नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले काँग्रेस सांसद सुनिल शर्माको शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लगाएको छ।
मोरङ क्षेत्र नं. ३ बाट निर्वाचित सांसद शर्माले आइएससीको प्रमाणपत्र किर्ते गरेको आरोपमा बिहीबार दिउँसो गोल्फुटारस्थित घरबाट पक्राउ गरेको हो।
‘...१९९६ सालमा रोल्न कोड ६५०४, रोल नं. १०११७, आइएससी तहको सनिल शर्माको कैफियतमा अपुष्टित भनी लेखी आएको र सो सन्दर्भमा उक्त शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको कसूरमा संलग्न मोरङ क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्षतर्फको निर्वाचित सांसद सुनिलकुमार शर्मा पक्राउ गरिएको छ’, सिआइबीले भन्याे।
सिआइबीले शैक्षिक प्रमाणपत्रबारे लामो अनुसन्धानपछि शर्मालाई पक्राउ गरिएको जनाएको छ। शर्माले भारतबाट आइएसी उत्तीर्ण भनी ल्याएको प्रमाणपत्र नक्कली भएको सिआइबीले भनाइ छ।
सिआइबीले शर्माको पक्राउबारे संसद सचिवालयलाई जानकारी गराइसकेको छ।
शर्मालाई लाजिम्पाटस्थित नेपाल ट्रष्टको स्वामित्वमा रहेको भाडाको घरमा राखिएको सिआइबीका एपी नवराज अधिकारीले जानकारी दिए।
सिआइबीले शर्मासहित त्रिवि शिक्षण अस्पतालका दुई जनालाई पनि पक्राउ गरेको छ।