मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)का केही विभागीय निर्देशकहरू नेपाल आएका छन्।
नेपालको संसदबाट पारित भएपनि एमसिए (मिलिनियम च्यालेन्ज अकाउन्ट) नेपालले योजनागत कामहरू अघि बढाएको छैन।
स्रोतका अनुसार एमसिसीका प्रोक्योरमेन्ट डाइरेक्टर जुलियो सिजर सारिया तथा संसद एंव जनसम्पर्क विभागका डाइरेक्टर क्याथरिन लेह असार ३१ गते साँझ आएका हुन्। कतार एयरवेजबाट साँझ करिब साढे ५ बजे काठमाडौँ ओर्लिएका उनीहरू सिधै एमसिए नेपालका कर्मचारीहरूसँग भेटघाटमा व्यस्त भएका थिए।
‘गोप्य’रूपमा नेपाल आएका उनीहरूको औपचारिक भ्रमणबारेमा एमसिए नेपालले सार्वजनिक गरेको छैन। औपचारिक योजनागत कामहरू अघि नबढेपछि एमसिसी मुख्यालयलले नेपाललाई निरन्तर दबाब पनि दिँदै आएको थियो। एमसिएले आगामी अगस्ट महिनादेखि काम थाल्ने तयारी गरेको छ।
उनीहरूले एमसिसी परियोजना लागु भएका स्थानहरूमा स्थलगत निरीक्षण पनि गर्ने कार्यक्रम रहेको छ। उनीहरू केही दिन नेपाल बस्नेछन्।
अघिल्लो सातामात्रै संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौँ आएका थिए र उनले यहाँ प्रधानमन्त्री, मन्त्रीहरूलगायत विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेका थिए।