पशुपतिस्थित विद्युतीय ‘शवदाह गृह’ उपकरण खरिदमा भ्रष्टाचार, सदस्य सचिव थापासहित १६ विरुद्ध मुद्दा

Break n Links
Break n Links

पशुपतिस्थित विद्युतीय शवदाह गृहको उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापासहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

भारु ३२ लाख ५० हजार पर्ने शवदाह मेसिनलाई १ करोड ५२ लाख नेपाली रुपैयाँ पर्ने देखाई एवं प्रचलित कानूनले दिएको छुट समेत लागत अनुमानमा जोडेर अस्वभाविक रुपले बढी लागत अनुमान तयार गरे गराइएको भेटिएको अख्तियारले जनाएको छ।

शवदाह उपकरण खरिद प्रकरणमा सदस्य सचिव थापा, तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सीताराम रिसेल, सिभिल इन्जिनियरहरु पशुपति ठाकुर, डेबिड उप्रेती र रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, इन्जनियर अध्ययन संस्थान पुल्चोक क्याम्पस इलेक्ट्रिकल विभाग प्रमुख उपप्राध्यापक युवराज अधिकारी, पशुपति विकास कोषका कानुनी सल्लाहकार तथा मूल्यांकन समिति सदस्य लैनबहादुर थापाविरुद्ध जनही १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना तथा हिनामिना भएको रकम असुलउपरको मागदाबी गरिएको अख्तियारले जनाएको छ।

उपकरण आपूर्तिकर्ता म्याप इन्ट्रप्रेनर प्रालिका सञ्चालकद्वय मनोज पुरी र यदुनन्दन भट्टराईविरुद्ध पनि संयुक्त रुपमा बिगो कायम गरी कैद र जरिवानाको मागदाबी लिइएको छ। यस्तै एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी र त्यसका प्रबन्ध निर्देशक सुरज चापागाईंविरुद्ध पनि बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजायको माग दाबी गरिएको छ।

प्रकाशित मिति: : 2025-06-22 17:47:00

प्रतिकृया दिनुहोस्