग राम्ररी चलाउन सकिँदैन। त्यसैले यस क्षेत्रमा मेघा प्राेजेक्ट सञ्चालन हुनुपर्ने माग हुँदै आएकाे छ। तर विद्युत प्राधिकरण तत्काल यी समस्याकाे समाधान गर्न तयार देखिँदैन।
केही तस्बिर लिएपछि हामी उकालाे लाग्याैं। बडिखाेलीकाे बाटाे हिलाे भएकाे हुनाले उकालाेमा साइकल डाेर्यायाैं। त्यसबाहेक कुनै ठाउँमा पनि राेकिनुपर्ने बाटाे छैन। यसले साइकिलिङका लागि जुम्ला सबैभन्दा सुन्दर र रमणीय ट्रेल भएकाे ठाउँ हुन सक्छ भन्ने भान भयाे। चाैधबीसकाे फाँटिलाे भूभागलाई चिरा पारेर बगेकाे जवा नदी किनारकाे बाटाेमा सिरसिर बतासकाे कावा खाँदै साइकल कुदाउँदा देखिने दृश्यकाे वर्णनमा जतिसुकै शब्द खर्चिँदा पनि कमै हुन्छ।
चाैधबीस कर्णालीकाे सभ्यता निर्माण गर्ने ठाउँ हाे। जहाँ ठकुरीले राज गरे, त्यहाँका सल्लाहकार बाहुन थिए। ती ठाउँमा बाहुन ठकुरीकाे बसाेबास छ। उनीहरुले निर्माण गरेकाे संस्कृतिमा हिन्दुकरणकाे गन्ध आउँछ। तर चाैधबीसले निर्माण गरेकाे विवाह, जन्म, मृत्युकाे संस्कार फरक छ। त्यहाँ महादेउता, वन देउता र मष्टाे मान्नेहरु छन्। त्यहाँ पाखाका क्षेत्री, सार्की, दमाई र भाेटेहरुकाे बसाेबास छ।
बाहुन वा जाेतिषभन्दा पनि धामी प्रमुख मानिने चाैधबीसलाई पावै बस्ने ठाउँ मानिन्छ। पछिल्लो समय पावैलाई हेयभावकाे शब्द बनाइएकाे छ। सुरुवातमा यसकाे अर्थ पाखामा बसेर खेतीपाती तथा पशुपालन गर्ने थियाे। उच्च हिमाली क्षेत्रमा बस्ने भाेटेहरुलाई पावैले जाड र भाेटेहरुले पावैलाई खसिया भन्न थाले। खसियाहरुले आफ्नाे छुट्टै संस्कृति निर्माण गरेका छन्। त्यसैले पाखामा बस्ने खसिया खस संस्कृतिका असली निर्माता हुन्।
त्यही भूमिमा हामी पहिलोपल्ट साइकल यात्रा गर्दै थियौं। त्यहाँका कयाैं सांस्कृतिक पक्षहरु छन्। ऐतिहासिक पक्षहरु छन्। आफ्नै बलबुतामा निर्माण गरिएकाे आत्मनिर्भर आर्थिक जग छ। खानपानकाे शैली छ। ती विस्तारै अतिक्रमण हुँदैछन्। हामी विषयकाे गहिराइमा जानलाई कुनै विश्वविद्यालयका अनुसन्धानकर्मी थिएनाैं। यस्साे सम्झेकाे कुरा याे संस्मरणमा आएका मात्रै हुन्।
हाम्राे यात्रामा सबैभन्दा बढी दृश्य छन्। दृश्यलाई शब्दमा उतार्न सीप चाहिन्छ। शब्द राम्राे गराउन सिल्पकारिता चाहिन्छ। यी कुनै सीप नभएकाे मेरा लागि दृश्यकाे वर्णन बहुत भद्दा हुने अनुमान लाएकाे छु।
माधव दाइकाे माेबाइल हाम्राे निम्ति हजार मेघाफिक्सलकाे क्यामेरा जस्ताे किम्ति थियाे। त्याेभन्दा बढी किम्ति उहाँकाे भिडियाे र फाेटाे खिच्ने काैसल। तर फाेटाे र भिडियो खिच्ने कला आफ्ना लागि प्रयाेग नहुने रहेछ। कपाल काट्ने नाई जस्ताे। दुनियाँलाई काम लाग्ने सीप आफैँलाई काम नलाग्ने। हैट कस्ताे उराठ लाग्दाे!
उहाँकाे क्यामेरामा तेजन्द्रजी सबैभन्दा धेरै कैद हुनुभयाे। उहाँले सृजना गर्ने पाेज अरुकाे दिमागमा सितिमिति आउँदैनन्। कृष्णजी पछिपछि हुनुहुन्थ्यो। हामीलाई रहर नलाग्ने हाेइन। तर कति उभिनु, उही परम्परागत पाेजमा! एक हिसाबले क्यामेरामा कैद नहुनु स्वतन्त्र हुनु पनि हाे कि!
उर्थुबाट उकालाे लागेकाे यात्रा जब ओरालाे लाग्न थाल्छ, तब आँखाहरु नदी तरेर उकालाे लाग्छन्। त्यहीँ छन् तल्लाे लाेर्प र माथिल्लो लाेर्प। मकै र आलुकाे हर्ज नहुने त्यहाँ वर्षामा गेडागुडी र हिउँदमा जाैं, गहुँ प्रशस्तै उत्पादन हुन्छ। जडीबुटी संकलन र व्यापार जानेका चाैधबीसेले घरमा माटे छाना विस्तापन गरी रंगिन जस्ता हालेका छन्। गाउँमै बिजुली उत्पादन गरिएकाे हुँदा रातिमा पनि लाेर्पाकाे आकार र रंगिन घरहरु प्रष्ट देख्न सकिन्छ।
हामी भने दिउँसाेकाे रंगिन चाैधबीस नियाल्दै अगाडि बढ्याैँ। लासीकाेकाे साेनाम हाेटेलमा पाँच जनाकाे निम्ति खाना पाकेकाे रहेछ। हामी छ जना भाेका-भालु जस्ता थियौं। अगाडि खानेले पेट भर्न पाएपनि पछाडि खानेकाे पेटमा खाली ठाउँ थियाे। मुला र गाजरले काम चल्याे।
एकछिन विश्राम गरेपछि उकालाे लाग्याैं। बाटाे पारीपट्टी एउटा नमुना स्कुल देखिन्छ। मानवशास्त्री डाेर बहादुर विष्टले स्थापना गरेकाे ऋणमाेक्ष मावि चाैधबीसमा ज्ञान निर्माण गर्ने मियाे बनिरहेको छ। वारीपट्टी उनैले स्थापना गरेकाे कर्णाली इनिस्टिच्युट छ।
चाैधबीस पुग्ने हरेकले विष्ट कहाँ हराए हाेलान् भनेर साेच्छन्। उनी त्यहीँ भए चाैधबीस कस्ताे हुन्थ्यो हाेला भनेर कल्पना गर्छ! एकछिन भावुक हुन्छ। उनले लेखेका किताबहरु सम्झियाैं। पिपुल्स अफ द नेपाल, साेताला, फेटालिज्म एण्ड डेप्लाेमेण्ड, डाेर बहादुर विष्टका कथाहरु आदि।
एकछिन उकालो चढेर तिर्खु गाउँ पुगेका थियौं, टिकाजी चढेकाे साइकल पट्कियाे। अब उहाँकाे यात्रा कतातिर हुने दाेधार भयाे! गफ गर्दै उकालाे लाग्यौं। राप्रपाका सहमहामन्त्री रमानन्द न्याैपानेकाे फाेन आयाे। लिटी लेखमा खाना खाँदैछाैं भन्नुभयाे। ज्ञानेन्द्र शाहीकाे चुनाव प्रचार गर्दै उहाँहरु त्यहाँ पुग्नुभएकाे रहेछ। हामीले पाँच किलाे आलु किनेर झाेलामा हाल्याैं। एकछिन हिँडेपछि उहाँहरुसँग भेट भयाे। लिटी लेखमा प्रदिप खड्का अभिनित फिल्म प्रकाश सुटिङ भएकाे ठाउँनेर हाम्राे भेट भयाे। त्यही प्रकाशकी प्रेमिका राधाले 'पी प्लस आर' हाेलस्क्वाएरकाे सुत्र के हाे भनी साेधेकी थिइन्। प्रकाश अक्मकिएका थिए।
राप्रपाका प्रवक्ता शाही र सहमहामन्त्री दुबैले साइकल चढ्नुभयाे। उहाँहरु दुबैले साइकलबाट जुम्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विचार राख्नुभयाे। ज्ञानेन्द्र शाहीले आफू जिते साइकल र एड्भेन्चरस् टुरिजममा लगानी गर्न पहल गर्ने बताउनुभयो। हामीले भिडियो बनाएर राख्याैं। कुनैदिन सम्झाउन र प्रश्न गर्न काम लाग्ला भनेर। उहाँले जित्नुभयाे। अब भिडियो काम लग्ने भयाे।
त्यहीँ भेटिनुभयाे एक मिजासिला साथी रतनसिंह बाेहाेरा। त्यस क्षेत्रमा उहाँकाे फराकिलो परिचय छ। उहाँकाे परिचय बारे मैले दुईवटा फिचर तयार पारेकाे थिएँ। ती दुबै फिचर यति धेरै मान्छेले पढे कि दुई वर्ष पछिसम्म पनि प्रतिक्रिया पाइरहेकाे थिएँ। उहाँकाे फिचर पढेपछि काे काे राेए भनेर चिनजान नै नभएकाे गाेपाल बाेहाेराले चिया पसलमा सुनाउनु भएकाे थियाे।
उहाँ आफ्नाे बाइकलाई एम्बुलेन्स बनाएर चाैधबीस क्षेत्रका बिरामीलाई अस्पतालसम्म पुगाउने काम गर्नुहुन्छ। लिटी लेकमा बाइक लिएर आउनुभएका उहाँले साँझ गाेठी गाउँकाे आफ्नाे घरमा बस्नुपर्छ भन्दै अड्डी कस्नुभयाे। हामीले नाइ भन्न सकेनौं।
अघिसम्म दाेधारमा हुनुभएका टिकाजी अब हाम्राे व्यवस्थापक हुनुभयाे। लेक काटेपछि हामी मुरली गाउँ हुँदै ओरालो लाग्याैं। रतनजी र टिकाजी भाले किन्न गाउँ पस्नुभयाे। साँझ लाेकल भालेका मासुसँग लाेकल झाेल पनि खाने तयारी भयाे।
मुरलीबाट गाेठीगाउँसम्मकाे ट्रयाक भर्खर खाेलिएकाे छ। त्याे बाटाे राम्राे बने संसारकै सबैभन्दा सुन्दर ट्रेल हुनेमा दुईमत छैन। आफ्नाे सुस्साहट छाेड्दै बगेकाे नदी, त्यसकाे ध्वनीलाई गुञ्जित गराउने डाँडापाखा, त्यहाँ उम्रिएका बाेटविरुवा त्यतिबेला झन् राम्रा देखिए जतिबेला ती क्यामेरामा कैद भए। ती दृश्यले बेलाबेला घुम्न आउनु भनेर निमन्त्रणा दिएजस्ताे भान हुन्थ्यो। दिनभरि साइकल चलाएर गलेकाे जिउ चंगा हुन्थ्याे।
चंगा जिउ लिएर अँध्यारो हुँदै गर्दा हामी रतन जीकाे घर पुग्यौं। उहाँहरुले भाले पकाइसक्नु भएकाे रहेछ। भान्सामा आगाे तापेर आलु खाँदै हामी लाेकल कुखुराकाे मासु खान लाग्यौं। काेदाेकाे शुद्ध लाेकल रक्सीको स्वाद लिनेबेला मैले दुईदिन अगाडि खाएकाे छ्याङकाेलकाे वर्णन गरे।
एउटा कराइमा चाैरी गाइकाे घ्यू राख्ने। तातिएकाे घ्यूमा छुर्पि हाल्ने। छुर्फी फरफर फुर्छ। त्यसमा लाेकल कुखुराको अण्डा हाल्ने। अनि एक वर्ष अघिदेखिकाे काेदाेकाे जाँड हाल्ने। जाँड भलभल उम्लिएकाे बेला मह हाल्याे भने छ्याङकाेल तयार हुने रहेछ। गाेठीचाैर गाउँपालिका-१ मा मनिसाँघुतिर त्यसलाई सुत्केरी भएकी महिलाले खाने डिक्सभन्दा रहेछन्।
दुई दिन अगाडि त्यहीँ पुगेकाे मैले चाख्न पाएकाे थिएँ। गाेठीगाउँमा साइकल सहयात्रीसँग त्यसकाे वर्णन गर्न पाएँ। सबैले बिहान कुनै पनि हालतमा त्यहाँ गएर छ्याङकाेल खाने कुरा गर्नुभयाे। रसिलाे मुख बनाउँदै बिहानी यात्राकाे याेजना बनाएर राति अबेरसम्म गफिँदा गफिँदै निदायाैं। हाम्रो पहिलाे दिनकाे साइकल यात्रामा बिराम लाग्याे।