कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डाहरू

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नदैछ।

बैठकका लागि १० एजेन्डा तय भएका छन्। साेमबार बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न कार्यसूचीसमेत तय गरेको छ।

बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरेको पार्टीका महामन्त्री गगन थापाले बताएका छन्।

यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको महामन्त्री थापाले बताएका छन्।

स्राेतका अनुसार सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ‘लाइभ’ गर्ने प्रस्ताव राखेका छन्। बैठकका एजेन्डामाथि छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको अनौपचारिक बैठकमा उनले लाइभ गर्ने प्रस्ताव ल्याएकाे देउवानिकट एक केन्द्रीय सदस्यले जनाएका छन्।

यी हुन् बैठकमा छलफल हुने एजेन्डाहरू—

समसामयिक विषय, सांगठनिक कार्ययोजना, कार्यसम्पादन समिति बैठकका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस, नीति अधिवेशनको प्रस्ताव, विभाग गठन, राष्ट्रव्यापी अभियानको घोषणा, अनुशासन समिति प्रतिवेदन पेस, संसदीय दल समीक्षा र केन्द्रदेखि प्रदेशसम्मका सरकारको समीक्षा

प्रकाशित मिति: : 2023-07-18 07:56:00

प्रतिकृया दिनुहोस्