भारतकाे महत्वाकांक्षी ‘चन्द्र-उडान’

करिब डेढ अर्ब भारतीयको सपनाका बोकेर एउटा विशाल रकेट चन्द्रमातिर उडेको छ। खासगरी चन्द्रमाका ध्रुवीय क्षेत्रमा पानी र अरू खनिज पदार्थहरू खोज्नका लागि भारतले एउटा महत्वाकांक्षी रकेट पठाएको हो। त्यसलाई भारतले चन्द्रयान-३ नाम दिएको छ।

भारतले करिब ८ करोड डलर खर्चेर तयार गरेको यो चन्द्रयानसँग उसका अनेक महत्वाकांक्षी सपनाहरू गाँसिएका छन्। यो यानले ल्यान्डर र एउटा सानो रोबोट पनि बोकेर लैजानेछ। जो चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण भएमा त्यसको दक्षिणी ध्रुवमा तैनाथ भएर त्यहाँको खनिजबारे भारतीय अन्तरिक्ष निकायहरूमा जानकारी पठाउनेछ।

यो अभियान सफल भयो भने चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने भारत विश्वको पहिलो देश हुनेछ। अहिलेसम्म चन्द्रमाको मध्य सतहमा मात्रै यस्ता यानहरू अवतरण भएका छन्।

अर्बौं वर्षदेखि सूर्यको प्रकाश नभएका यी ध्रुवीय खण्डहरू निकै खतरनाक र डरलाग्दा मानिन्छन्। जहाँ अहिलेसम्म कुनै पनि यान पुग्न सकेका छैनन्। करिब माइनस २०३ डिग्री सेल्सियसमा चिसिएका यी ध्रुवीय क्षेत्रमा तैनाथ गरिएका यन्त्रहरूबाट जानकारी लिन उत्तिकै मुस्किल पनि हुनेछ। जहाँ ठूला ठूला खाडल अनि भीरहरू छन्।

यसअघि भारतले २००८ तिर पहिलो चन्द्रयान- १ चन्द्रमामा अवतरण गराएको थियो। त्यसबाट उसले चन्द्रमाको सतहमा पानीका अवशेषहरू भएको प्रमाणित गर्‍यो। त्यसका लागि उसले करिब ७.९ करोड अमेरिकी डलर खर्च गर्‍यो।

त्यसपछि करिब १२ करोड डलर खर्च गरे भारतले २०१९ मा फेरि चन्द्रयान-२ प्रक्षेपण गर्‍यो। तर त्यसको अवतरण सफल हुन सकेन। त्यसपछि झन् ठूलो महत्वाकांक्षा बोकाएर भारतले त्यसको करिब ४ वर्षपछि फेरि अर्को चन्द्रयान-३ त्यहाँ पठाउन थालेको हो।

चन्द्रयान-३ का बारेमा शिव नादर विश्वविद्यालयका प्राध्यापक वैज्ञानिक डा. आकाश सिन्हाले केही बुँदामा प्रस्ट पार्न खोजेका छन्-

के चन्द्रयान- ३ पनि चन्द्रयान-२ कै बाटो भएर चन्द्रमामा पुग्छ?

बितेका ५० वर्षभित्र धेरै मिसन र योजनाहरूमा काम भएका छन्। चन्द्रयान-२ ले पहिलोपटक चन्द्रमामा पानीको खोज गरेको थियो। तर त्यो बाहिर निकाल्न सकिएन। यसपालि त्यस्तो हुनेछैन भन्नेमा हामी विश्वस्त छौं।

त्यसललाई सही ठाउँमा अवतरण गराउनका लागि अहिले धेरै नयाँ प्रविधिको प्रयोग गरिएको छ र अनेक  उपायहरू अपनाइएको छ। त्यसमा धेरै परिवर्तनहरू गरिएका छन्।

यसको सफलता भारतका लागि कति ठूलो उपलब्धि होला?

हाम्रा वैज्ञानिकहरूले चन्द्रमाको निकै चुनौतीपूर्ण हिस्सा रोजेका छन्। यो हिस्सालाई लुनर साउथ पोल पनि भनिन्छ। सिधा कुरा के हो भने पृथ्वीबाट यसमाथि सिधा नजर लगाउन निकै मुस्किल छ। यहाँ पानी तथा अरू खनिज पदार्थहरूको प्रचुर सम्भावना छ।

चन्द्रयान-३ को उद्देश्य के हो?

यो मिसनमा चन्द्रयानबाट एउट सानो रोबोट निस्किनेछ। जो चन्द्रमाको सतहमा उत्रिनेछ र त्यसलाई लुनर साउथ पोलमा तैनाथ गरिनेछ। यसले त्यहाँ पानी तथा कस्ता कस्ता खजिज पदार्थ छ भनेर खोजी गर्नेछ। भविष्यमा कुनै बेला चन्द्रमाको सतहमा मानव वस्ती बसाउनुपर्‍यो भने यो खोज निकै महत्वपूर्ण मानिनेछ।

यो मिसनको सबैभन्दा जोखिम पक्ष के हुनसक्छ?

पहिलो खोजीमा त जब हामीले चन्द्रमामा कुनै यन्त्र पठाउँछौँ भने त्यसको सबै नियन्त्रण कम्प्यूटरसँग हुन्छ। एक मानव हुनुको नाताले चार लाख किलोमिटर टाढा हुने त्यो यानलाई नियन्त्रण गर्न असम्भव नै हुन्छ। त्यसैले त्यसको सबै नियन्त्रण आर्टिफिसिअल इन्टिलिजेन्सबाटै हुने हो।

अर्को पक्ष के हो भने चन्द्रमामा कुनै पनि जिपिएस हुँदैन। जस्तो कि पृथ्वीमा गुड्ने गाडी वा अरू साधनमा जिपिएस लगायौँ भने त्यसका कैयौँ जानकारी हामीले लिनसक्छौं। तर चन्द्रमामा त्यस्तो हुँदैन। त्यहाँ हामीलाई पत्तै हुँदैन कि कहाँ छौँ र कुन भागमा के गरिरहेका छौंँ, त्यसको सबै अनुमान अनबोर्ड सेन्सरबाटै लगाउनुपर्छ। त्यसबाट अरू पनि समस्या आउनसक्छन्। तर यसपालि ती सब कुरालाई ध्यानमा राखेर यो चन्द्रयान पठाउने तयारी भएको हो।

चन्द्रयान-२ का लागि लागत एउटा हलिउड फिल्मको बजेटभन्दा कम थियो। चन्द्रयान-३ का लागि त्योभन्दा पनि ३० प्रतिशत बजेट भयो। भारतीय वैज्ञानिकहरूले यस्तो कसरी गर्न सके?

भारतमा सधैँ यही कुरा सिकाइएको छ कि हामी आफ्नै संसाधनहरूको धेरै भन्दा धेरै उपयोग गरौँ अनि सकेसम्म त्यसको पुन: प्रयोग पनि।

चन्द्रयान-२ का तीन भाग थिए, आर्बिटर, ल्यान्डर अनि रोबोट। आर्बिटर सफल रह्यो। अहिले पनि त्यो चन्द्रमाको परिधीमा घुमिरहेको छ। यसपालि चन्द्रयान-३ मा आर्बिटर प्रयोग गरिएको छैन किनकि त्यो अहिले पनि त्यही छ। यसबाट त्यो आर्बिटरका लागि लाग्ने सबै बजेट हामीले खर्चिनु परेन।

यस्ता धेरै यन्त्रहरूमा हामीले कम लगानीमा काम गरेका छौँ। जसका कारण थोरै लगानीमा पनि हामी चन्द्रयान-३ को यात्रा तय गर्न सफल भयौँ।बिबिसीको सहयोगमा

प्रकाशित मिति: : 2023-07-14 14:54:00

प्रतिकृया दिनुहोस्