राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बिनिता कठायतले जुम्लामा नुनको अभाव नरहेको बताएकी छिन्। चाहिएजति नुन नपाइने र भविष्यमासमेत नुनको अभाव हुनसक्ने हल्ला फैलिएपछि जुम्लाको साल्ट ट्रेडिङमा आइतबार झडप भएको थियो।
नुन नपाइने हल्लाले गाउँगाउँबाट नुन ल्याउन एकै पटक धेरै जनागरिक साल्ट ट्रेडिङमा गएपछि भिड नियन्त्रण गर्नसमेत सुरक्षाकर्मीको सहायता लिनुपरकाे थियो। भिडभाडले गर्दा पाँच जना नागरिक बेहोस भएका थिए।
बिएल नेपाली सेवाले जुम्लाकी सांसद कठायतलाई नुनसमेत पठाउन नसकेको विषयमा जिज्ञासा राख्दा उनले जुम्लामा नुनको अभाव नरहेको बताइन्। उनले कर्मचारीले नुनको अभाव भनेर भ्रम फैलाएपछि जुम्लामा झडपको स्थिति सृजना भएको बताइन्।
कठायतकाअनुसार जिल्लामा ६ हजार २ सय ८० क्वीन्टल नुन गएको थियो। जसमध्ये अझै ८० क्वीन्टल नुन स्टक रहेको छ। तर साल्ट ट्रेडिङका कर्मचारीले नुनको अभाव भएको भ्रम फैलाएकै कारण आइतबारको घटना सृजित भएको सांसद कठायतको भनाइ छ।
नुन स्टक रहेको भन्दै उनले फेरि जुम्लामा नुन पठाउने तयारी भइरहेको बताइन्।