नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्था जे छोए पनि सुन भइरहेको भन्दै त्यसको गम्भीर छानबिन हुनुपर्ने बताएका छन्।
‘गोल्डेन टच जस्तै भयो। जे छोए पनि सुन भइरहेको छ। ब्रेक शु छोयो सुन, मोटर छोयो सुन। जे छोएपनि सुन देखिएको छ’, पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘हरेक दिन सय किलो एउटा नाकाबाट आइरहेको छ। रोकिएको छैन। यो कुराका चुस्की लिने विषय होइन।’
उनले देश र जनताका पक्षमा बोलिएका कुरालाई सरकारले गम्भीर र सकारत्मक रुपमा लिनुपर्ने भन्दै आफूहरूले संसद अवरुद्ध नगरेको दाबी पनि गरे।
‘हामी बोल्न खोजिरहेका छौं। तर हामीलाई संसदमा सत्तापक्षका सांसदहरूले बोल्न नदिने होहल्ला गरिदिने। हामी त संसद चलोस् नै भन्ने चाहिरहेका छौं’, उनले भने, ‘हामीले राम्रोसँग छानबिन हुनुपर्छ भन्ने हो। छानबिन हुनुपर्छ भन्नाबित्तिकै सरकार किन आत्तिरहेको छ? हामीले स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरेका हौं।’