एक महिनाअघि आफूले उत्पादनअनुसार मूल्य नपाएको भन्दै किसानहरूले कालिमाटी तरकारी बजारभरि टमाटर छरे।
करिब ६ हजार क्रेट टमाटर पोखिएपछि कालिमाटी बजार पूरै रातम्मे भयो।
प्रतिकेजी ६ देखि ८ रुपैयाँमा बिक्री नभएपछि गोलभेँडा सडकमा फालेर बिरोध जनाएका थिए।
त्यो बेला भारतीय बजारबाट महंगोमा टमाटर ल्याएर नेपाली किसानको उत्पादनलाई बजार नदिइएको गुनासो किसानहरूले गरेका थिए। काठमाडौंमात्रै होइन, देशका धेरै जिल्लामा ब्यावसायिक कृषीकर्म गरिरहेका किसानले आफूले उत्पादन गरेको तरकारीले बजारमा उचित मूल्य नपाएको बताउँदै आएका छन्।
अहिले त्यही टमाटर भारतीय बजारमा तस्करी हुन थालेको छ। केही दिनअघि भारतीय सिमानाको बजार महाराजगन्ज (नौतनवा नाका)मा करिब ३ हजार ६० किलो नेपाली टमाटर भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिए। दुईवटा भारतीय गाडीमा नेपालबाट लैजान लागिएको त्यो टमाटर त्यहाँको भन्सार विभागले नियन्त्रणमा लिएको थियो। त्यो टमाटरको मूल्य करिब १ लाख ८३ हजार भारतीय रुपैयाँ बराबर थियो।
भारतमा अहिले टमाटरको भाउ निकै आकाशिएको छ। भारतीय बजारभाउअनुसार अहिले त्यहाँको तरकारी बजारमा टमाटरको मूल्य कम्तीमा २०० रुपैयाप्रति केजीभन्दा धेरै छ। यो भनेको नेपाली टमाटरको मूल्यभन्दा तीनगुणा भन्दा धेरै हो।
नेपाली बजारमा ठूलो टमाटरको मूल्य ७५ रुपैयाजति छ। बजारमा भने त्यो लगभग १०० रुपैयासम्ममा बिक्री भइरहेको छ। त्यस्तै सानो टमाटरको मूल्य ३०देखि ४० रुपैया छ भने लोकल टमाटर २० देखि २२ रुपैयासम्ममा पाइन्छ।
केही दिनदेखि भारतीय सीमानाकाबाट निरन्तर नेपाली टमाटर तस्करी हुने गरेको भारतीय कस्टम विभागले जनाएको छ।
महाराजगन्जस्थित भारतीय कस्टम आयुक्त आरती सक्सेनाका अनुसार केही दिनअघि दुई भारतीय भ्यानमा ती टमाटरहरू विभागका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिइएका ती टमाटरहरू भारतीय गुणस्तर जाँचअनुसार खानयोग्य नभएपछि सबै नष्ट गरिएको छ।
सिन्हाका अनुसार नेपाली सिमानाबाट यसरी भारत निर्यात हुने घटनाहरूबारे थप अनुसन्धान भइरहेको छ।
नेपाल भारत सिमानाकाहरू धेरै खुला र ठूलो क्षेत्रमा लम्बिएको छ। दुबै देशका मानिस खुलेआम आउनेजाने क्रम चलिरहन्छ।
महाराजगन्जको नौतनवा तरकारी बजारमा अहिले तरकारीको भाउ निकै आकाशिएको छ। खासथगरी वर्षाको झरी र बाढीका कारण भारतीय किसानले लगाएका तरकारी बालीमा धेरै क्षति पुगेको छ। जसका कारण बजारमा तरकारीको अभाव छ र उपलब्ध तरकारी मूल्य पनि आकाशिएको छ।
बजारका थोक तरकारी ब्यापारी उत्तमकुमार बैङ्गलोर तथा अमरोहाबाट टमाटर त्यहाँको बजारमा आउँछ। अहिले नेपालबाट पनि टमाटर भित्रिने गरेको छ।