नेपाली कांग्रेसको १४ औँ महाधिवेशन

कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान

नेतृत्व हत्याउन तीव्र प्रतिस्पर्धा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नेतृत्वका लागि आज मतदान हुने भएको छ। 

प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँने भएको हो।देश सङ्घीयतामा गएपछि संविधानमा व्यवस्था भएको सङ्घीय संरचनाअनुसार काँग्रेसले पहिलो पटक प्रादेशिक अधिवेशन गरेको हो।

केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश २ मा उम्मेदवारी दर्ता शनिबार मात्रै हुने भएको छ।

अरू ६ वटा प्रदेशमा शनिबार नेतृत्व चयनका लागि मतदान हुनेछ। प्रदेश १ सभापतिका लागि गुरुराज घिमिरे र उद्धव थापाले उम्मेदवारी दर्ता गराएका छन्। थापा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिन्छन्। केन्द्रमा सहकार्य भएपछि देउवाले प्रदेश एकको सभापतिमा सिटौला पक्षका उम्मेदवारलाई साथ दिएका हुन्।

प्रदेश निर्वाचन समितिका अनुसार दुई उपसभापति पदका लागि गोविन्द ढुङ्गाना, टङ्क राई, विश्वनाथ रिजाल र रमेशजङ्ग रायमाझीले उम्मेदवारी दिएका छन्। दुई महामन्त्रीका लागि दीपेन श्रेष्ठ, उमेश थापा, पद्मसुन्दर पालुङ्वा र भूपेन्द्र राईले उम्मेदवारी दर्ता गराएका छन्।तीन सहमहामन्त्रीका लागि प्रमिला गच्छदार, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो, रोहितकुमार साह, इन्दिरा थापा, सुभाषचन्द्र राई, सीता कार्की र वीरकाजी राईको उम्मेदवारी परेको छ।

नेतृत्व चयनका लागि आज विराटनगरमा मतदान हुँदैछ। यस प्रदेशमा एक हजार ७७० मतदाता छन्। निर्वाचन समिति संयोजक भरतबहादुर थापाका अनुसार प्रदेश १ मा पदाधिकारीसहित ८८ सदस्यीय प्रदेश कार्यसमितिका लागि मतदान हुँदैछ।

प्रदेश २ मा अधिवेशन उद्घाटन भए पनि उम्मेदवारी दर्ता शनिबार मात्रै हुने भएको छ। निर्वाचन समितिका अनुसार केही जिल्लाका प्रतिनिधिहरूको सूचीमा विवाद भएपछि मनोनयन एक दिनपछि सरेको हो। प्रदेश दुईको सभापतिमा नेताहरू रञ्जीत कर्ण, रामसरोज यादव र कृष्ण यादवले दाबेदारी प्रस्तुत गरेका छन्।

त्यस्तै बाग्मती प्रदेशमा त्रिपक्षीय भिडन्त हुने निश्चित भएको छ।
काँग्रेस प्रदेश सभापतिमा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, जगदीश्वरनरसिंह केसी र इन्द्र बानियाँले उम्मेदवारी दिएका छन्।
निर्वाचन समितिका अनुसार प्रदेश उपसभापतिमा चन्द्र महर्जन, धर्मराज गौतम, परशुराम पोखरेल, मदनकृष्ण श्रेष्ठ, मोहनबहादुर बस्नेत र राजेन्द्रप्रसाद बुर्लाकोटीको उम्मेदवारी परेको छ। महामन्त्रीमा कञ्चनचन्द्र वादे, रामचन्द्र अर्याल, राजु श्रेष्ठ, तिलकप्रसाद रुवाली, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्।

सहमहामन्त्रीमा महिलातर्फ जीवन डङ्गोल, निर्मला बस्ताकोटी र मोतीमाया तामाङको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। यसैगरी सहमहामन्त्रीमा खुलातर्फ ऋषिराम घिमिरे, वीरबहादुर तामाङ, हरिशरण श्रेष्ठ, राजकुमार पाठक, महेन्द्र थिङ र जयनारायण सापकोटाले उम्मेदवारी दिएका छन्। सहायक निर्वाचन अधिकृत रामकुमार अधिकारीले ९१ सदस्यीय प्रदेश कार्यसमितिका लागि सबै पदमा गरी २५० जना उम्मेदवारी परेको बताए। शनिबार बिहान ९ बजेबाट दिउँसो ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ। यस प्रदेशमा दुई हजार १३७ मतदाता छन्।

गण्डकी प्रदेशमा पनि संस्थापन र संस्थापन इतरबीचमै प्रतिस्पर्धा हुनेछ।
गण्डकी प्रदेशको सभापति पदमा अर्जुनप्रसाद जोशी र शुक्रराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ।निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाले एक हजार १६० मतदाताले ६८ सदस्यीय प्रदेश कार्यसमिति चयन गर्ने बताए। 

लुम्बिनी प्रदेश निर्वाचन समिति सदस्य जीवनारायण अधिकारीका अनुसार काँग्रेस प्रदेश सभापति पदमा भरतकुमार शाह र अमरसिंह पुनमगरले उम्मेदवारी दिनुभएको छ। एक हजार ६४८ मतदाताले पदाधिकारीसहित ७७ सदस्यीय प्रदेश कार्यसमितिका लागि मतदान गर्ने छन्।
त्यसैगरी कर्णाली प्रदेश काँग्रेसको नेतृत्व चयन गर्न शनिबार मतदान हुँदैछ।

प्रदेश सभापतिका लागि नेताहरू भूपेन्द्रजङ शाही, ललितजङ शाही र मोतिराज बमले उम्मेदवारी दिएका छन्। कर्णाली प्रदेशका ७४९ मतदाताले पदाधिकारीसहित ५९ सदस्यीय प्रदेश कार्यसमिति चयन गर्नेछन्।

सुदूरपश्चिम प्रदेश काँग्रेस सभापति पदमा नेताहरू वीरबहादुर बलायर र नारायणदत्त मिश्रबीच प्रतिस्पर्धा हुँदैछ। सुदूरपश्चिम प्रदेशमा ९८७ मतदाताले पदाधिकारीसहित ५९ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित गर्नेछन्। 

कतिपय प्रदेशमा सभापति पदमा दुईभन्दा बढीको उम्मेदवारी परेको छ। सभापति पदमा खसेको मतको ५१ प्रतिशत मत कुनै उम्मेदवारले प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः मतदान गराइने छ। 

प्रदेश अधिवेशनले सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्रीको निर्वाचन गर्नेछ। मतदाता र प्रदेश कार्यसमिति प्रदेशअनुसार फरक हुनेछ। प्रदेश अधिवेशनमा १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।

प्रकाशित मिति: : 2021-12-04 09:53:00

प्रतिकृया दिनुहोस्