नेकपा एकीकृत समाजवादीकाे दशाैं महाधिवेशन

टुक्राटाक्री ‘कम्युनिष्ट’हरूले बजाइरहने एकताको डम्फू

Break n Links
Break n Links

नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौंमा  सुरु भएको छ। पार्टी गठन भएको तीन वर्षमात्रै भए पनि नेपालमा कम्युनिष्ट पार्टी स्थापनालाई आधार मानेर १०औँ महाधिवेशन भनिएको उसको यो राष्ट्रिय महाधिवेशन असार २० गतेसम्म चल्नेछ। 

आइतबारको उद्घाटनसत्र १ बजे सुरु हुने भनिए पनि एक घण्टा ढिला गरेर सवा २ बजेतिर सुरु भयो। 

यो महाधिवेशनको उद्घाटनशत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राई, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिवक विप्लवलगायतका नेताहरू एउटै मञ्चमा  उभिएका थिए। 

देशका धेरै पार्टीका नेता महाधिवेशनमा देखिए। देखिएनन् त एमाले अध्यक्ष केपी शर्मा ओलीमात्रै। एकीकृत समाजवादीले अरूलाई जस्तै ओलीलाई पनि निम्तो दिएको थियो। तर उनी आफू गएनन्  र अरू नेताहरूलाई पनि पठाएनन्। 

तीन वर्षअघि ओलीसँगै छुट्टिएर एकीकृत समाजवादी बनाएका माधव नेपाल ओलीसँगै सत्ता साझेदार पनि हुन्। यो निम्तो छोडेर ओलीले दिउँसोतिरआफ्नै निवासमा नेपाल आइडलका बिजेता करण परियारलाई सरसम्मान गरिवरी त्यसपछि आफ्नै पार्टी निकट संगठनले राखेको कार्यक्रममा पनि जान भ्याए। 

कार्यक्रम अगाडि बढ्यो। सबैले भनाइ राखे। त्यति गर्दा ५ बज्दै थियो। उद्घाटनसत्रको अन्तिममा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले भनाइ राखे।

उनले भनाइ टुङ्ग्याउँदै गर्दा सबै नेताहरू उपस्थित भएकोमा धन्यवाद दिए। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलाई बोलाइएको भए पनि उनी बिरामी भएकाले नआएको नेपालले महाधिवेशन हललाई जानकारी गराए। 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निम्तो दिइएको भए पनि कोही नआएको उनले बताए। 

त्यसैक्रममा उनले भने– ‘एमाले किन आएन होला भन्ने पनि लाग्यो होला’ हलबाट कसैले एमालेको कोही किन नआएको भनेर पनि खोजी गरे। 
त्यसपछि नेपालले एमालेलाई बोलाइएको तर कोही नआएको बताए। 

‘मैले दुई पटक ओलीजीलाई फोन गरेँ। उहाँका एउटा पिएलाई नलागेपछि अर्को पिएलाई पनि गरेँ तर लागेन, कि फोन बिग्रिएको छ है’, उनले अलि ठट्यौली पारामा भने, ‘३ वर्षअघिको घाउ आलो भएर नआउनु भएको होला। राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक छैन।’

३ वर्षअघि नेकपा एमालेबाट विभाजन भएर नेपालको नेतृत्वमा नेकपा एस गठन भएको थियो। त्यसयता ओली र नेपालको सम्बन्ध तिक्ततापूर्ण छ। एमालेले नेकपा एसलाई पार्टीसमेत मान्ने गरेको छैन।

ओली एसको महाधिवेशनमा नआएका मात्र होइनन्, ओलीले आफ्ना कुनै पनि नेतालाई पठाएनन्। यसअघि एमालेको २०७८ मंसिरमा भएको १०औँ महाधिवेशनमा नेकपा एसका नेताहरूलाई निम्तोसमेत गरिएको थिएन। तर त्यो महाधिवेशन उद्घाटनका क्रममा चितवनको नारायणी किनारमा सबैजसो दलका प्रमुखहरू पुगेका थिए।  

पार्टी फुटाएको रोष एमालेमा पनि छ, तिक्तताका पोकाहरू माधव नेपालहरूमा पनि छ। त्यो रोष अनि तिक्तता अझै ओलीमा जिवित रहेको एसको महाधिवेशनमा एमालेका कोही पनि नेता सहभागी नहुनुले देखिन्छ। 

राजनीतिक विचारधारा अलग अलग भएपनि वा सिद्धान्त अनि बिचार नमिले पनि सामान्यतया नेपाली राजनीतिमा एकले अर्को दललाई पूरै अस्वीकार गरेका छैनन्। यस्ता सार्वजनिक अनि महत्वपूर्ण समारोहहरूमा सबैजसो पार्टीले आफ्ना समकक्षीहरूलाई निम्तो दिने राजनीतिक परम्परा पुरानै हो। 

रोष बोकेर एकताको डम्फु बजाउँदै कम्युनिस्ट नेता
एमालेले भन्ने गरेको एउटा महत्वकांक्षी विचार देशमा दुई पार्टी प्रणाली हुनुपर्छ भन्ने हो। जसमा एउटा कम्युनिस्ट विचारधारा बोक्ने र अर्को खुला उदारवाद बोक्नेहरूको हुन्छ। अर्थात् एमालेले देशमा मात्रै ‘दुई ध्रुबीय’ राजनीतिको परिकल्पना गर्दछ।

त्यसका लागि कम्युनिस्ट एकताको विचार एमालेले राखिरहेको छ। एमाले मात्र होइन व्यक्त्तिकेन्द्रीत पार्टी बनाएर विभक्तको बाटोमा रहेका जुन कुनै कम्युनिस्ट नेताले पनि कम्युनिस्ट एक हुने विचार राख्छ। 

आइतबार नेकपा एसको महाधिवेशनमा उपस्थित भएका कम्युनिस्ट नेताहरूले पनि कम्युनिस्ट एकताको बयान गरेर थाकेनन्। छोटो विचार राखेका जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिस्ट एक हुनुपर्ने बताए। 

‘हामीमा केही मतभेदहरू होलान्। अहिलेको संविधान, अहिलेको व्यवस्था यही पार्टीको त्यागबाट आएको हो। तर जसरी हामीले नेपालीको समस्या जसरी हल गर्नुपर्ने थियो त्यसरी भएन’, उनले भने, ‘हामी जसरी लोकतन्त्र ल्याउन एक ढिक्का भएर लड्यौँ, अब त्यसका रक्षाका लागि पनि हामी सबै एक ठाउँ हुनुपर्छ।’

उस्तै विचार छ माओवादीबाट फुटेर गएका नेत्रविक्रम चन्द ‘विप्लव सी’का पनि। उनले कम्युनिस्ट एक ठाउँ हुनुपर्ने अवस्था आइसकेको बताए। ‘देशमा कूदृष्टि लगाउने बढिरहेका छन्। यहाँको सुन्दर प्रकृति, संस्कृतिमाथि बाहिरी शक्तिले कूदृष्टि लगाएको छ’, उनले भने, ‘अब यसका रक्षाका लागि पनि कम्युनिस्ट एक हुने अवस्था आइसकेको छ।’ 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लोकतन्त्र पार्टीकै कारणले खतरामा पर्ने भन्दै लोकतन्त्र बचाउन सबै लाग्नु पर्ने बताउँछन्। उनी पार्टी निकै विभाजन भएर लोकतन्त्र, संघीयता खतारामा पर्ने अवस्था आएको भन्दै मिल्नुको विकल्प देख्दैनन्।

प्रचण्डले भन्दै आएको पनि कम्युनिस्ट एकता हो। आइतबार पनि कम्युनिस्ट एकताकै लागि समाजवादी मोर्चा बनाइएको भन्दै एक हुन पहल भइरहेको बताए। उनले नेकपा एसका नेता कार्यक्रतालाई माओवादी र एस पार्टी एक बनाएर लैजाने गरी छलफल गर्नेसमेत आग्रह गरे। 

एमालेबाट विभाजन भएर नेकपा एस गठन गरेर माधव नेपालले भन्ने पनि उस्तै छ। उनी जसरी पनि कम्युनिस्ट एक ठाउँमा हुनुपर्ने देख्छन्। जसका लागि समाजवादी मोर्चाबाट अगाडी बढ्न सकिने उनको धारणा छ। 

कम्युनिस्ट एकताको कुरा नगर्ने कुनै नेता नै छैन भन्दा पनि हुन्छ। माओवादीबाट विभाजन भएर अहिले नेपाल समाजवादी बनाएका डा. बाबुराम भट्टराई पनि कम्युनिस्ट विचारधारा छोडेको भए पनि फेरि कम्युनिस्ट एकताका कुरा गरिरहन्छन्। 

तर एकता भन्दा नेता केन्द्रित कम्युनिस्ट दलहरू रहेका छन्। नेकपा एसको महाधिवेशनमा सबका सब कम्युनिस्ट नेताहरू भेट भएर एकताका कुरा गरे। विडम्बना त्यही एकताको कुरा गर्दै गर्दा कम्युनिस्टको हिमायति भन्ने एमालेले माधव नेपाल छुट्टिएकोमा रोष बोकेर उपस्थिति जनाएन। 

बैशाखमा एमालेले कम्युनिस्ट स्थापनाको ७५ वर्षको अवसरमा मनाएको हीरक जयन्तीमा नेकपा एसबाट झलनाथ खनाल, रामकुरी झाँक्री सहभागी थिए। तर एमाले अझै एसलाई बर्ग दुस्मन देख्न छाडेको छैन। 

नेपालमा जस्तोसुकै दुस्मनी भए पनि महाधिवेशन वा चियापान जस्ता पार्टीका कार्यक्रममा सबै दलबाट सहभागी हुने चलन नै छ। यसलाई कतिपय राजनीतिक संस्कार भनेर ब्याख्या गर्छन्। 

२०७८ मंसिरमै भएको काँग्रेसको १४औँ माधिवेशन वा पुसमा भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनमा सबै दलका सबै नेताहरुको सहभागीता भएको थियो। माओवादीकोमा पनि ओली गएनन्। यद्यपि त्यसलाई ओलीको फुर्सदसँग जोडिएको थियो। 

त्यसयता विभिन्न राजनीतक दलको चियापानमासमेत नेताहरूले राजनीतिक संस्कार देखाएको पाइन्छ। तर कम्युनिस्ट एक हुने भन्ने नेताहरुमा एकताको भाव देखिदैन। 

यसैबीच नेकपा एसको महिवेशनमा देशभरबाट प्रतिनिधि सहभागी भएका छन्। कोही सोमबारसम्म आइपुग्ने पार्टी महासचिव घनश्याम भुषालले बताए। 

उनकाअनुसार महाधिवेशनमा राजनीतिकसहित चार वटा प्रतिवेदन पेस हुनेछन्। १८ सय ४७ जना प्रतिनिधि सहभागी हुने महाधिवेशनले २१ पदाधिकारीसहित २ सय ९९ जनाको केन्द्रीय कमिटी चयन गर्ने छ।

पार्टीमा केन्द्रिय पदाधिकारी चयनमा विवाद छ। कसले नेतृत्व लिने भन्नेमा हालका पार्टी अध्यक्ष नेपाल र महासचिव भुषालबीच प्रतिस्पर्धा हुन सक्ने बताइन्छ। उनीहरू अध्यक्षका दाबेदार हुन्। 

पार्टी विभाजनको ३ वर्षपछि पहिलो पटक एसले महाधिवेशन गर्दैछ। तर यस महाधिवेशनलाई उसले १०औँ मानेको छ। जुन एमालेको निरन्तरता हो। अहिले एमाले नभए पनि विसं २००६ मा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारीका रुपमा एसले आफूलाई लिँदै १०औँ महाधिवेशन भनेको छ।

प्रकाशित मिति: : 2024-06-30 20:45:00

प्रतिकृया दिनुहोस्