नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेर थुनामुक्त भएका नेपाली काँग्रेसका सांसद सुनिल शर्माले जेलभित्र रहँदा भएका घटनाको फेरिस्त प्रस्तुत गरेका छन्। थुनामुक्त भएको तीन दिनपछि सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद शर्माले आफू पक्राउ पर्दा भएका घटनाहरु सार्वजनिक गरे।
जसमा शर्माले आफूलाई बिना पुर्जी पक्राउ ‘एरेस्ट’ गरिएको, जेलमा अपराधीलाई जस्तो व्यवहार गरिएको, प्रहरीबाट हातपात गरिएको, हिरासतमा राख्ने पत्र २३ घन्टापछि दिएको उल्लेख गरेका छन्।
सांसद शर्माले आफूलाई पक्राउ गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)माथि अनेकौँ आरोप लगाएका छन्।
सांसद शर्माले आइएसीको सर्टिफिकेट किर्ते गरेको आरोपमा सिआइबीले गत बिहीबार शर्माको काठमाडौँस्थित निवास गोल्फुटारबाट पक्राउ गरेको थियो। तर, त्यसको भोलिपल्ट जिल्ला अदालत काठमाडौँमा पेस गर्दा अदालतले उनी सांसद भएकोले थुनामा राख्नु नपर्ने भन्दै रिहा गर्न आदेश दिएको थियो।
यद्यपि, शर्माको शैक्षिक प्रमाणपत्र किर्तेको अनुसन्धान जारी छ। उनी जुनसुकै समयमा पनि फेरि पक्राउ पर्न सक्छन्।
अदालतको आदेशपछि जेलबाट रिहा भएका सांसद शर्माले शनिबार र आइतबार केही सञ्चार माध्यमको कार्यालय तथा युट्युबमा भाइरल व्यक्तिहरुको घरमा पुगेर अनेकौँ भिडियो बनाएका थिए भने, आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा पुगेका थिए।
अप्ठ्यारोमा परेको बेला आफ्ना नेताहरुले साथ नदिएपछि विपक्षी पार्टीका अध्यक्षको दैलोमा पुगेर हारगुहार गरेका शर्माले त्यहीँबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘आतंककारी’ भनेका थिए। भने, ओली र देउवालाई प्रधानमन्त्री बनाउने घोषणा गरेका थिए।
त्यसको केही घण्टापछि बसेको उनको पार्टी नेपाली काँग्रेसको संसदीय दलको बैठकमा शर्माको चर्को आलोचना भएको थियो। शर्माले पार्टीको अनुशासन मिचेर विपक्षी दलको दैलोमा पुगेर हारगुहार गरेकाप्रति काँग्रेस अधिकांश सांसदहरुले चित्त दुखाएका छन्।
आफ्नो पार्टीका नेताहरुबाट सहानुभूति नपाएका सांसद शर्माले सोमबारको प्रतिनिधिसभा बैठकमा खुलेर गुनासो पोखे।
यसअघि आफ्नो पार्टीबाट अर्थमन्त्री बनेका डा.प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै संसदमै अनसन बस्ने घोषणा गरेका शर्माले यसपटक अर्थमन्त्री महतको नामै लिएनन्। बरु, प्रधानमन्त्री प्रचण्डलाई फेरि भने,– आतंककारी।
त्यस्तै गृहमन्त्री श्रेष्ठमाथि झनै कठोररुपमा प्रस्तुत भए। भने, ‘म पुनश्च मेरो पुरानो अडानलाई दोर्याउन चाहन्छु, यदि गृहमन्त्रीले राजीनमा गर्नुहुन्न भने म आमरण अनसन डिक्लियर गरिदिन्छु।’
यस्तो छ, शर्माको २४ घन्टे फेररिस्त:
२५ गते करिब २: १५ दुई जना अज्ञात मानिसहरु सिभिल ड्रेसमा मेरो घरमा आउनुभयो। उहाँहरुले मलाई सिआइबीबाट आएको भन्नुभयो। अनि मैले तपाईंहरुले मलाई राख्ने गरी लानुहुन्छ होला होइन्, म कपडाहरु राखौँ ? भनेँ, उहाँहरुले हुन्छ बोक्नुहोस् भन्नुभयो। मैले कपडाहरु प्याक गर्न माथि बेड रुपमा जाँदासमेत उहाँहरुले छोड्नु भएन। बेड रुममै जानुभयो, उहाँहरु दुई जना। अनि मैले कपडा लगाएँ, हिँडेँ।
त्यतिबेला मेरो दिमागमा के आएन भने मैले त्यो पक्राउ पुर्जी माग्नुपर्छ भन्ने पनि आएन। बाटोमा आएपछि एक जना पत्रकार साथी माधव चौलागाईंले सम्झाउनु भयो। अजयबाबु सिवाकोटी भन्ने मेरो केन्द्रीय सदस्यले पनि सम्झाउनु भयो। सभामुखको स्वीकृत छ कि छैन नं. १ तपाईंलाई एरेस्ट गर्ने कुरामा, नं. २ पक्राउ पुर्जी तपाईंलाई दिएको छ कि छैन ? भन्दा दुइटै कुरा थिएन, मैले उहाँहरुसँग मागेँ।
सिआइबीका इस्पेक्टर भाइ पश्चिमतिरका जोशी भाइ हुन्, उनीसँग मैले भने, ‘सर मलाई दिनुहोस्’ उहाँले दिनुभएन।
मलाई करिबन पौने ३ बजे घरबाट गिरफ्तार गरिएको थियो। र, मलाई ल्याएर एउटा घर यो यम्बास्टर होटेलको पछाडिपट्टी छ, त्यो एकदम ठुलो बंगला रहिछ, खाली, त्यहाँ कोही पनि मान्छे थिएनन्। म एउटा मात्रै मान्छेलाई राखियो।
र, ५ बजेर ५२ मिनेट जाँदा पटक–पटक मैले झगडा गरिसकेपछि ‘मलाई तपाईंहरुले दिनुपर्छ’ म लोगेमा थिएँ, मैले भने ‘यो सांसदको लोगो हो, मैले तपाईंहरुलाई देखाउन चाहन्छु। म क्रिमिनल होइन, म अपराधी होइन्, मैले बलात्कार गरेको होइन्, मैले चोरी गरेको होइन। तपाईंको आरोप के हो ? मैले के गरेँ म थाहा पाऊँ ?
के कारणले म गिरफ्तार भएको छु भन्ने थाहा पाउने मेरो अधिकार हो भने थाहा पाउनु पर्यो ? मैले भनिसके पछाडि बल्लबल्ल उहाँहरुले ५ बजेर ५२ मिनेट जाँदाखेरि ३ घण्टाको फरकमा अनि एउटा पत्र दिनुभयो समय पनि त्यो पत्रमा नोट गरेको छु, सभामुख महोदय।
त्यो पत्रमा समय नलेख् भन्दै हुनुहुन्थ्यो उहाँहरुले मैले रिसिभको समय लेखेँ।
मलाई लाने बेलामा एक पटक क्यामेरामा बोल्छु भनेँ, उहाँले दिनुभएन मलाई हातपात गर्नुभयो। त्यसपछि मलाई एउटा गाडीमा राखेर राति करिब ९ बजे प्रहरी तालिम केन्द्र लैजानुभयो। त्यहाँ लगिसकेपछि अहिलको सुन तस्करीमा मुछिएका दावा भन्ने साथीहरु र दलिता निवास प्रकरणमा पक्राउ परेका साथीहरुलाई जहाँ अपराधी मान्छेहरुलाई राखिन्छ, त्यहाँ मलाई रातभरि थुन्नु भयो। त्यही राख्नु भयो।
पहिला त मलाई एआइजीसापले खाना घरबाट ल्याउन पाइँदैन भन्नु भयो। म अलिकति बिरामी छु, मलाई डाइरिया भइरहेको छ, फिभर आइरहेको छ। त्यसकारण मलाई घरबाट खानेकुरा ल्याउने अनुमति दिनु पर्यो भनेपछि उहाँले मान्नु भएन।
करिब–करिब आधा घण्टा जति उहाँसँग मेरो भनाभन भयो। राम्रो डिस्कसन भयो र अन्तिममा उहाँलाई के भनेँ भने तपाईं मलाई खाना दिनुहुन्न भने म निर्वस्त्र अन्डरवेयर मात्रै लगाएर आमरण अनसन बस्छु भनेर भनेँ।
त्यो भनेपछि उहाँले मलाई खानामा एल्व गर्नु भयो अनि मेरो घरबाट खाना आयो। अनि खाना खाएर राति १२ बजेतिर सुतेँ।
भोलिपल्ट उहाँहरु जिल्ला अदालतमा लैजाने तयारीमा हुनुहुन्थ्यो। मलाई के पनि थाहा थिएन भने हिरासतमा राख्न पत्र दिनुपर्ने रहिछ भन्ने मलाई पनि थाहा थिएन्।
तर, उहाँहरुले मलाई भ्यानमा चढाउनुभयो। अनि, भित्र बोलाउनु भयो, अनि मलाई यो पत्रमा साइन गर्नुहोस् भन्नुभयो, साइन गरेँ। २३ घण्टापछि हिरासतमा राख्ने पत्र दिनुभयो।
र, अदालत गइयो, त्यहाँ पनि ममाथि हातपात भयो। किन, हातपात भएको रहिछ भने त्यो उहाँहरुले अघिल्लो दिन दिनुपर्ने पत्र रहिछ। २६ गते लेखिहाल्नु भयो उहाँहरुले त्यो पत्रमा प्रष्ट लेखिएको छ। त्यसको सक्कल पत्र मसँग छ। त्यो इलिगल काम हो, त्यो पत्र उहाँहरुले अघिल्लो दिन दिनुपर्ने थियो।
र, उहाँहरुले यो कोटसोट तान्नु भयो, धकेल्नु भयो, खल्तीमा भएका सबै कागजपत्र थुत्नुभयो लक्किली त्यो पत्र मैले यहाँ (कमिजको गोजीमा) राखोको रहेछु। यहाँ उहाँहरुले हात लगाउन भ्याउनु भएछ। र, त्यो पत्र जोगियो। त्यो पत्र पछि मैले बाटोमा मेरो वकिललाई लुकाएर दिएँ। र, त्यो अदालतमा मैले पेस गरेँ।
त्यति भइसकेपछि सरकारी वकिलको कार्यालयमा मैले डायरीमा नोट गराएँ, कि मलाई बाहिर हातपात भएको छ।