सुनिल शर्मासँग मेरो पुरानो सम्बन्ध हो– ओली

फाइल तस्विर
फाइल तस्विर

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सांसद सुनिल शर्मासँग आफ्नो पुरानो सम्बन्ध भएको बताएका छन्।

‘नक्कली शैक्षिक प्रमणपत्र’ प्रकरणमा पक्राउ परि अदालतको आदेशबाट थुनामुक्त भएको दुई दिनपछि आइतबार ओलीको ‘खुट्टा छुन’ बालकोट पुगेका शर्मालाई साथमा राखेर ओलीले शर्मासँग आफ्नो पुरानो सम्बन्ध रहेको बताएका हुन्।

‘सुनिल शर्मासँग मेरो पुरानो सम्बन्ध हो। हामी एकै ठाउँका मान्छे हौँ’, ओलीले भने, ‘पोलिटिक्स कहिले कसो होला, कहिले कसो होला। कहिले कुन पार्टीमा होला त्यो आफ्नै ठाउँमा छ। तर, साथी–भाइ र मानवीय हिसाब त्यो बेग्लै कुरा हो।’ शर्मा आफूलाई भेट्न आएको ओलीले खुसी व्यक्त गरे।

ओलीले सुन प्रकरणमा सुनिल शर्माको आवाजबाट सरकार त्रसित भएको र आवाज दबाउन पक्राउ गरेको आरोप लगाए। शर्माले मन्त्रीको राजीनामा माग्नु जायज कुरा भएको ओलीको भनाइ छ।

‘देश बर्बाद हुँदैछ भने सत्ता पक्षीय मन्त्री भन्ने कुराको खासै अर्थ हुँदैन’, ओलीले भने, ‘यहाँ प्रश्न देशको छ। अब समृद्धिका कुरा त छोड्दिऊँ बर्बादिबाट त देशलाई बचाउनु पर्‍यो नि।’

शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले आइएससीको ‘सर्टिफिकेट’ किर्ते गरेको आरोपमा पक्राउ गरेको थियो। यद्यपि, शर्मालाई अनुसन्धान गर्न थुनामा राख्नुनपर्ने भन्दै जिल्ला अदालत काठमाडौँले रिहा गर्न आदेश दिए थियो।

शर्माले थुनामुक्त भएर बाहिरिए लगत्तै केपी ओली आफ्नो बुवासरह भएको भन्दै प्रशंसा गरेका थिए।

त्यसको भोलिपल्ट शनिबार एक भिडियो अन्तर्वार्तामार्फत् शर्माले ओलीलाई ढोग्ने वाचा गरेका थिए।

प्रकाशित मिति: : 2023-08-13 13:25:00

प्रतिकृया दिनुहोस्