नेपाली कांग्रेसले सुन तस्करी प्रकरणको छानबिन सरकारका निकायबाटै हुनुपर्ने निष्कर्ष निकालेको छ।
साेमबार बसेकाे कांग्रेस संसदीय दलको बैठकले सुन तस्करीका छानबिन निकायबाटै हुनुपर्ने र उच्चस्तरीय छानबिन समिति आवश्यक नपर्ने निष्कर्ष निकालेको हाे।
कांग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकले बैठककाे निर्णय सुनाउँदै सुन तस्करी प्रकरणका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलगायत सरकारका निकायलाई निष्पक्ष छानविन गरी घटनामा संलग्न जोसुकै भए पनि कानुनी कारबाही गर्न माग गर्ने निर्णय गरेको बताए।
'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करीको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ। सरकारका महत्वपूर्ण निकायको सधैँ निगरानीमा रहने स्थानबाट नै अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताकाे विषय छ। यस्ता घटना विगतमा पनि भएका छन्। पटक पटक हुने यस्ता घटना थप चिन्तित बताएकाे छ। यस्ता गैरकानुनी काम निस्तेज गर्न पूर्ण रूपले नियन्त्रण हुनुपर्छ‚’ उनले भने‚ ‘जो सुकै संलग्न भए पनि अनुसन्धान छानबिनकाे दायरामा ल्याइ कानुनी कारबाही गर्नुपर्छ। सरकारी निकायले नै छानबिन गरिरहेकाले जोसुकै भए पनि कानुनी अभियोजन गर्नुपर्छ र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायतले नै छानबिन गर्नुपर्छ।'