प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी पत्नी सीता दाहालको निधनप्रति प्रकट भएको जनअभिव्यक्तिले आफूलाई देश र जनताप्रति अझै बढी जिम्मेवार महसुस भएको बताएका छन्। मंगलबार सरकारी निवास बालुवाटारमा आयाेजित श्रद्धाञ्जलीसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो अभिव्यक्ति दिएका हुन्।
‘उनले पाएको सम्मान र श्रद्धञ्जली उनको त्याग, तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने हामीले ठानेका छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘उनको मृत्युमा प्रकट भएको जनअभिव्यक्ति र जनउभारले मलाई र मेरो परिवारलाई देश र जनताप्रति अझै ठुलो जिम्मेवारी बोध गराएको छ।’
प्रधानमन्त्री प्रचण्डले जनताले व्यक्त गरेको साथ सहयोग र समवेदनाले नेपाली समाजमा व्यप्त आर्थिक र सामाजिक असमानताको अन्त्य गर्न बाँकी जीवनमा झनै सक्रिय भूमिका निर्वाह गर्ने प्रेरणा मिलेकाे बताए।
प्रधानमन्त्री प्रचण्डले पत्नीको उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।