हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको छ। कोशीका मोरङ, सुनसरी, झापालगायतका केही स्थानमा भारी वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी र गण्डकीका एक–दुई स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहनुका साथै मधेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरीको सम्भावना रहेको छ।
हावा–हुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, बाढीपहिरोको जोखिम रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
आज राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा राति पनि हावा-हुरीको सम्भावना रहेको छ।