रासायनिक मल अभाव छैन : मन्त्री भुसाल

फाइल तस्विर
फाइल तस्विर

कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उनले मल अभाव नरहेको जानकारी दिँदै वितरणमा केही समस्या देखिएको हुनसक्ने बताए।

‘हाल दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात छ। गत वर्षजस्तो यस वर्ष अभाव छैन’, मन्त्री भुसालले भने, ‘सङ्घीय सरकारले आयात गरेर वितरणको जिम्मा स्थानीय तहलाई दिएको छ। स्थानीय तहअन्तर्गत वितरणको जिम्मा पाएका सहकारी संस्थाले राम्रोसँग वितरण नगरेका गुनासा आउने गरेका छन्।’

उनकाअनुसार गत आर्थिक वर्ष २०७९/८० मा मल खरिद गर्न सरकारले कुल रू. ३८ अर्ब बजेट विनियोजन गरेकामा रू. ३३ अर्ब बराबरको मल आपूर्ति गरेको थियो।

चालु आवका लागि रू. ३० अर्ब बजेट विनियोजन भएको कृषिमन्त्री भुसालले जानकारी दिए। गत आवमा खरिद भएको २५ हजार मेट्रिकटनबाहेक सबै नेपाल भित्रिसकेको उनले बताए। चालु वर्षको आगामी पुससम्म चाहिने मलका लागि ठेक्का प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्दै मन्त्री भुसालले सरकारले ल्याउने मल गुणस्तरीय रहेको दाबी गरे।

समयमा मल आयात हुन नसकेर अभाव सिर्जना भएको जिकिर गर्दै उनले यसको प्रमुख कारण स्थानीय सरकारले समयमा बजेट नपाउनु पनि रहेको बताए। ‘समयमा मल नआउनुको मुख्य कारण समयमा बजेट नपाउँनु हो। मल आयात गर्न कम्तीमा दुई सय २७ दिन लाग्दो रहेछ’, उनले भने, ‘यति लामो समय लाग्ने खरिद र ढुवानी प्रक्रियाका लागि समयमा बजेट पाइएन भने समस्या हुन्छ।’

प्रकाशित मिति: : 2023-07-31 17:45:00

प्रतिकृया दिनुहोस्