काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ। शनिबार खसेको पहिरोमा परी गणेश तामाङ र आश्मा तामाङको मृत्यु भएको हो। उनीहरू बाबु–छोरी हुन्।
भिरालो जमिनमा बनेको टहरा उनीहरू भाडामा लिएर बसेका थिए। उनीहरू नुवाकोटका हुन्। प्रहरीका अनुसार तारकेश्वर नगरपालिका-५को त्यो घर स्थानीय चन्द्र तामाङको हो।
प्रहरीका अनुसार घरसँगै पुरिएका गणेशको घटनास्थलमै मृत्यु भएको थियो भने उनकी छोरीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। गणेशकी श्रीमति भने घरबाहिर थिइन्।